फिनिक्स र स्त्रीशक्तिको कथाः अग्निगर्भा
सारांश
- उपन्यास 'अग्निगर्भा' ले महिलाको अस्तित्व र लैङ्गिक विभेदको कथालाई चित्रण गरेको छ।
- कथाले तेजश्रीको संघर्षलाई प्रस्तुत गर्छ, जसले घर र समाजमा आफ्नो पहिचान बनाउन खोज्छिन्।
- उपन्यासले घरेलु श्रम, पितृसत्ता र महिलामाथि हुने सामाजिक दबाबबारे प्रश्न उठाउँछ।
अर्चना थापाका बहुआयामिक व्यक्तित्व छन् । अङ्ग्रेजी साहित्यमा विद्यावारिधि गरेकी उनी प्रकाशक, सम्पादक, आख्यानकार र सामाजिक अभियन्तासमेत हुन् । उनको लामा कथाहरूको सङ्ग्रह कठपुतला (२०७३) पछि हालसालै ‘अग्निगर्भा’ उपन्यास प्रकाशित भएको छ ।
‘अग्निगर्भा’ पढेपछि मेरी एउटी साथीको सबैभन्दा धेरै सम्झना आयो, जो बाहिर निस्केर आफ्नो अस्तित्व चिन्न चाहन्थिन् । उनी बिहेपछि दुई सन्तानकी आमा बनिन् । आफ्ना बच्चा स्कुल जान थालेपछि आफू पनि केही अर्थोपार्जनपूर्ण काममा लाग्ने अनुमति श्रीमानसँग मागिन् तर अनुमति पाइनन् । तिमीले कति नै कमाउँली र ? बढीमा महिनाको पन्ध्र बीस हजार होला त्यति म अझै बढी पार्टटाइम गरेर कमाउँछु तिमी घरपरिवार र बच्चा सम्हाल आदि । उनका श्रीमान् निजी कलेजमा पढाउँथे । श्रीमान्को कुरा सुनेर उनी दिक्क बनिन् ।
पैसाको लागि मात्र जागिरे बन्ने होइन भन्ने कुरा उनले कसरी सम्झाउन्, जो थाहा पाएर पनि नपाए झैँ गर्ने आफ्ना शिक्षित पतिसँग । श्रीमती पनि जागिरे बने घरको कामको पनि श्रम विभाजन होला भन्ने पो सोचे कि उनले ? घरबाहिर निस्कनु भनेको पैसा कमाउनु सँग–सँगै व्यक्तित्व विकास पनि हुने अवसर मिल्नु हो । नयाँ–नयाँ मानिससँगको भेट र अन्तर्क्रियाले वाककलालगायत आत्मविश्वास पनि बढ्दै जानु हो ।
व्यक्तिगत सरसफाइप्रति अझै बढी सचेत हुनु हो र समयको सुइसँगै चल्ने बानीको विकास हुनु हो । घरभित्र बस्नेको भन्दा बाहिर निस्कने मानिसको नै उन्नति र प्रगति हुन्छ भन्ने कुरा श्रीमान्ले बुझेका थिएनन् होला र ? श्रीमतीलाई घरबाहिर निस्केर काम गर्न निरुत्साह गरे । हुन त आजभोलि धेरै श्रीमानहरू श्रीमतीको प्रगतिको दाहिने हात पनि छन् भने कतिपय श्रीमती घरकै भातभान्सा र बालबच्चाको स्याहारसुसारमा समय बिताउने पनि छन् ।
नेपाली समाजमा देखिने लैङ्गिक विभेद, घरायसी शक्ति सम्बन्ध र स्त्री–अस्तित्वको सङ्घर्षलाई केन्द्रमा राखेर यो उपन्यास लेखिएको छ ।
वास्तवमा भान्साले महिलालाई किन यति धेरै रोकतोक गरिरहेको छ ? के भान्साको जिम्मेवारी महिलामा मात्र सीमित हुनुपर्छ ? नत्र किन श्रमको विभाजन हुँदैन ? किन भान्सा र महिला पर्याय ठानिन्छन् ? हो यही भान्साको राजनीतिसँग ‘अग्निगर्भा’ उपन्यासको कथा सम्बन्धित छ, जुन कुरा सुन्दा सामान्य लाग्न सक्छ तर यसले दिन खोजेको सन्देश गहन छ ।
नेपाली समाजमा देखिने लैङ्गिक विभेद, घरायसी शक्ति सम्बन्ध र स्त्री–अस्तित्वको सङ्घर्षलाई केन्द्रमा राखेर यो उपन्यास लेखिएको छ । पारिवारिक संरचना र सामाजिक मान्यतासँग जोडिएका विषयलाई उपन्यासले भान्साको राजनीतिमार्फत अघि ल्याउँछ । यसले पारम्परिक रूपमा ‘महिलाको स्वाभाविक क्षेत्र’ मानिएको घरेलु कामलाई हाम्रो समाजले कसरी अवमूल्यन गरिरहेको छ भन्ने बारेमा गम्भीर प्रश्न उठाउँछ ।
उपन्यासकी प्रमुख पात्र तेजश्री को हुन् ? उनलाई कसले परिचयबिहीन बनायो ? उनले कसरी अस्तित्वनिर्माण गर्ने चाहना प्रकट गरिन् ? यसो गर्दा उनको सपनालाई कसरी आगोको ज्वालामा खरानी पारियो र उनी कसरी खरानीबाट उठेर अस्तित्वको फिलिङ्गो भर्भराउन चाहिन् भन्ने कुरा उपन्यासको केन्द्रीय कथ्य हो । तेजश्रीलाई बुझ्न उनको जन्मथलो ऐसलुखर्क, कर्मथलो जक्तिसिंह टोल र उनको घरपरिवारका सदस्यका बारेमा बुझ्न पाठकले उपन्यास पढ्नु पर्ने हुन्छ ।
तेजश्रीका पति अमन विद्यावारिधि गर्न अमेरिका पुगेर पढाइ सकेपछि पनि किन स्वदेश फर्किँदैनन् ? श्रीमती, छोरी अनु र घरपरिवारप्रति अमन किन कर्तव्यशील छैनन् भन्ने कुराले पाठकको मनमा कौतूहलताको आँधी ल्याउँछ र फटाफट पठनको गतिलाई अगाडि हुत्याउँछ ।
तीन भागमा बाँडिएको यो उपन्यासमा तीनवटा किवंदन्ती छन् र हरेकले उपन्यासको कथालाई कलात्मक तरिकाले बुन्दै अगाडि लैजान्छन् । उपन्यासको प्रसङ्गसँगै आउने लोककथा र कुथुङ्ग्रीले पठनलाई अझै मीठो बनाउँछन् । उपन्यासको मूल विषयवस्तु घरेलु श्रम, लैङ्गिक असमानता र पितृसत्तात्मक सामाजिक संरचनामाथिको गहिरो आलोचना हो । यो कथाले बुहारी तेजश्रीको दैनिकीमार्फत घरभित्र हुने अदृश्य श्रम र त्यससँग गाँसिएको संरचनात्मक दमनलाई उजागर गर्छ ।
विवाहपछि बुहारी निरन्तर भान्सामा सीमित हुन्छिन् । खाना पकाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने, छोरीको रेखदेखलगायत परिवारका सदस्यको स्याहारसुसार गर्नेजस्ता कामको दोहोरिने चक्रमा उनको दिन बित्छ । यी कामलाई परिवारले स्वाभाविक ‘कर्तव्य’ का रूपमा लिन्छ तर त्यसको कुनै मूल्याङ्कन, सम्मान वा साझेदारी हुँदैन ।
भौतिक रूपमा टाढा रहेका श्रीमान् भावनात्मक रूपमा समेत टाढा बन्छन् । श्रीमान्बाट पाउनु पर्ने माया तेजश्रीले पाउँदिनन् । साथमा भएकी छोरीसमेत पिताको स्नेह नपाएर उद्दण्ड बनेकी छ । दुःख पोख्ने साथी नै पराई भएपछि अझै एक्लो महसुस गर्छिन् तेजश्री । अमनले छोरी र वृद्ध हुँदै गएका बाबुआमाको समेत वास्ता राख्दैनन् । उनले उतै मायाको संसार खडा गरेको कुरा उनकै प्रेमिकाको चिठी तेजश्रीलाई आएबाट पुष्टि हुन्छ ।
यी कुरा थाहा पाएपछि अमनप्रति तेजश्री कुनै प्रतिशोध लिने इच्छा राख्दिनन् बरु आफ्नो सत्त्वको खोजीमा दह्रोसँग खुट्टा टेक्न खोज्छिन् ‘तेजश्री भान्साघर’ नामको रेस्टुरेन्ट खोलेर । यो कदमबाट परिवार र समाजका अनेक भनाइहरू खप्नुपर्छ उनले । जक्तिसिंह टोललाई यो कदम आलोचनाको मीठो अचार बन्छ ।
तेजश्री वर्षाैदेखि आर्जन गरेको भान्साको आफ्नो पाककलालार्ई आर्थिक स्वावलम्बनको गतिलो मियो बनाउन खोज्छिन् । कूल घरानकी बुहारीले अरूका जुठा भाँडा माझ्नु हुँदैन । होटल खोल्ने राम्रो काम होइन भनेर पितृसत्तात्मक सोच र परम्परागत संस्कारको नाममा उनीमाथि नियन्त्रणका अनेक किस्साहरु बुनिन्छन् । उनको कामलाई समर्थन र सम्मान दिन ससुरा दिग्विजयदेखि परिवारका अन्य सदस्य पनि तयार हुँदैनन् । भान्सा केवल खाना पकाउने स्थान नभई लैङ्गिक शक्ति सम्बन्ध र शरीरमाथिको सामाजिक नियन्त्रणको प्रतीकात्मक स्थल बनेको कुरा तेजश्रीले ढिलै भए पनि बोध गर्छिन् ।
लोग्नेको उपेक्षाबाट थलिएकी उनको छातीभित्र अनेक इच्छाको आगो बलेको छ । तीमध्ये आर्थिक स्वालम्बनको आगो निभाउन आफैँ स्वरोजगारको खोजी गर्छिन् र अस्तित्व चेततर्फ अभिमुख हुन्छिन् । आफ्नो श्रम, आत्मनिर्णय र आत्मसम्मानका लागि पारिवारिक र सामाजिक सीमाभन्दा माथि उठ्न उनी लगातार सङ्घर्ष गर्छिन्, जसले पाठकलाई केवल व्यक्तिगत कथाबाहेक सामाजिक संरचनागत असमानता र पुरुषसत्ताका विरुद्ध प्रश्न सोध्न बाध्य पार्छ । तेजश्रीले आफ्नो सम्पूर्ण व्यवसाय खरानी भएपनि पुनः उठ्ने प्रतिबद्धता कायम राख्छिन् ।
आफूmलाई मिथकीय ‘फिनिक्स चरा’ को प्रतीकसँग दाँज्छिन् र हरेक चुनौती र कठिनाइबाट उठ्ने क्षमता राख्छिन् । अद्वितीय र शक्तिशाली यो चराले आफ्नो जीवनचक्रमा बडो चुनौती र विनाश भोग्छ, तर फेरि उठेर नयाँ जीवन पाउँछ । तेजश्री पनि घरायसी र सामाजिक बाधाहरूसँग जुध्दै आफ्नो अस्तित्व, सम्मान र स्वतन्त्रताका लागि उठ्छिन् । यसले देखाउँछ कि कठिन परिस्थिति र दमनका बाबजुद पनि तेजश्रीमा यस्तो साहस र आँट कसरी भरियो ? अनि अग्निगर्भा उपन्यास कसरी स्त्रीशक्तिको कथा बन्न पुग्यो ?
उपन्यासको शीर्षक अग्निगर्भाले नै अनेक कुराको सङ्केत गर्छ । उसो त उपन्यासको आरम्भ आगलागीबाटै सुरु भई अन्त्य पनि आगलागीमै हुनु लेखकीय कला हो या औपन्यासिक शिल्प त्यो बुझ्ने जिम्मा पनि पाठकमै निहित छ ।
अर्की नारीवादी चिन्तक बेट्टी फ्रिडानले ‘द फेमिनिन मिस्टिक’ मा अमेरिकी मध्यमवर्गीय गृहिणीहरूको ‘द प्रोब्लम द्याट ह्याज नो नेम’ को चर्चा गर्दै भान्सा र घरको आदर्श भूमिकाले महिलाको बौद्धिक र सामाजिक पहिचान खुम्च्याएको तर्क गर्छिन् ।
हुन पनि ‘भान्सा राजनीति हो’ भन्ने धारणा पश्चिमी नारीवादी चिन्तनमा प्रत्यक्ष वा परोक्ष रूपमा धेरैअघि देखिन थालिसकेको हो । यसको मूल आधार के हो भने घर र भान्सा ‘निजी’ क्षेत्र मात्र होइन, शक्ति सम्बन्धको संरचनात्मक स्थल पनि हो भनी प्रसिद्ध लेखक सिमोन द बोवुआरले आफ्नो कृति ‘द सेकेन्ड सेक्स’ मा भनेकी छन् । उनले महिलालाई जैविक होइन, सामाजिक रूपमा ‘निर्मित’ अस्तित्वका रूपमा व्याख्या गर्छिन् ।
उनले घरेलु श्रमको निरन्तर पुनरावृत्तिलाई महिलालाई ‘अन्तहीन दोहोरिने श्रम’ मा बाँध्ने संरचनाका रूपमा चित्रित गर्छिन् । यहाँ भान्सा केवल खाना पकाउने ठाउँ होइन, महिलालाई निजी क्षेत्रमा सीमित राख्ने सामाजिक यन्त्र हो भनेर उनले आफ्नो पुस्तकमा अभिव्यक्त गरेकी छन् ।
त्यसैगरी, अर्की नारीवादी चिन्तक बेट्टी फ्रिडानले ‘द फेमिनिन मिस्टिक’ मा अमेरिकी मध्यमवर्गीय गृहिणीहरूको ‘द प्रोब्लम द्याट ह्याज नो नेम’ को चर्चा गर्दै भान्सा र घरको आदर्श भूमिकाले महिलाको बौद्धिक र सामाजिक पहिचान खुम्च्याएको तर्क गर्छिन् । उनका लागि भान्सा महिलाको अपूर्ण अस्तित्वको प्रतीक हो, जहाँ बाहिरी संसारको सहभागिताबाट महिलालाई अलग गरिएको कुरा व्यक्त गर्छिन् ।
अर्कोतर्फ, अमेरिकी नारीवादी चिन्तक बेल हुक्सले घरलाई दमन मात्र होइन, सम्भावित प्रतिरोधको स्थलका रूपमा पनि हेर्छिन् । उनका विचारमा निजी क्षेत्रमै पनि शक्ति, जाति, वर्ग र लिङ्गका सम्बन्धहरू क्रियाशील हुन्छन् र भान्सामा राजनीति हुन्छ किनकि त्यहाँ श्रमको असमान बाँडफाँड, निर्णय–अधिकारको असन्तुलन र शरीरमाथिको नियन्त्रण देखिन्छ ।
घरेलु कामलाई केवल ‘महिलाको काम’ भन्ने धारणा बदल्दै न्यायोचित श्रम विभाजन, निर्णय प्रक्रियामा समान सहभागिता र भावनात्मक सहयोग सुनिश्चित गरिनु पर्छ, जसले महिलाको व्यक्तित्व विकासका लागि अनुकूल वातावरण तयार गर्छ ।
विश्वप्रसिद्ध चिन्तकहरूको भनाइको एउटै सार के हो भने महिलाको अस्तित्व निर्माण कुनै एक कदमबाट सम्भव हुँदैन । यो व्यक्तिगत चेतना, पारिवारिक व्यवहार, सामाजिक संरचना र नीतिगत परिवर्तनको संयुक्त प्रक्रियाबाट सुदृढ हुन्छ । यसको पहिलो आधार आत्मचेतना र आत्मसम्मान हो, जहाँ महिलाले आफ्ना अधिकार, क्षमता र आकांक्षाबारे स्पष्ट बोध राख्छिन् र ‘त्याग’ वा ‘कर्तव्य’ का नाममा आफ्नै इच्छालाई निरन्तर दबाउने संस्कारबाट बाहिर निस्कने मानसिक तयारी गर्छिन् ।
यससँगै गुणस्तरीय शिक्षा, सीप विकास र आलोचनात्मक सोचले उनको निर्णय क्षमता बलियो बनाउँछ, जसले गर्दा सामाजिक संरचनालाई प्रश्न गर्न र आफ्ना विकल्प स्वतन्त्र रूपमा रोज्न सक्षम बनाउँछ । आर्थिक आत्मनिर्भरता अस्तित्व निर्माणको केन्द्रीय आधारका रूपमा उभिन्छ, किनकि आफ्नै आम्दानीको स्रोत हुँदा निर्णय गर्ने शक्ति, आत्मविश्वास र सामाजिक सम्मान उल्लेख्य रूपमा बढ्छ । यस प्रक्रियामा परिवारभित्र श्रम र निर्णयको समान साझेदारी पनि उत्तिकै आवश्यक हुन्छ ।
घरेलु कामलाई केवल ‘महिलाको काम’ भन्ने धारणा बदल्दै न्यायोचित श्रम विभाजन, निर्णय प्रक्रियामा समान सहभागिता र भावनात्मक सहयोग सुनिश्चित गरिनु पर्छ, जसले महिलाको व्यक्तित्व विकासका लागि अनुकूल वातावरण तयार गर्छ । त्यहाँ तेजश्रीजस्ता लाखौँ बुहारीका ओठमा हाँसो छाउँछ । यही कुरालाई ‘अग्निगर्भा’ उपन्यासले उठान गरेको छ । अक्षर क्रियसन्सबाट प्रकाशित यो उपन्यासले नेपाली आख्यानजगत्मा अलग्गै पहिचान कायम राख्ने कुरामा दुई मत छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण