मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

इनिशा मृत्यु प्रकरणः दोषीलाई कारबाही माग गर्दै दलित युवा सञ्जालले बुझायो ज्ञापन

आइतबार, ०१ चैत २०८२, १९ : ०१
आइतबार, ०१ चैत २०८२

बागलुङ । बलात्कारपछि हत्या सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको न्याय माग्दै दलित युवा सञ्जाल बागलुङले प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

आइतबार सञ्जालका अध्यक्ष राहुल बोहरासहित युवाले बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै विकको फागुन २३ गते मृत्यु भएको थियो । यो घटनाले महिला तथा बालिकाको सुरक्षा, मानवअधिकार तथा सामाजिक न्यायको अवस्थाबारे गम्भीर प्रश्न खडा गरेको भन्दै अपराधीलाई तत्काल कानुनी दायरामा लिएर कारबाही गर्न सञ्जालले आग्रह गरेको छ । 

कर्णाली प्रादेशिक अस्पतालका तीन जना चिकित्सक तथा भेरी अस्पतालका फरेन्सिक विशेषज्ञको टोलीले गरेको पोस्टमार्टम प्रतिवेदनले घटनाको अत्यन्तै दुःखद र अमानवीय स्वरूप उजागर गरेको भन्दै अमानवीय र जघन्य घटनाप्रति दलित युवा सञ्जाल, बागलुङ गहिरो दुःख तथा घोर निन्दा गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

घटनालाई गम्भीरतापूर्वक लिइ निष्पक्ष, पारदर्शी तथा प्रभावकारी ढंगले छानबिन गरी संलग्न दोषीहरूलाई कानुनबमोजिम कडा कारबाही गर्न, साथै पीडित परिवारलाई आवश्यक सुरक्षा, सहयोग तथा न्याय सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । 

सञ्जालले यस घटनालाई विभत्स र अमानवीयको संज्ञा दिँदै लोकतान्त्रिक गणतन्त्रमा समेत महिला र बालबालिकामाथि यस्ता बर्बर हिंसा हुनु राज्य र समाजका लागि लज्जास्पद विषय भएको ठहर गरेको छ ।

ज्ञापन पत्रमा समाजमा जकडिएर रहेको पितृसत्तात्मक सोच र जात व्यवस्थाको प्रभावका कारण संविधानमा उल्लेख गरिएका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप