मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले इरानी नागरिकका लागि ‘अन–अराइभल भिसा’ किन बन्द गर्‍यो ?

मङ्गलबार, ०३ चैत २०८२, १३ : ५१
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • सरकारले इरानी नागरिकलाई दिँदै आएको 'अन-अराइभल' भिसा सुविधा बन्द गरेको छ।
  • पश्चिम एसियामा बढ्दो सैन्य तनाव र सुरक्षा चुनौतीका कारण गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो।
  • अब इरानी नागरिकले नेपाल आउन विदेशस्थित दूतावासबाट पूर्व भिसा लिनुपर्नेछ।

काठमाडौँ । सरकारले इरानी नागरिकलाई प्रदान गर्दै आएको ‘अन–अराइभल’ भिसाको सुविधा बन्द गरेको छ। पश्चिम एसियामा बढ्दै गएको सैन्य तनाव र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गृह मन्त्रालयले फागुन २९ गतेदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो। 

गृहको निर्देशनपछि परराष्ट्र मन्त्रालयले यसलाई कार्यान्वयनमा ल्याइसकेको छ भने सम्बन्धित निकायहरूलाई नयाँ नियमबारे जानकारी गराइएको छ।

नयाँ व्यवस्थाअनुसार सरकारी र कूटनीतिक राहदानी बोक्ने इरानी नागरिक बाहेक अन्य सर्वसाधारणले अब नेपाल प्रवेश गर्नका लागि विदेशस्थित नेपाली दूतावास वा नियोगबाट अनिवार्य रूपमा पूर्व भिसा लिनुपर्नेछ। 

यसअघि इरानी नागरिकले नेपालको विमानस्थल वा प्रवेश नाकामै भिसा पाउने सुविधा थियो। पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण इरानी नागरिकहरू विभिन्न बहानामा नेपाल आउन सक्ने र यहाँको भूमि प्रयोग गरी अन्य देश जान सक्ने आशंकामा सुरक्षा सतर्कता अपनाउँदै भिसामा कडाइ गरिएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।

नेपालले यसअघि नै विभिन्न १२ वटा देशका नागरिकलाई अन–अराइभल भिसा दिन रोक्दै आएको थियो। जसमा नाइजेरिया, घाना, जिम्बाब्वे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया रहेका छन्। इरानलाई पनि यो सूचीमा समावेश गरेपछि अब नेपालले १३ वटा देशका नागरिकलाई नाकामै भिसा दिने सुविधाबाट वञ्चित गरेको छ।

विशेषगरी द्वन्द्वग्रस्त क्षेत्रका नागरिकहरू शरणार्थीका रूपमा वा अन्य शंकास्पद गतिविधिमा संलग्न भई नेपाल आउन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै अध्यागमन विभागले थप निगरानी बढाएको छ।

WhatsApp Image 2026-03-17 at 11.58.33

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप