मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

मङ्गलबार, ०३ चैत २०८२, २३ : १३
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • खोटाङमा हावाहुरीले घरगोठ र विद्यालयमा क्षति पुर्‍यायो, करोडौँको क्षति भयो।
  • हलेसी तुवाचुङ र धितुङका घरहरूको छानो उड्यो, विवरण संकलनको काम भइरहेको छ।
  • हावाहुरीले ग्रामीण सडक अवरुद्ध गरायो भने विद्युत सेवा पनि अवरुद्ध भयो, अहिले सुचारु भएको छ।

खोटाङ । गए राति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ । गए राति करिब ८ बजेबाट सुरु भएको वर्षासहितको हावाहुरीले जिल्लास्थित विभिन्न ठाउँका दर्जनौँ स्थानीयवासीको घरगोठ तथा केही विद्यालयका छाना उडाएको हो ।

हावाहुरीले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित छोर्तिपास्थित एउटै टोलका १५, सोही नगरपालिकाको बाहुनीडाँडा र धितुङका स्थानीयवासीको २५ घरको छाना उडाएको जानकारी प्राप्त भएको नगरप्रमुख बिमला राईले बताइन् ।

सोही नगरपालिकाको वडा नं ८ धितुङका छविलाला सार्की, कमलबहादुर सार्की र मानबहादुर सार्कीको घरको छानो हावाहुरीले उडाएको बताइएको छ । हावाहुरीले गरेको क्षतिको विवरण सङ्कलन गर्न सम्बन्धित वडा कार्यालयबाट जनप्रतिनिधिसहितको टोली परिचालन गरिएको नगरप्रमुख राईले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार रावाबेँसी गाउँपालिका–१ कुभिण्डे हरमटारस्थित युवराज भट्टराईको घर, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका केशव पराजुली, कुमार श्रेष्ठ, रमेश श्रेष्ठ तथा दिक्तेल रुपाकोट मझुवागढी–७ दोर्पाका सुनसरी राई, सोही नगरपालिका–३ बाम्राङका पदमबहादुर कटुवालको घरको छानो हावाहुरीले उडाएको छ ।

यसरी जिल्लाका धेरै ठाउँमा क्षति भएको जानकारी आए पनि यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीथ विश्वकर्माले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जापलास्थित जनता आधारभूतलगायत जिल्लाका अधिकांश विद्यालयमा क्षति पुर्‍याएको सूचना आएको बताए । क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।

असिनापानीसहित चलेको हावाहुरीले रुख ढलेकाले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक सञ्चालनका लागि सम्बन्धित स्थानीय तहका जेसिबी प्रयोगमा ल्याइएको जनाइएको छ ।

हावाहुरीका कारण सामुदायिक रेडियो हलेसी एफएम १०२।४ मेगाहर्जको मुडेमा रहेको रिपिटर टावरमासमेत क्षति पुगेको सञ्चालक समिति अध्यक्ष विष्णुकुमार राईले जानकारी दिएका छन् ।

यस्तै, हावाहुरीका कारण गएरातिबाट अवरुद्ध विद्युत् सेवा सञ्चालनमा आएको छ । उदयपुरको जलजले र ओखलढुङ्गाबाट आउने ३३ केभी प्रसारण लाइन विद्युत्मा देखिएको समस्या समाधान गरेपछि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप