मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

गगनको राजीनामाबारे के भन्छन् प्रवक्ता चालिसे ?

बिहीबार, ०५ चैत २०८२, ०७ : २५
बिहीबार, ०५ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसका प्रवक्ताले सभापति गगन थापाको राजीनामाबारे औपचारिक जानकारी नभएको बताए।
  • कांग्रेस विधान अनुसार, सभापतिको राजीनामा उपसभापतिलाई बुझाउनुपर्ने व्यवस्था छ।
  • निर्वाचनमा हारपछि थापाको राजीनामाको चर्चा चलिरहेको छ, तर थापा पक्षधरले राजीनामा समाधान नहुने बताउँदै छन्।

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सभापति गगन थापाको राजीनामा औपचारिक रूपमा आइनसकेको बताएका छन्। रातोपाटीसँग कुरा गर्दै उनले सभापति थापाले राजीनामा दिएको चर्चा बाहिर आए पनि औपचारिक रूपमा राजीनामा दिएको कुनै जानकारी नरहेको बताएका हुन् । 

नेपाली कांग्रेसको विधानमा सभापतिले राजीनामा दिनुपर्ने भएमा उपसभापतिलाई दिनुपर्ने र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्नुपर्ने व्यवस्था छ। सभापति थापाको राजीनामाबारे उपसभापति विश्वप्रकाश शर्मासँग जानकारी लिन खोज्दा सम्पर्क भएन ।

प्रवक्ता चालिसेले अनौपचारिक रूपमा राजीनामा दिएको भए शुक्रबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पेस भएपछि बल्ल जानकारी हुने बताए । कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्न शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। 

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने एकथरीले आवाज उठाइरहेका छन्, विशेषगरी कांग्रेस विशेष महाधिवेशनमा सहभागी नभएकाहरुले। विशेष महाधिवेशन पक्षीय नेताहरूले भने राजीनामा दिएर समस्याको समाधान नहुने बताइरहेका छन्, तर सभापति थापाले निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरे लगत्तै उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा राजीनामा दिने जानु दिएका थिए।

२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर निवर्तमान सभापति शेरबहादुर देउवा र  देउवाद्वारा कार्यवाहक तोकिएका पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्च अदालतमा अहिले विचाराधीन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप