मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

चोटका कारण बंगलादेशविरुद्धको पहिलो टेस्टबाट बाबर बाहिर

शुक्रबार, २५ वैशाख २०८३, १० : २६
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • बाबर आजम देब्रे घुँडामा चोट लागेका कारण बंगलादेशविरुद्धको पहिलो टेस्ट खेलबाट बाहिरिएका छन्।
  • हालै सम्पन्न पाकिस्तान सुपर लिग (पीएसएल) मा उत्कृष्ट लयमा देखिएका बाबरका लागि यो चोट ठूलो झट्का हो।
  • बाबरको अनुपस्थितिमा पाकिस्तानको मध्यक्रममा रिक्तता आएको छ र टोलीले नयाँ खेलाडीलाई डेब्यु गराउनुपर्ने भएको छ।

मिरपुर । पाकिस्तानी टोलीका मुख्य ब्याटर बाबर आजमले बंगलादेशविरुद्धको पहिलो टेस्ट खेल गुमाउने भएका छन् । देब्रे घुँडामा लागेको चोटका कारण शुक्रबारदेखि मिरपुरमा सुरु हुने महत्वपूर्ण खेलमा उनी मैदान उत्रन नसक्ने भएका हुन्।

टोली व्यवस्थापनले जारी गरेको विज्ञप्ति अनुसार बाबरको स्वास्थ्य अवस्थालाई मेडिकल प्यानलले निगरानी गरिरहेको छ, यद्यपि उनी शृङ्खलाबाटै बाहिरिएका हुन् वा होइनन् भन्नेबारे भने केही खुलाइएको छैन।

हालै सम्पन्न पाकिस्तान सुपर लिग (पीएसएल) मा पेशावर जाल्मीलाई उपाधि दिलाउँदै उत्कृष्ट लयमा देखिएका बाबरका लागि यो चोट ठुलो झट्का सावित भएको छ।

पीएसएलको सिजनभरि सर्वाधिक रन बनाउने खेलाडी बनेका बाबर फाइनल जितेको केही घण्टाभित्रै सोमबार बंगलादेश आइपुगेका थिए । दुई दिनसम्म सामान्य रूपमा अभ्यास गरेका उनले बिहीबार बिहान अचानक देब्रे घुँडामा दुखाइ महसुस गरेपछि मेडिकल टिमले उनलाई पहिलो टेस्ट नखेलाउने निर्णय लिएको हो।

सन् २०२४ को अन्त्यतिर इंग्ल्याण्ड विरुद्धको दुई टेस्टमा टोलीबाट बाहिरिएका बाबर त्यसलगत्तै पुनः टोलीमा फर्किएका थिए। सन् २०२१ को जनवरीपछि उनले पहिलो पटक देश बाहिरको टेस्ट खेल गुमाउन लागेका हुन्।

उनको अनुपस्थितिले पाकिस्तानको मध्यक्रममा ठूलो रिक्तता सिर्जना गरेको छ, जसका कारण टोलीले नयाँ खेलाडीलाई डेब्यु गराउनुपर्ने अवस्था आएको छ।

टोलीको माथिल्लो क्रममा इमाम-उल-हक र शान मसूदसँगै आजम ओवैस वा अब्दुल्लाह फजलमध्ये एकले स्थान बनाउन सक्नेछन्। यी दुवै खेलाडीले यसअघि पाकिस्तानका लागि टेस्ट क्रिकेट खेलेका छैनन्।

बाबरको अभावमा टोलीले यी दुवै नयाँ खेलाडीलाई शीर्ष चारमा राख्ने वा सीम बलिङ अलराउन्डर अमाद बटलाई तल्लो क्रममा खेलाएर मोहम्मद रिजवान वा साउद शकीललाई माथिल्लो क्रममा बढुवा गर्ने सम्भावना रहेको छ।

विश्व टेस्ट च्याम्पियनसिपको वर्तमान चक्रमा पाकिस्तानको यो पहिलो वैदेशिक टेस्ट शृङ्खला हो। यसअघि घरेलु मैदानमा दक्षिण अफ्रिका विरुद्ध दुई टेस्ट खेल्दा पाकिस्तानले एकमा जित र एकमा हार बेहोरेको थियो।

बंगलादेशसँगको पछिल्लो भेटमा पाकिस्तानले आफ्नै घरेलु मैदानमा २-० को क्लिन स्वीप पराजय भोगेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप