मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पति ऋषिको निधनपछिको पीडा सुनाउँदै नीतू कपुरले भनिन्– ‘निदाउन पनि रक्सीको सहारा लिनुपर्थ्यो’

शनिबार, २६ वैशाख २०८३, १५ : ४८
शनिबार, २६ वैशाख २०८३

सारांश

  • नीतू कपुरले पति ऋषि कपुरको निधनपछि आफू मानसिक रूपमा विक्षिप्त भएको र निद्रा लाग्नका लागि रक्सीको सहारा लिनुपरेको खुलासा गरेकी छन्।
  • पति गुमाएको केही समयपछि नै काममा फर्किएकी नीतूले सामाजिक सञ्जालमा आलोचना खेप्नुपरेको र आफ्नो पीडाबाट बाहिर निस्कन काममा फर्किएको स्पष्ट पारेकी छन्।
  • नीतूले लामो समयपछि फिल्म 'जुग जुग जियो' मार्फत काममा फर्किँदा नर्भस भए पनि निर्देशक करण जोहरको प्रेरणाले आफू बलियो बनेको बताइन्।

मुम्बई । बलिउडकी दिग्गज अभिनेत्री नीतू कपुरले आफ्ना पति एवं अभिनेता ऋषि कपुरको निधनपछिको कठिन समयका बारेमा खुलेर कुरा गरेकी छन्।

सोहा अली खानको पोडकास्टमा सहभागी हुँदै नीतूले सन् २०२० मा ऋषिको निधनपछि आफू मानसिक रूपमा विक्षिप्त भएको खुलासा गरेकी हुन्। उनले उक्त पीडादायी समयमा आफूलाई सम्हाल्न निकै संघर्ष गर्नुपरेको बताएकी छन्।

पोडकास्टमा आफ्नी छोरी रिद्धिमा कपुर साहनीसँगै उपस्थित भएकी नीतूले ऋषिको निधन पछिका धेरै महिनासम्म आफू रातभर जागै बस्ने गरेको सुनाइन्। उनले भनिन्, ‘ऋषिको निधनपछि म धेरै महिनासम्म रातभर जागै बस्थेँ। कतिपय समय त रातभर निद्रै लाग्दैनथ्यो। बिस्तारै मेरो अवस्था यस्तो भयो कि विना रक्सी मलाई निद्रै लाग्न छोड्यो।’

यस्तो कठिन अवस्थाबाट गुज्रिरहेका बेला मानिसहरूले आफूलाई गलत बुझेकोमा समेत उनले दुखेसो पोखिन्। पति गुमाएको केही समयपछि नै टिभी शो र फिल्ममा फर्किएपछि सामाजिक सञ्जालमा धेरैले उनलाई आलोचना गरेका थिए। मानिसहरूले आफ्नो बाध्यता नबुझेको बताउँदै नीतूले आफू केवल त्यो पीडाबाट बाहिर निस्कन र आफैँलाई सम्हाल्न काममा फर्किएको स्पष्ट पारेकी छन्।

लामो समयको अन्तरालपछि फिल्म ‘जुग जुग जियो’ मार्फत काममा फर्किएकी नीतूले सुरुमा आफू निकै नर्भस भएको समेत बताएकी छन्। निर्देशक करण जोहरले आफूलाई पुनः काम सुरु गर्न प्रेरित गरेको उल्लेख गर्दै उनले फिल्मको सुटिङका क्रममा निकै डराए पनि त्यही अनुभवले आफूलाई फेरि बलियो बन्न मद्दत गरेको बताइन्।

नीतू र ऋषि कपुरको विवाह २२ जनवरी १९८० मा भएको थियो भने उनीहरूले ७० र ८० को दशकमा धेरै फिल्ममा सँगै काम गरेका थिए। उनीहरूका दुई सन्तान रिद्धिमा र रणवीर कपुर हुन्।

ऋषि कपुरलाई सन् २०१८ मा ल्युकेमिया ९रगतको क्यान्सर० भएको पत्ता लागेको थियो। उपचारका लागि करिब एक वर्ष न्युयोर्कमा बिताएर भारत फर्किएपछि पनि उनले केही फिल्ममा काम गरेका थिए।

तर स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि डिसेम्बर २०१९ मा उनलाई अस्पताल भर्ना गरियो र ३० अप्रिल २०२० मा ६७ वर्षको उमेरमा उनको निधन भयो। ऋषिको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ उनको मृत्युपछि सन् २०२२ मा प्रदर्शनमा आएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप