विलय, विभाजन र हत्या शृङ्खलासम्म: ‘रअ’का संस्थापक आर.एन. काओ
सारांश
- आर.एन. काओ भारतको गुप्तचर संस्था 'रअ' का संस्थापक थिए जसले बंगलादेश निर्माण र सिक्किम विलयमा महत्वपूर्ण भूमिका खेले।
- काओले १९६८ मा 'रअ' को स्थापना गरे र यसको नेतृत्व गर्दै १९७१ मा बंगलादेश निर्माणमा सहयोग गरे।
- उनको नेतृत्वमा भारतमा सिक्किमको विलय पनि सम्पन्न भयो, जसलाई एक सफल गुप्तचर अभियान मानिन्छ।
मे १० अर्थात आजकै दिन सन् १९१८ बनारस । एउटा कश्मीरी पण्डित परिवारमा जन्मेको बालकले दक्षिण एसियाको भू–राजनीतिक नक्सा नै बदलिदेला भन्ने कसैले सोचेका थिएनन् ।
यो कथा एउटा व्यक्तिको जीवनको उतार–चढावको कथा मात्रै होइन बरु यो त सामरिक उलटफेर, रणनीतिक दाउपेच एवं सत्ता–शक्तिको शीर्षमा रहेका व्यक्तिको विगतका पदचापहरूको लेखाजोखा हो । एउटा त्यस्तो कथा, जसले भारतको सुरक्षा रणनीतिको पुनरावलोकन गर्दै नयाँ जग खन्न बाध्य बनायो ।
ती व्यक्तिको नाम हो– रामेश्वर नाथ काओ । अर्थात भारतका लागि भारत भन्दा बाहिर प्रतिजासुसीको काम गर्न स्थापना गरिएको ‘रिसर्च एण्ड एनालिसिस विङ’ का संस्थापक ।
‘रअ’ को स्थापना
सन् १९६२ को हिमालय क्षेत्रमा लडिएको युद्धमा चीनसँगको पराजयले भारतको तत्कालीन संस्थापन पक्षलाई सोच्न बाध्य बनाइ दियो । तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुको ‘आदर्शवाद’ चिनियाँ ‘यथार्थवाद’ सँग ठोक्किएर चक्नाचूर भएको समय थियो त्यो ।
युद्धमा पराजित हुनुपरेको कुरालाई भारतले इन्टेलिजेन्स ब्यूरो (आईबी) को सूचना सङ्कलन र विश्लेषणमा देखिएको भयानक कमजोरीका रूपमा विश्लेषण गर्यो । सन् १९६५ मा पाकिस्तानसँगको युद्धमा भारतले यो आवश्यकतालाई झन् गहिरोगरि महसुस गर्यो ।
यतिबेलासम्म भारतीय सत्ताको केन्द्रमा रहेकाहरूले एउटै कुरा सोच्न थालेका थिए– हामीलाई बलियो जासुसी संस्थाको आवश्यकता छ, जसले देश बाहिरको रणनीतिक सूचना सङ्कलनलाई विशेष प्राथमिकता देओस् ।
यसै पृष्ठभूमिमा २१ सेप्टेम्बर १९६८ मा ‘रिसर्च एण्ड एनालिसिस विङ’ अर्थात ‘रअ’को स्थापना गरियो । प्रधानमन्त्री इन्दिरा गान्धीले यसको कमान सम्हाल्न त्यस्तो व्यक्तिको छनोट गरिन्, जो स्वभावमा शान्त, कर्ममा रणनीतिक र लगनमा ढिट थिए । नाम हो– आर.एन. काओ ।
संस्थाको जिम्मेवारी पाएपछि काओले गुप्तचरी सेवामा रहेकासहित २५० कर्मचारीबाट ‘रअ’ को सुरुवात गरे । संस्था स्थापनाको तीन वर्षभित्रै उसले आफ्नो काम देखाउन थालिसकेको थियो ।
बंगलादेश निर्माणमा ‘रअ’

आर.एन. काओ कुनै साधारण गुप्तचर प्रमुख थिएनन् । उनी सूक्ष्म योजनाकार थिए । ‘लो–प्रोफाइल’ मा बस्थे र प्रायः सार्वजनिक स्थानमा फोटो खिचाउन तर्किन्थे । कतै नदेखिए पनि उनको उनको नेटवर्क यति व्यापक थियो कि एक कल फोनको भरमा उनी अन्तर्राष्ट्रिय राजधानीहरूमा हलचल पैदा गर्न सक्ने भइसकेका थिए । काओका लागि काम गर्ने केटाहरुलाई ‘काउ व्वाइज’ भनिनथ्यो ।
खासमा अमेरिकाका पूर्व राष्ट्रपति तथा सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) का प्रमुख रही सकेका जर्ज बुस सीनियरले काओलाई उपहार स्वरूप अमेरिकी ‘काउ व्वाय’ को प्रतिमा दिएका थिए । त्यहीँदेखि उनको टिमलाई ‘काउ व्वाइज’ भन्न थालियो ।
काओको व्यावसायिकताको सबैभन्दा ठुलो परीक्षा सन् १९७१ मा भयो । पूर्वी पाकिस्तानमा उठिरहेको विद्रोहको स्वरलाई बढवा दिनुमा उनले भारतको रणनीतिक स्वार्थ देखे । त्यसैले काओलाई ‘ बंगलादेशको आर्किटेक्ट’ मानिन्छ ।
उनकै नेतृत्वमा ‘रअ’ले पूर्वी पाकिस्तानमा ‘मुक्ति वाहिनी’ र ‘मुजीब वाहिनी’ लाई भूमिगत रूपमा तालिम दियो । पाकिस्तान सरकार विरुद्ध विद्रोहका लागि ‘मिलिटेन्ट फोर्स’ तयार पार्यो र उनीहरूलाई हतियार उपलब्ध गरायो । यति मात्र होइन, पाकिस्तानका सैन्य योजनाहरूलाई ‘इन्टरसेप्ट’ गर्नेदेखि लिएर अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमा विद्रोहलाई वैधानिकता दिनका लागि जनमत तयार पार्न ‘प्रोपोगाण्डा’ सामाग्री उत्पादनमा सहयोग गर्यो ।
यो सबैको पर्दा पछाडि थिए काओ । नतिजास्वरुप, सन् १९७१ मा पाकिस्तानको विखण्डन भयो र विश्व मानचित्रमा बङ्गलादेशका रूपमा नयाँ मुलुकको उदय भयो । पूर्वी पाकिस्तानको विभाजन र बंगलादेशको उदयलाई आधुनिक गुप्तचरीको इतिहासमा सबैभन्दा सफल ‘कोभर्ट अपरेसन’ मानिन्छ ।
सिक्किम विलय

काओको व्यावसायिक जीवनको अर्को ठुलो सफलता थियो भारतमा सिक्किमको विलय । सन् १९७५ भन्दा अघिसम्म सार्वभौम मुलुकका रूपमा विश्व मानचित्रमा रहेको सिक्किम काओकै रणनीतिको सिकार भएर एकाएक विश्व मानचित्रबाटै विलुप्त भयो र भारतको २२औँ नयाँ राज्यका रूपमा थपिन पुग्यो ।
एक थोपा रगत नबगाई एउटा सिंगो सार्वभौम मुलुकलाई भारतमा गाभ्ने काम सम्पन्न भयो । काओले त्यहाँका स्थानीय राजनीतिक शक्तिहरूलाई सङ्गठित गरे र एउटा यस्तो जनमत सिर्जना गरे, जसले राजतन्त्रलाई विस्थापित गर्दै लोकतान्त्रिक जस्तो देखिने प्रक्रियाबाट सिक्किमलाई भारतमा गाभ्ने बाटो खोल्यो । यो ‘सफ्ट’ र ‘हार्ड इन्टेलिजेन्स’ को मिश्रण कोभर्ट अपरेशन थियो ।
कुनै मुलुकको अस्थित्व नै नामेट पार्नेगरी गरिएको काम नै उनको सफलताको सबै भन्दा ठुलो मियो बन्यो । यसले उनलाई विश्वकै उत्कृष्ट गुप्तचर प्रमुखहरूको सूचीमा उभ्यायो ।
सन् १९८२ मा फ्रान्सको एक्सट्रनल जासुसी संस्था डिरेक्टोरेट जेनरल फर एक्ट्रनल सेक्युरिटी (डीजीएसई) का प्रमुख काओन्टे एलेक्ज्यान्ड्रा द मेरेन्चेलाई ७० को दशकमा दुनियाँका पाँच उत्कृष्ट खुफिया प्रमुख को–को थिए भनि सोधिएको प्रश्नमा उनले काओको पनि नाम लिएका थिए ।
सिक्किमका राजा चोग्याल सिक्किममा आफ्नो शासनकाल लम्ब्याउन चाहन्थे र त्यसलाई टिकाउनका लागि अन्तर्राष्ट्रिय लविङ गरिरहेका थिए । तर, भारतको प्रधानमन्त्रीका रूपमा इन्दिरा गान्धी भने सिक्किमलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सोचमा थिइन ।
गान्धीले ‘रअ’का प्रमुख काओलाई सिक्किमका विषयमा के गर्न सकिन्छ भनेर सोधिन । ‘रअ’मा ज्वाइन्ट डिरेक्टर रहेका पीएन वेनर्जीले जम्मा चार दिनको रणनीतिक खाका कोरे र काओले गान्धी समक्ष त्यो पेश गरे । रणनीति अनुरूप चोग्याललाई बिस्तारै कमजोर बनाउन विरोधीहरूलाई आर्थिक, भौतिक सहयोग गरेर राजतन्त्रका विरोधी आन्दोलनको पक्षमा एकमत गराउनु थियो ।
परिणाम स्वरूप आन्दोलन चर्कियो, आन्दोलनले जनमत संग्रह गर्नुपर्ने माग राख्यो र अन्ततः १६ मई १९७५ मा सिक्किम भारतमा गाभिने भयो । खासमा इन्दिरा गान्धीले सोध्नु अघि नै काओ र उनको टिमले सिक्किममा काम गरिरहेको थियो । जे–जे भयो सबै ‘रअ’को रणनीतिको हिस्सा थियो ।
चिनिया प्रधानमन्त्रीको हत्या प्रयास

सन् १९५५ को कुरा हो, इन्डोनेसियाको बाडुङ्गमा सम्मेलन आयोजना गरिएको थियो । यो कुनै पनि गुटमा आबद्ध नभएका असंलग्न राष्ट्रहरूको सम्मेलन थियो । यसको नेतृत्व भारत र चीनले गरिरहेका थिए । त्यतिबेला ‘हिन्दी–चीनी भाई–भाई’ को निकै चर्चा थियो ।
चीनका प्रधानमन्त्री चाउ एनलाई लाई इन्डोनेसिया लैजानका लागि प्रधानमन्त्री नेहरूले एउटा विशेष विमान पठाए । त्यो अमेरिकामा निर्मित लकहिड मार्टिनको एल–७४९–एयरक्राफ्ट थियो । चाउ एनलाईलाई लैजान तय गरिएको उक्त विमानको नाम ‘कश्मीर प्रिन्सेस’ थियो ।
११ अप्रिल १९५५ का दिन काश्मीर प्रिन्सेस दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भयो । यस घटनामा चीन र भारतका धेरै नागरिकहरूले ज्यान गुमाए । विमान अमेरिकामा बनेको थियो, भारतले पठाएको थियो र तत्कालीन बेलायती उपनिवेश हङकङबाट उडेको थियो ।
विमानमा चिनियाँ कूटनीतिक क्षेत्रका विशिष्ट पदाधिकारीहरू सवार थिए र दुर्घटना इन्डोनेसियामा भएको थियो । अर्थात्, एउटै घटनामा पाँचवटा देशहरू जोडिएका थिए र ती पाँचै देशका अनुसन्धान एजेन्सीहरू यसमा संलग्न थिए ।
चीनका प्रधानमन्त्रीले सोही विमानमा यात्रा गर्ने तय थियो तर अचानक उनलाई पखाला लागेको हुनाले उनी त्यो विमानमा गएनन् । तर उनी चढ्नै लागेको त्यही विमान दुर्घटनाग्रस्त भयो । यो घटनाले भारतीय सुरक्षा कमजोरीलाई छताछुल्ल पारिदियो ।
यति ठुलो सुरक्षा कमजोरीको रहस्य पत्ता लगाउन भारतको तर्फबाट काओलाई चीन पठाइयो । काओ त्यतिबेला आईबीमा कार्यरत थिए र अन्तर्राष्ट्रिय गुप्तचरी (इन्टेलिजेन्स) को क्षेत्रमा यो उनको पहिलो मिसन थियो । बेइजिङबाट उनी हङकङ पुगेपछि काओले अनुसन्धान सुरु गरे ।
छानबिनबाट के पत्ता लाग्यो भने, विमान विस्फोट गराउनुमा ताइवानको कुओमिन्ताङ सरकारको षड्यन्त्र थियो । मिसन पूरा गरेपछि काओ भारत फर्किए । यसपछि, सन् १९५० को दशकमा उनले प्रधानमन्त्री जवाहरलाल नेहरुको आग्रहमा घानाको गुप्तचर संस्था गठन गर्न पनि सहयोग गरेका थिए ।
काओमाथि नै प्रश्न उठ्यो

संसारको कुनै पनि गुप्तचर संस्था, जब अत्यधिक शक्तिशाली र अपारदर्शी हुन्छ, त्यहाँ संस्थागत क्षयको जोखिम झन्–झन् झाँगिँदै जान्छ । आर.एन. काओले जुन राष्ट्रिय स्वार्थका लागि ‘रअ’को जग हालेका थिए के पछिल्ला दशकहरूमा संस्था तिनै मूल्यमा कायम छ ? भन्ने प्रश्न उठ्न थाल्यो ।
‘रअ’का पूर्व अधिकारी आर.के. यादवको पुस्तक ‘मिसन आर एण्ड एडब्लु’ले त्यही गम्भीर प्रश्नमाथि निर्मम प्रहार गरेको छ । पुस्तकमा संस्थाको सफलतापछिका अँध्यारा पाटाहरू र यसका आन्तरिक अन्तर्विरोधहरूबारे उत्खनन गरिएको छ ।
काओ र इन्दिरा गान्धीको ‘केमेस्ट्री’ ले संस्थालाई बलियो त बनायो, तर यसले एउटा गलत नजिर पनि बसाल्यो–सत्तासीनसँगको अत्यधिक निकटता ।

सन् १९७५ को सङ्कटकालमा ‘रअ’लाई विपक्षीहरूको दमन र जासुसी गर्न प्रयोग गरिएका प्रमाणहरूले के देखाउँछन् भने ‘रअ’ देश बाहिर मात्र होइन देश भित्र पनि सत्ताशिनको जासुसी हतियार बन्न पुग्यो ।
त्यसैले सन् १९७७ मा सत्ता परिवर्तन हुँदा मोरारजी देसाईले ‘रअ’को संस्थागत विकास ‘इन्दिराको व्यक्तिगत औजार’ ठानेर यसको शक्ति र बजेटमा ६० प्रतिशतभन्दा बढी कटौती गरिदिए । यहाँ ध्यान दिनु पर्ने विषय के छ भने संस्थाको राजनीतिकरण नै ‘रअ’को इतिहासको सबैभन्दा ठुलो अन्तर्विरोध हो ।
नौँ बर्षसम्म ‘रअ’ को प्रमुख रहेर काओले सन् १९७७ मा पदबाट राजीनामा दिए । उनीमाथि छानबिन गरियो तर संयोगवश उनी निर्दोष देखिए । अवकाशपछि सन् १९८१ मा उनलाई इन्दिरा गान्धीले राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरिन ।
त्यसपछि भविष्यका सुरक्षा चुनौतीहरूलाई ट्याकल गर्नका लागि उनले ‘पोलिसी एण्ड रिसर्च स्टाफ’ (पीएआरएस) को गठन गरे । पीएआरएसले सरकारलाई सल्लाह दिने काम गर्छ । त्यति मात्र होइन ‘अपरेशन ब्लू स्टार’ पछि आतंकवादसँग ट्याकल गर्नका लागि सन् १९८६ मा नेशनल सेक्युरिटी गार्ड (एनएसजी) को गठनमा काओले महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
काओको विरासत
रामेश्वर नाथ काओले सन् २००२ मा देहावसान हुनुअघि केही टेपहरू रेकर्ड गराएर गएका थिए, जसमा उनले बङ्गलादेश, सिक्किम विलय र इन्दिरा गान्धीको हत्यासँग जोडिएका रहस्यहरू रहेका छन् भन्ने विश्वास गरिन्छ । उनले ती रेकर्डहरू सन् २०२५ पछि मात्र खोल्न भनेका थिए । तर, ती सबै अझै सार्वजनिक वृत्तमा आइसकेका छैनन् ।
सम्भवतः ती टेपहरूले भारतीय राजनीतिको पर्दा पछाडि मञ्चन गरिएका धेरै अभिनयहरूको तथा भारतमा सक्रिय ‘डिप स्टेट’ को बारेमा थप स्पष्ट पार्छ होला ।
काओको व्यक्तित्वको भव्यता र आर.के. यादवले देखाएको संस्थागत दुर्गन्धबिचको द्वन्द्व नै ‘रअ’ को वास्तविक कथा हो । काओले भारतलाई एउटा सामरिक शक्ति त दिए, तर एउटा यस्तो संस्था छोडेर गए, जसमा पारदर्शिताको सवर्था अभाव छ ।
राष्ट्रिय सुरक्षाको आवरणमा संस्थागत भ्रष्टाचार र राजनीतिक दुरुपयोगलाई कसरी रोक्ने भन्ने विषय नै ‘रअ’को संस्थागत चुनौती हो ।
भारतको गुप्तचर संस्था ‘रअ’का जनक तथा विशिष्ट स्पाइमास्टर काओले २० जनवरी २००२ मा अन्तिम सास फेरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
-
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक
-
प्रतिनिधि सभा बैठक |LIVE||
-
फिलिपिन्स भूकम्प : नेपाल सरकारद्वारा दुख व्यक्त, ऐक्यबद्धता प्रकट
-
रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण