मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बालेनको प्रवृत्ति राणा शासन पछिकै खतरनाक : जेनजी अभियन्ता विके

आइतबार, २७ वैशाख २०८३, १६ : २६
आइतबार, २७ वैशाख २०८३

काठमाडौँ ।  जेनजी अभियन्ता डा.जगत विकेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पछिल्लो केही कदम र प्रवृत्तितर्फ लक्षित गर्दै कडा असहमति जनाएका छन् । बालेनका यसअघिका धेरै निर्णयहरूमा समर्थन र सदभाव राख्दै आएका विकेले पछिल्लो समय राज्यका संस्थाहरूबिचको शक्ति सन्तुलन बिर्सिन खोजिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा.विकेले राज्य संयन्त्र विधिसम्मत प्रक्रिया, संवैधानिक मर्यादा र संस्थागत सन्तुलनका आधारमा चल्नुपर्नेमा जोड दिएका छन् । कार्यकारी शक्तिले सर्वोच्च अदालतजस्तो स्वतन्त्र र निष्पक्ष संवैधानिक निकायलाई आफ्नो प्रभाव वा निगाहमा चल्ने संरचनाजस्तो प्रस्तुत गर्न खोज्नु लोकतन्त्रका लागि घातक हुने उनको ठहर छ । 

‘व्यक्तिभन्दा विधि माथि हुनुपर्छ’

डा.विकेले भनेका छन्- ‘लोकतन्त्रको सुन्दरता नै यही हो कि कुनै पनि व्यक्ति, पद वा शक्ति कानुनभन्दा माथि हुँदैन । तर अहिले कार्यपालिकाले आफैँलाई सबैभन्दा माथि ठान्न थालेको देखिन्छ । यो राज्यको शक्ति सन्तुलनमाथिको गम्भीर प्रहार हो ।’ 

उनले संस्थाभन्दा व्यक्तिलाई बलियो बनाउन खोज्ने मानसिकतालाई राणा शासनपछिको ‘सबैभन्दा खतरनाक प्रवृत्ति’ को संज्ञा दिएका छन् । संसदीय शासन प्रणालीमा व्यक्ति अस्थायी र संस्था स्थायी हुने उल्लेख गर्दै डा. विकेले नागरिक चेतनाले मात्र लोकतन्त्रलाई सही दिशामा राख्न सक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘आलोचना भनेको शत्रुता होइन, लोकतन्त्रलाई सही दिशामा राख्ने जिम्मेवार नागरिक चेतना हो। यहाँ कोही अरिङ्गाल खनिनु पर्दैन, न त अन्धभक्तहरू झम्टिन आउनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप