सपनाको ‘जेल ब्रेक’ : केन्द्रीय कारागारको सुरक्षामा गम्भीर प्रश्न
काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागारबाट २५ वर्षीया कैदी सपना तामाङ जेठ १ गते बिहान फरार भइन् ।
डीएसपीको कमान्डमा सुरक्षा व्यवस्था रहने सुन्धारा कारागारबाट कैदी भाग्नु सामान्य विषय होइन ।
जेठ ३ गते न्यूरोडबाट पक्राउ परेकी सपनाले तरकारी र फलफूल राख्ने प्लास्टिकको क्रेट प्रयोग गरी ‘जेल ब्रेक’ गरेको खुलेको छ । उनलाई पक्राउ गर्ने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकृतहरूसमक्ष सपनाले क्रेटको भर्याङ बनाएर भागेको बयान दिएकी छन् । उनको भनाइ उद्धृत गर्दै अपराध अनुसन्धान कार्यालयका एक अधिकृत भन्छन्, 'छवटा क्रेटको भर्याङ बनाएर पर्खालमा टाँसिएँ, पर्खालमाथि ब्लेड वायर (तार) को भाग काटिएको रहेछ, त्यहीँबाट छिरेर बाहिर हाम्फालेँ ।'
जेल ब्रेक गर्ने क्रममा उनले आफ्नो हातमा दुई जनाको मोबाइल नम्बर लेखेर निस्केकी थिइन् । कारागारमा सँगै बस्ने सीता थापा श्रेष्ठका श्रीमान् मीनकुमार श्रेष्ठ र छोरा समीर भनिने सुवास श्रेष्ठको नम्बर उनले हातमा लेखेकी थिइन् । कारागारबाट निस्किएपछि ट्याक्सी चढेर उनले भोजपुर घर भएका २७ वर्षीय समीरको नम्बरमा डायल गरिन् । तर, समीरको फोन स्विच अफ थियो । त्यसपछि उनले ट्याक्सी चालकको मोबाइल फोन प्रयोग गरी ५२ वर्षीय मीनकुमारलाई सम्पर्क गरिन् र ठमेलतर्फ लागिन् । मीनकुमार ठमेलमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए र त्यसबेला उनी ड्युटीमै थिए ।
समीर र सपना प्रेम सम्बन्धमा थिए । यसअघि भदौ २४ गते जेलबाट निस्किएर असनस्थित समीरककै कोठामा केही दिन बसेकी सपनाले त्यस बिहान कोठा पहिल्याउन नसकेपछि फोन गरेको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले रातोपाटीलाई बताए । ठमेलमा मीनकुमारलाई भेटेपछि उनले सपनालाई आफ्नो कोठामा लिएर गएका थिए ।
सीता थापा २०६६ जेठ ९ गते धोबीघाटको चर्चमा भएको कुकर बम विस्फोट घटनामा संलग्न प्रतिवादी हुन् । सो विस्फोटमा तीन जना भारतीय नागरिकको मृत्यु भएको थियो । उनी २०६६ सालदेखि नै कारागारमा छिन् ।
असनस्थित भाँडा पसलमा काम गर्ने समीर कारागारमा रहेकी आमालाई भेट्न निरन्तर गइरहन्थे । उनी पूजाका सामग्री बनाउने कच्चा पदार्थ लगेर आमालाई दिन्थे भने आमाले त्यसबाट पूजा सामग्री तयार गरी छोरालाई फिर्ता पठाउँथिन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेका अनुसार आमाले तयार पारेर पठाएका सामग्री समीरले बजारमा बिक्री गर्ने गर्थे ।
कच्चा पदार्थबाट पूजाका सामग्री तयार गर्ने काम कारागारभित्र सपनाले पनि गर्दै आएकी थिइन् । सोही क्रममा नियमित भेट हुँदा उनीहरू प्रेम सम्बन्धमा बाँधिए । जेनजी आन्दोलनका क्रममा जेलबाहिर रहँदा उनीहरूको प्रेम सम्बन्ध अझ प्रगाढ बनेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
सुरक्षा व्यवस्थापनमाथि प्रश्न
प्रहरीको चौबीसै घण्टा कडा सुरक्षा घेराभित्र रहने कारागारबाट मध्यरातमा सपना भाग्न सफल हुनुले सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
केन्द्रीय कारागारको सुरक्षा कमान्ड डीएसपी शैलेश न्यौपानेले सम्हाल्दै आएका छन् । न्यौपाने कारागार सुरक्षा प्रमुखका रूपमा आएपछि २०८२ फागुन १ गते पनि महिला बन्दीगृहमा झडप भएको थियो । गम्भीर विषय त के छ भने, सपना फरार भएको कुरा सुरक्षामा खटिएका कारागारका अधिकारीहरूले भोलिपल्टको नियमित गणनाका क्रममा मात्रै थाहा पाए ।
बन्दीहरूको दैनिक गणना गर्दा एक जना कम देखिएपछि मात्र सपनाले ‘जेल ब्रेक’ गरेको तथ्य कारागार प्रशासन र नेपाल प्रहरी अनाश्रित गुल्म जगन्नाथदेवलका सुरक्षा अधिकारीहरूले पत्ता लगाएका थिए । त्यसपछि मात्र प्रहरी उनको खोजीमा सक्रिय भएको थियो ।
केन्द्रीय कारागारको सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठ्ने यस्ता घटना यसअघि पनि हुने गरेका थिए । २०६७ फागुन २६ गते कैदी चार्ल्स शोभराजलाई भेट्ने बहानामा कारागार छिरेका भारतीय नागरिक जसजित सिंहले युनुस अन्सारीमाथि गोली प्रहार गरेका थिए । नक्कली भारतीय रुपैयाँ कारोबारको आरोपमा जेल सजाय काटिरहेका अन्सारीमाथि कारागारभित्रै गोली प्रहार भएको थियो । सिंहले प्रहार गर्न खोजेका सुरुका चारवटा गोली पड्किएनन् । पाँचौँ राउण्डको गोली भने अन्सारीको कुममा लागेर उछिट्टिएको थियो । कैदी भेट्ने निहुँमा कारागारभित्रै गोली प्रहार भएको १५ वर्ष बितिसक्दा पनि केन्द्रीय कारागारको सुरक्षा व्यवस्थापनमा अपेक्षित सुधार आउन सकेको छैन ।
कैदी फरार भएको घटना छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले एक समिति गठन गरेको छ । काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गण, त्रिपुरेश्वरका एसपी नवरत्न पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी प्रवीण धितालले रातोपाटीलाई बताए । तीन सदस्यीय सो समितिको छानबिन प्रतिवेदन आएपछि मात्रै सुरक्षामा कहाँ कमजोरी भयो भन्ने कुरा यकिन हुने एसएसपी धितालले बताए । उनले भने, 'छानबिन प्रतिवेदन आएपछि सुरक्षा कमजोरी कहाँ रहन गयो भन्ने स्पष्ट हुन्छ ।'
उमेर २५, सजाय पनि २५ वर्ष
नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर–१३ घर भएकी सपना गम्भीर अपराधमा सजाय काटिरहेकी हुन् । अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र डाँकाचोरी मुद्दामा रसुवा जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो । २५ वर्षीया उनले माथिल्लो अदालतबाट सजाय फेरबदल नभएमा २५ वर्ष नै कारागारमा बिताउनुपर्ने हुन्छ । जेल ब्रेक गरेसँगै उनको आपराधिक अभिलेखमा कारागारबाट भागेको कसुर पनि थपिएको छ ।
२०७७ मंसिर २० गते रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङ ग्राङ प्राथमिक विद्यालयबाट घर फर्किंदै थिइन् । उनले कानमा सुनको मुन्द्रा लगाएकी थिइन् । सपनाले ती बालिकाको सुनको मुन्द्रा लुटेर भाग्न खोजिन् । तर सुमिनाले उनलाई चिनेपछि पक्राउ परिने डरले सपनाले बालिकाको अपहरण गरिन् । घटनाबारे अनुसन्धान गरेका एक प्रहरी अधिकृत भन्छन्, 'बालिकालाई हत्या गरेर उनले कालिका गाउँपालिका–१ पलेपस्थित नागुर्दुङ भीरको ओडारमा लगि स्याउलाले छोपेर राखेको खुलेको छ ।'
त्यसअघि पनि सपना पटक(पटक चोरी सम्बन्धी कसुरमा पक्राउ पर्दै र छुट्दै आएको पाइएको छ । १८ वर्ष उमेर पूरा नहुँदै आपराधिक गतिविधिमा संलग्न भएकी उनी केही समय भक्तपुरस्थित बाल सुधार गृहमा समेत बसेकी थिइन् । १९ वर्षको उमेरमा उनी बालिका अपहरण तथा हत्या मुद्दामा पक्राउ परेकी हुन् । उनी २०७७ वैशाख ६ गते जेल सरुवा भई केन्द्रीय कारागारको महिला ब्लकमा आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार
-
गर्मीले विद्यालय बन्द, विद्यार्थीको घर–घरमै पुग्छन् शिक्षक
-
प्रविधिजन्य लैङ्गिक हिंसा रोक्न राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव दर्ता (प्रस्तावसहित)
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण