सांसद कल्याण बनर्जीमाथि सडकमै कुटपिट, हप्तादिनमै तृणमूल नेतामाथि दोस्रो आक्रमण
सारांश
- भारतको पश्चिम बंगाल राज्यमा तृणमूल कांग्रेसका सांसद कल्याण बनर्जीमाथि प्रदर्शनकारीहरूको भीडले आक्रमण गरेको छ।
- सांसद बनर्जीले आफूमाथि टाउकोमा चोट लागेको र रगत बगेको दाबी गर्दै यस घटनाका लागि भाजपा समर्थकहरूलाई जिम्मेवार ठहर गरेका छन्।
- यो घटना हुनुभन्दा एक दिनअघि टीएमसीका वरिष्ठ नेता अभिशेक बनर्जीमाथि पनि सोनारपुर क्षेत्रमा दुर्व्यवहार भएको थियो।
काठमाडौँ । भारतको पश्चिम बंगाल राज्यमा अल इन्डिया तृणमूल कांग्रेस (टीएमसी) का सांसद कल्याण बनर्जीमाथि आइतबार हुगली जिल्लाको चन्दितला प्रहरी चौकी बाहिर प्रदर्शनकारीहरूको भिडले आक्रमण गरेको छ।
उनले घटनामा आफ्नो टाउकोमा चोट लागेको र रगत बगेको दाबी गरेका छन् । सांसद बनर्जी टीएमसी कार्यकर्ताहरूलाई विधानसभा निर्वाचनपछि पक्राउ गरिएको विरोधमा ज्ञापनपत्र बुझाउन प्रहरी चौकी पुगेका थिए । त्यही क्रममा केही व्यक्तिहरूले कालो झण्डा देखाउँदै उनको विरोध गरेका थिए ।
प्रत्यक्षदर्शीहरूका अनुसार विरोध प्रदर्शन चर्किदै जाँदा भीडले ‘चोर’ भन्दै नाराबाजी गरेको थियो । त्यसपछि अवस्था तनावपूर्ण बनेको थियो ।
घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बनर्जीले भने, ‘यो सबै प्रहरीकै सामुन्ने भयो । मेरो टाउकोमा प्रहार गरियो र रगत बगिरहेको छ ।’ उनले यस घटनाका लागि भारतीय जनता पार्टी (भाजपा)का समर्थकहरूलाई जिम्मेवार ठहर गरेका छन् ।
चोट लागेपछि उनी टाउकोको पछाडिको भागमा कपडा राखेको अवस्थामा देखिएका थिए । घटनापछि उनले प्रहरी प्रशासनले कुनै प्रभावकारी कदम नचालेको आरोप लगाउँदै प्रहरी चौकी अगाडि धर्ना समेत दिएका थिए।
उनले टीएमसीमाथि भइरहेको ‘भाजपा प्रायोजित आक्रमण’ विरुद्ध आन्दोलन जारी रहने चेतावनी दिएका छन् । यो घटना भएको एक दिनअघि मात्रै टीएमसीका वरिष्ठ नेता अभिशेक बनर्जीमाथि पनि दक्षिण २४ परगना जिल्लाको सोनारपुर क्षेत्रमा दुर्व्यवहार भएको थियो । उनी निर्वाचनपछिको हिंसामा प्रभावित परिवारहरूलाई भेट्न पुगेका बेला स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका थिए ।
त्यसबेला प्रदर्शनकारीहरूले अण्डा र ढुङ्गा प्रहार गर्नुका साथै केही व्यक्तिले अभिषेक बनर्जीलाई थप्पड र मुक्का हानेको आरोप लागेको थियो । सुरक्षाकर्मीहरूको सहयोगमा उनलाई त्यहाँबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
कल्याण बनर्जीमाथिको घटनापछि क्षेत्रमा ठुलो सङ्ख्यामा राज्य प्रहरी र केन्द्रीय सुरक्षा बल परिचालन गरिएको छ । थप तनाव फैलिन नदिन सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरूले बताएका छन्।
यता भाजपाले भने टीएमसीका आरोपहरू अस्वीकार गरेको छ । पार्टीका नेताहरूले राज्यभरका स्थानीय बासिन्दाहरू टीएमसी नेतृत्वप्रति असन्तुष्ट रहेकाले स्वतःस्फूर्त रूपमा विरोध भइरहेको दाबी गरेका छन्।
पश्चिम बंगालमा निर्वाचनपछिको राजनीतिक तनाव अझै जारी रहेको बेला दुई दिनभित्र टीएमसीका दुई प्रमुख नेतामाथि भएको विरोध र आक्रमणका घटनाले राज्यको राजनीतिक वातावरण थप तातिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
-
साँघुरो चिडियाखानाका सुख-दुःख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण