सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
कञ्चनपुर । पर्यावरणमैत्री पर्यटन प्रवर्द्धन तथा ग्रामीण समुदायको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा सामुदायिक घरबास ९होमस्टे०मा सौर्य ऊर्जाबाट सञ्चालन हुने ब्याकअप प्रणाली जडान गरिएको छ ।
विद्युत् आपूर्तिमा हुने अवरोधकाबीच पनि पर्यटकलाई निरन्तर सेवा उपलब्ध गराउन सहज भएको छ ।
शुक्लाफाँटा नगरपालिका, ‘कनेक्ट’ परियोजनाको साझेदारी तथा हिमाली प्रकृतिको समन्वयमा आठ वटा होमस्टे घरमा सोलार ‘ब्याकअप’ प्रणाली जडान गरिएको हो । कनेक्ट परियोजनाका टिम लिडर मनोजप्रसाद ओझाका अनुसार आठ वटै घरमा प्रणाली जडान गर्न रु सात लाख ५९ हजार ५२० खर्च भएको छ । प्रतिघर रु ९४ हजार ९४७ का दरले सोलार प्रणाली जडान गरिएको उनले बताए ।
हिमाली प्रकृतिका प्राविधिक सुपरभाइजर पुरनसिंह ठगुन्नाले सौर्य ऊर्जाको प्रयोगले नवीकरणीय ऊर्जा प्रवर्द्धन, जीविकोपार्जनमा सुधार तथा होमस्टेको स्तरोन्नतिमा महत्त्वपूर्ण योगदान पुगेको बताए । “ग्रामीण पर्यटनलाई दिगो र वातावरणमैत्री बनाउन सौर्य ऊर्जाको प्रयोग प्रभावकारी माध्यम हो”, उनले भने ।
होमस्टे सञ्चालक खुशीराम चौधरीले सोलार ब्याकअप प्रणाली जडान भएपछि बत्ती जाने समस्याबाट मुक्त भएको बताए । “पहिले विद्युत् अवरुद्ध हुँदा पर्यटकलाई असहज हुन्थ्यो, अहिले होमस्टेमा बस्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कोठामा बत्ती, पङ्खा, ‘मोबाइल चार्जिङ’ र अन्य आधारभूत सेवा निरन्तर उपलब्ध गराउन सक्ने भएका छौँ”, उनले भने । यसले पर्यटकको बसाइलाई थप सहज र आकर्षक बनाएको उनको अनुभव छ ।
स्थानीय टिकुराम डगौराले ग्रामीण क्षेत्रमा विद्युत् आपूर्तिमा कहिलेकाहीँ आउने अवरोधले पर्यटन व्यवसाय प्रभावित हुने गरेको थियो । सौर्य प्रणाली जडानपछि होमस्टे ऊर्जाको वैकल्पिक स्रोतसँग जोडिएका छन् । जसले सेवा प्रवाहलाई भरपर्दो बनाएको छ ।
सौर्य ऊर्जाको प्रयोगले विद्युत् खर्च घटाउने, कार्बन उत्सर्जन कम गर्ने तथा वातावरण संरक्षणमा योगदान पुर्याउने अनुगमनमा पुग्नुभएका शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना पन्तले बताइन् ।
“विशेषगरी प्रकृति र पर्यावरणमा आधारित होमस्टे तथा ग्रामीण पर्यटन क्षेत्रमा यस्ता प्रणालीले दिगो पर्यटनको अवधारणालाई बल पुर्याउने विश्वास गरेका छौँ”, उनले भनिन् ।
खयरकन्द्रा सामुदायिक होमस्टे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रको संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यसँग परिचित गराउने गन्तव्यका रूपमा परिचित छ ।
सौर्य ऊर्जामा आधारित पूर्वाधार विस्तारसँगै यहाँको पर्यटकीय सेवा र आकर्षण थप सुदृढ हुने अपेक्षा गरिएको छ । होमस्टेमा बस्नका लागि आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । पर्यटकलाई बस्ने सुविधा सँगै रुचि अनुसारको थारु परिकार पस्किने गरिन्छ । सांस्कृतिक नृत्य पनि देखाउने व्यवस्था होमस्टेमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
-
पोल चढेर टेलिकमको तार चोर्दै गर्दा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण