नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
सारांश
- इंग्ल्याण्डका कप्तान बेन स्टोक्स र खेलाडी गस एटकिसन नाइटक्लब विवादमा मुछिएपछि इंग्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले अनुसन्धान सुरु गरेको छ।
- यो घटनाले कप्तान स्टोक्सको टेस्ट कप्तानीको भविष्यमाथि प्रश्नचिह्न खडा गरेको छ र उनीहरू दुवैले दोस्रो टेस्ट गुमाउने सम्भावना छ।
- यो घटनाले खेलाडीहरूको मैदान बाहिरको व्यवहार र अनुशासनबारे पुनः प्रश्न उठाएको छ।
लण्डन । लर्ड्स मैदानमा न्युजिल्याण्ड विरुद्धको पहिलो टेस्ट म्याचमा ११५ रनको सानदार जित दर्ता गरेको केही घण्टा नबित्दै इंग्ल्याण्ड क्रिकेट टोली ठुलो विवादमा तानिएको छ।
टोलीका कप्तान बेन स्टोक्स र तीव्र गतिका बलर गस एटकिसनले नाइटक्लबमा टोलीको अनुशासन र नियम उल्लङ्घन गरेको भन्दै इंग्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले अनुसन्धान सुरु गरेको छ। सोही घटनाका कारण स्टोक्सको टेस्ट कप्तानीको भविष्य नै सङ्कटमा परेको छ।
खेल सकिएपछि सोमबार बिहान सबेरै एउटा नाइटक्लबमा सो घटना घटेको थियो। ईसीबीले यसलाई टोलीको आचारसंहिता र नियमको गम्भीर उल्लङ्घन भनी टिप्पणी गरेको छ। ईएसपीएन क्रिकइन्फोका अनुसार यो घटना यति गम्भीर छ कि कप्तान स्टोक्स आफैँ पनि आफ्नो पदमा निरन्तरता दिने वा नदिने भन्ने विषयमा पुनर्विचार गरिरहेका छन्।
ईसीबीले उक्त घटनालाई क्रिकेट नियामक निकाय (क्रिकेट रेगुलेटर) मा पठाएको छ। अनुसन्धान नसकिउन्जेलसम्मका लागि स्टोक्स र एटकिसन दुवै जनाले जुन १७ देखि द ओभल मैदानमा सुरु हुने न्युजिल्याण्डविरुद्धको दोस्रो टेस्ट म्याच गुमाउने लगभग निश्चित देखिएको छ।
उक्त रात्रिकालीन घटनामा दुवै खेलाडीलाई कुनै चोटपटक भने लागेको छैन। क्लबमा सिजनको अन्त्य भएको खुसीयाली मनाउन पुगेका सारासेन्स रग्बी क्लबका खेलाडीहरू र क्रिकेट खेलाडीहरूबिच भनाभन भएको बुझिएको छ। विवादको सुरुवात बलर गस एटकिसन र रग्बी क्लबका एक नाम नखुलाइएका एकेडेमी खेलाडीबिचको असमझदारीबाट भएको थियो। सारासेन्स रग्बी क्लबले पनि आफ्नो एकेडेमीका एक खेलाडी आइतबार रातिको घटनामा संलग्न रहेको पुष्टि गरेको छ।
ईसीबीले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै न्युजिल्याण्डविरुद्धको पहिलो टेस्ट सकिएपछि टोलीको नियम उल्लङ्घन भएको विषयमा अनुसन्धान भइरहेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘बेन स्टोक्स र गस एटकिसन सोमबार बिहान सबेरै एउटा नाइटक्लबमा उपस्थित रहेको समयमा एक घटना घटेको थियो। हामी अहिले थप जानकारी सङ्कलन गरिरहेका छौँ र दोस्रो टेस्टका लागि टोलीको घोषणा उचित समयमा गरिनेछ।’
इंग्ल्याण्डका खेलाडीहरूको मैदान बाहिरको व्यवहार सधैँ विवादको घेरामा पर्दै आएको छ। यसअघि अस्ट्रेलिया भ्रमणका क्रममा खेलाडीहरूको हर्कतका कारण ईसीबीले मध्यरातमा होटल फर्किसक्नुपर्ने कडा नियम लगाएको थियो। यस्तो अवस्थामा पुनः अर्को घटना सार्वजनिक हुनुले बोर्डलाई निकै लज्जित बनाएको छ।
यसअघि पनि उपकप्तान ह्यारी ब्रुक एक बाउन्सरसँगको विवादमा परेर जरिवाना र सचेत गराइएका थिए भने ज्याकब बेथेललाई पनि चेतावनी दिइएको थियो। त्यस्तै बेन डकेट शृङ्खलाका बिचमा मदिरा पिएर लठ्ठ भएको भिडियो सार्वजनिक भएको थियो। ब्रुक टोलीका टेस्ट उपकप्तान भएका कारण स्टोक्स टोलीमा नहुँदा उनले नै दोस्रो टेस्टमा टोलीको नेतृत्व गर्ने सम्भावना छ।
कप्तान स्टोक्सले गत वर्ष मात्र आफूले मदिरा सेवन गर्न छाडेको खुलासा गरेका थिए। तर आइतबार खेल जितेपछि आयोजित पत्रकार सम्मेलनमा उनले टोलीका साथीहरूसँग ड्रेसिङ रुममा ‘एक उत्कृष्ट बियर’ पिउन आतुर रहेको बताएका थिए।
स्टोक्सको आफ्नै खेल जीवन पनि अनुशासनका अनेकौँ विवादहरूले भरिएको छ। सन् २०१७ मा ब्रिस्टोलमा एक एकदिवसीय खेलपछि उनी राति सडकमा झगडा गर्दा पक्राउ परेका थिए। पछि अदालतबाट सफाइ पाए पनि खेलको साख गिराएको भन्दै ईसीबीले उनलाई जरिवाना र प्रतिबन्ध लगाएको थियो।
विगतका विवादहरूपछि प्रशिक्षक ब्रेन्डन म्याकुलमले आफूले टोलीलाई जथाभाबी गर्न नदिएको प्रस्टीकरण दिएका थिए। उनले सन् २०२२ मा प्रशिक्षक नियुक्त हुँदा खेलाडीहरूलाई दिएको सल्लाह स्मरण गर्दै भनेका थिए, ‘मैले पहिलो दिन नै केटाहरूलाई पत्रिकाको पहिलो पानामा आउने खालका नराम्रा काम नगर्न र मध्यरातपछि कुनै पनि राम्रो काम हुँदैन भन्ने सचेत गराएको थिएँ।’
टोलीका प्रबन्ध निर्देशक रब कीले टोलीमा मदिराको कुलत नभए पनि दुई-तीन जना खेलाडीहरूले मौका पाउँदा मदिरा पिएर गैरजिम्मेवार व्यवहार देखाउने गरेको स्वीकार गरेका थिए। त्यसैले खेलाडीहरूलाई यस्ता प्रलोभनबाट टाढा राख्न टोलीमा कर्फ्युको व्यवस्था गरिएको र सामूहिक रूपमा राम्रो निर्णय लिन सिकाउने प्रयास भइरहेको उनले बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण