मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बेथिति

उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै

मङ्गलबार, २६ जेठ २०८३, ११ : ००
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • सर्लाहीका उखु किसानहरू खेतीका लागि मलको अभाव र चिनी उद्योगबाट समयमा भुक्तानी नपाउने समस्याले पीडित छन् ।
  • किसानहरूले चुनावका बेला नेताहरूले गरेको प्रतिबद्धता अनुसार समस्या समाधान नभएको गुनासो गरेका छन् ।
  • कृषि ज्ञान केन्द्र सर्लाहीले पनि जिल्लामा मल अभाव रहेको स्वीकार गर्दै माग अनुसार मल उपलब्ध गराउन नसकिएको जनाएको छ ।

जनकपुरधाम । सर्लाहीको धनकौल गाउँपालिका, हटकटवा गाउँका ६० वर्षीय किसान रामदेव कुशवाहा उखु खेती गर्दै आएका छन् । खेतीको समयमा आवश्यक मलखाद नपाउँदा र उत्पादन बेचिसकेपछि पनि समयमा भुक्तानी नपाउँदा उनी निराश छन् ।

उखु राेप्ने बेलामा पनि मलको अभाव थियो, अहिले गोडमेल गर्ने समयमा पनि मल पाउन नसकेको उनले गुनासो पोखे ।

रामदेवजस्तै सर्लाहीका अधिकांश उखु किसान यतिबेला मल अभाव र चिनी उद्योगबाट समयमै भुक्तानी नपाउने समस्याले पीडित छन् । खेतीको लागत बढ्दै गएको छ, तर किसानले आवश्यक सेवा–सुविधा त परै जावस्, बेचेको उखुको मूल्यसमेत समयमै पाउन सकेका छैनन् । यसले उनीहरूको चिन्ता थप बढाएको छ ।

नेपालमा सबैभन्दा बढी उखु खेती हुने जिल्लामध्ये सर्लाही प्रमुख मानिन्छ । जिल्लाका धनकौल गाउँपालिका, बसबरिया गाउँपालिका, रामनगर गाउँपालिका, गोडैता नगरपालिका, बलरा नगरपालिका लगायतका क्षेत्रमा करिब ९५ प्रतिशत किसानले उखु खेती गर्दै आएका छन् । उखु खेतीसँग जोडिएका समस्या भने वर्षौंदेखि जस्ताको तस्तै छन् ।

उखु किसानले लामो समयदेखि मल अभाव, सिँचाइ समस्या, उचित मूल्य नपाउने अवस्था र उद्योगबाट ढिलो भुक्तानीको समस्या झेलिरहेका छन् । चुनावका बेला नेताहरूले किसानका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउने गरे पनि व्यवहारमा त्यस्तो परिवर्तन नदेखिएको किसानहरूको गुनासो छ ।

धनकौलका किसान रामदेव कुशवाहाले भने, 'हामी किसान मारमा छौँ । समयमा उखु रोप्दा मल पाउँदैनौँ । उखु बिक्री गरेपछि मिलवालाले समयमा पैसा दिँदैन ।'

उनका अनुसार खेतीको सबैभन्दा महत्त्वपूर्ण समयमा किसानले आवश्यक मात्रामा मल पाउन सकेका छैनन् । यसले उत्पादनमा प्रत्यक्ष असर पार्ने उनको भनाइ छ ।

गोडैता नगरपालिकाका किसान रामविलास यादवको पीडा पनि उस्तै छ । 'हाम्रा क्षेत्रका सांसद अमरेश सिंहले चुनावका बेला किसानका लागि समयमा मलको व्यवस्था गर्ने भन्नुभएको थियो, तर अहिले पनि हामीले चाहेजति मल पाएका छैनौँ । बजारमा मल पाइन्छ, तर कालोबजारीमार्फत । १ हजार २ सयदेखि १ हजार ८ सय रुपैयाँसम्म तिर्नुपर्छ । भारतबाट ल्याउन पनि दिइँदैन । सरकारले समयमा दिन पनि सक्दैन । यस्तो अवस्थामा राम्रो उत्पादन कसरी हुन्छ ?' उनले भने ।

किसानहरू बाध्य भएर महँगो मूल्यमा मल खरिद गर्नुपर्ने अवस्थामा छन् । सबै किसानले त्यो मूल्य तिर्न नसक्दा उत्पादनमा असर परेको छ ।

ukhu

बलरा नगरपालिकाका किसान हरिभूषण सिंहले अहिलेको मल वितरण प्रणालीप्रति असन्तुष्टि व्यक्त गरे । उनले भने, 'पहिला डिपो नहुँदा पनि समयमा मल पाइन्थ्यो । अहिले डिपोको व्यवस्था भएपछि झन् समस्या भएको छ । केही व्यक्तिले प्रशस्त मल पाउँछन्, सामान्य किसानले भने लाइन बस्दा पनि पाउँदैनन् । राम्रो उखु उत्पादन नभए उचित मूल्य पनि पाइँदैन । उखु खेती सङ्कटमा छ ।'

सिंहले चिनी उद्योगबाट समयमै भुक्तानी नपाउनु अर्को समस्या रहेको बताए । 'हामी ऋण लिएर खेती गर्छौं । उखु बिक्री गरेपछि पैसा आउँछ भन्ने आशा हुन्छ, तर उद्योगले समयमा भुक्तानी नगर्दा साहुको ऋण तिर्न पनि समस्या हुन्छ,' उनले भने ।

रामनगर गाउँपालिका–२ का किसान सिकिन्दर महतोका अनुसार खेतीको मुख्य समयमा नै रासायनिक मलको अभाव हुनु किसानका लागि सबैभन्दा ठुलो समस्या बनेको छ । 'समयमा मल नपाउँदा उखुको उत्पादन घट्छ । मलको अभावले हामी धेरै चिन्तित छौँ,' उनले भने ।

उखुबारी हराभरा बनाउने सपना बोकेकी उनकी आमा रामसकिला देवी पनि मल अभावले निराश छिन् । उनले भनिन्, 'हाम्रो चाहना राम्रो उखु उत्पादन होस्, राम्रो दाम पाओस् भन्ने हो, तर मलको अभावले किसान सधैँ चिन्तामा छन् ।'

स्थानीय तहका जनप्रतिनिधिहरू पनि किसानको समस्याबाट बेखबर छैनन् । धनकौल गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर सहनीले भने, 'म पनि किसान हुँ । मलको समस्या छ, यो सत्य हो । यसको समाधान स्थानीय तहले मात्र गर्न सक्दैन । केन्द्र सरकार र प्रदेश सरकारले यसलाई गम्भीर रूपमा लिनुपर्छ ।'

उनका अनुसार किसानलाई सबैभन्दा बढी असर पारिरहेको विषय नै मल अभाव हो ।

यता कृषि ज्ञान केन्द्र सर्लाहीले पनि जिल्लामा मल अभाव रहेको स्वीकार गरेको छ। रातोपाटीसँग कुरा गर्दै कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले मल आपूर्तिमा समस्या रहेको बताए ।

उनले भने, 'मलको अभाव छ । अहिले धानको बीउ छर्ने समय हो । किसानलाई आवश्यक मात्रामा मल उपलब्ध गराउन सकिरहेका छैनौँ । उखु किसानलाई पनि मागअनुसार मल दिन सकेका छैनौँ । जति मल आउँछ, त्यसैलाई सबै किसानमा बाँड्नुपर्ने अवस्था छ ।'

धनकौल–२ का सितल सहनीले नीलगाई लगायतका वन्यजन्तुले अन्य बाली नष्ट गर्ने भएकाले उखु खेती गर्दै आएको बताए । 'उखु खेती नै परिवारको मुख्य आम्दानीको स्रोत हो, तर खेतीसँग जोडिएका विभिन्न समस्याले किसानलाई निरुत्साहित बनाएको छ,' उनले भने ।

मधेस प्रदेशका सर्लाही, महोत्तरी, बारा र रौतहट जिल्लामा ठुलो क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । विशेष गरी सर्लाहीलाई उखु उत्पादनको प्रमुख जिल्लाका रूपमा चिनिन्छ, तर उत्पादन बढाउने कुरा त परै जाओस्, अहिले किसानहरू खेती जोगाउने चिन्तामा छन् ।

किसानहरूका अनुसार मल, बीउ, सिँचाइ र उचित मूल्यको समस्या वर्षौंदेखि समाधान हुन सकेको छैन । सरकार परिवर्तन भए, नीति परिवर्तन भए, तर किसानको अवस्था भने खासै परिवर्तन भएको देखिँदैन ।

उखु किसानहरूले समयमै मल उपलब्ध गराउने व्यवस्था, चिनी उद्योगबाट समयमा भुक्तानी, उत्पादनको उचित मूल्य निर्धारण र कृषि क्षेत्रका समस्या समाधानका लागि दीर्घकालीन नीति माग गरेका छन् ।

कृषि क्षेत्रमा देखिएको वर्तमान समस्याले उखु खेतीप्रतिको आकर्षण घट्दै जाने खतरा पनि बढाएको छ । लागत बढ्ने तर आम्दानी सुनिश्चित नहुने अवस्था रहिरहेमा किसान अन्य विकल्प खोज्न बाध्य हुने कृषि विज्ञ हृदयनारायण ठाकुरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप