मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
विवाद

कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?

मङ्गलबार, २६ जेठ २०८३, ११ : ३२
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • मेला तथा महोत्सवका आयोजक र कलाकारबीच पछिल्लो समय विवादका घटना बढ्दै गएका छन्, जसले दुवै पक्षलाई असर पुर्याएको छ ।
  • गायिका एलिना चौहानले आयोजक डिल्ली परियारमाथि 'ठग' भन्दै सामाजिक सञ्जालमा आरोप लगाएपछि यो विषय पुनः चर्चामा आएको छ ।
  • कलाकार र आयोजकबीचको विवादलाई कला क्षेत्रको पूर्ण व्यावसायिक नहुनु, परिस्थितिजन्य अवस्था, स्रोत साधनको अभाव र दुवै पक्षको कमजोरीका कारणले सतहमा आउने गरेको टिप्पणी छ ।

काठमाडौँ । मेला–महोत्सवका आयोजक र कलाकारबिच अन्योन्याश्रित सम्बन्ध रहन्छ । मेला–महोत्सव आयोजकलाई कार्यक्रमको रौनक बढाउन कलाकारको खाँचो हुन्छ भने कलाकारलाई पनि त्यस्ता आयोजकले आयोजना गर्ने कार्यक्रममा सहभागी भएबापत राम्रो पारिश्रमिक मिल्छ ।

पछिल्लो समय आयोजक र कलाकारबिच विवादका घटना बढ्न थालेका छन् । सामाजिक सञ्जालबाट एक–अर्कामाथि आरोप–प्रत्यारोप गरिरहेका हुन्छन् ।

हालै चर्चित गायिका एलिना चौहानले सामाजिक सञ्जालमा मेला आयोजक डिल्ली परियारको तस्बिरसहित ‘यो रुकुमको ठगबाट सबै सचेत रहनुहोस्’ भन्दै पोष्ट गरेपछि यो विषय पुनः चर्चामा आयो । उक्त आरोपको खण्डन गर्दै आयोजक परियारले भिडियो सन्देशमार्फत एलिनाको दाबी निराधार भएको र आफूले विगत ३ वर्षदेखि सधैँ सम्मानजनक पारिश्रमिक दिँदै आएको बताए ।

सम्झौता बमोजिमका सर्त पूरा गर्दागर्दै पनि एलिनाले अनावश्यक माग राखेको बताउँदै उनले कानुनी उपचारको चेतावनीसमेत दिएका छन् ।

केही अघि अमेरिका टुरमा गएकी गायिका कला लम्साल पनि यस्तै घटनामा तानिएकी थिइन् । ‘अब गाउँछ अमेरिका’ टुर तीन महिनाका लागि भनिए पनि आफू चाँडै फर्किनुपरेको भन्दै कलाले आयोजकमाथि दोषारोपण गरेकी थिइन् । आयोजकले विभिन्न प्रपञ्च रचेर आफूलाई पूर्वनिर्धारित समयभन्दा अघि नै नेपाल फर्काएको उनको आरोप थियो । कलाको केसमा सुरुमा आयोजककै बचाउ गरेकी गायिका एलिना चौहानले नेपाल फर्किएपछि भने आयोजकमाथि दुर्व्यवहार र अपमानको गम्भीर आरोप लगाएकी थिइन् ।

यी घटना त केही उदाहरण मात्र हुन् । बेलाबेलामा कलाकारले दुःख दिएको, पारिश्रमिक लिएर समयमा प्रस्तुति नदिएको, अनावश्यक सेवा–सुविधा र अतिरिक्त साथीभाइको खर्च ब्यहोर्न लगाएको गुनासो आयोजकका तर्फबाट आउने गरेको छ भने सम्झौता अनुरूपको पारिश्रमिक नदिएको, दुर्व्यवहार गरेको आरोप कलाकारले लगाउँदै आएका छन् ।

badri-pangeni

आखिर कलाकार र आयोजकबिच किन भइरहन्छ बारम्बार लफडा ? वरिष्ठ लोक गायक बद्री पंगेनी नेपाली कला क्षेत्र अझै पनि पूर्ण रूपमा व्यावसायिक नभएकाले यस्ता घटना भइरहने गरेको बताउँछन् । दुवै पक्षका कमजोरीका कारण यस्ता विवाद सतहमा आउने गरेको उनको भनाइ छ ।

‘जबसम्म हामीले नेपाली कला क्षेत्रलाई पूर्ण रूपमा व्यावसायिक बनाउन सक्दैनौँ, तबसम्म यस्ता समस्या आइरहन्छन्’, पंगेनीले भने, ‘यसका लागि केही नियम र कानुन बनाउनुपर्ने आवश्यकता छ ।’

एलिना र मेला आयोजकको अहिलेको विवादबारे आफूलाई गहिरो जानकारी नभए पनि दुवै पक्षले आ–आफ्नो गल्ती स्वीकार गरेर मिल्नु नै उपयुक्त हुने पंगेनी बताउँछन् ।

jyoti-magar

गायिका ज्योति मगर भने यस्ता विवादलाई देशको समग्र आर्थिक परिस्थितिसँग जोडेर हेर्नुपर्ने बताउँछिन् । कतिपय अवस्थामा खराब नियतले भन्दा पनि स्रोत र साधनको अभावका कारण परिस्थिति बिग्रने उनको अनुभव छ ।

‘म त यस्ता समस्याहरूसँग अभ्यस्त भइसकेकी छु । यो विवाद भनेको घरको कलहजस्तै हो, जहाँ कहिलेकाहीँ मनमुटाब भए पनि अन्त्यमा फेरि मिल्नु नै पर्छ’, ज्योतिले भनिन् ।

सधैँ सबै कुरा सामाजिक सञ्जालमा ल्याउनु उपयुक्त नहुने उनको तर्क छ । ‘आयोजक, कलाकार, प्राविधिक र दर्शक सबैका आ–आफ्नै बाध्यता हुन्छन्’, उनले भनिन्, ‘जहाँसम्म मिल्छ, त्यहाँ सम्झौता गर्ने र व्यवहार मिलाएर अघि बढ्नु नै उत्तम विकल्प हो ।’

rajkumar

विगत १० वर्षदेखि मेला महोत्सव आयोजना गर्दै आएका कावासोतीका राजकुमार सिग्देल कलाकार र आयोजकको विवाद सामान्य भएको बताउँछन् । विवादहरू समाधान नै गर्न नसकिने खालका ठुला नहुने उनको भनाइ छ ।

‘कहिलेकाहीँ प्राबिधिक र आर्थिक कारणका असमझदारीले पनि ठुलो रूप लिने गरेको देखिन्छ’, सिग्देलले भने, ‘मेला महोत्सव आयोजना गर्दा सोचेजस्तो दर्शक नआउँदा आयोजकलाई नोक्सानी हुन्छ । जब मेलामा १००–२०० जनामात्र दर्शक आउँछन्, आयोजकलाई ठुलो नोक्सानी हुन्छ । त्यो अवस्थामा कलाकारलाई तोकिएको पारिश्रमिक तुरुन्तै दिन गाह्रो पर्छ ।’

यस्तो अवस्थामा कलाकारले पनि व्यावहारिक मर्का बुझिदिनुपर्ने उनको धारणा छ । ‘हामीले वर्षौँदेखि कलाकारहरूसँग सहकार्य गर्दै आएका छौँ । कतिपय अवस्थामा बजेट अभाव हुँदा पछि दिने गरी आपसी समझदारीमा काम गरेका उदाहरणहरू पनि छन्’, उनले भने, ‘कलाकारले थोरै व्यावहारिक पक्ष बुझिदिने हो भने धेरै असमझदारीहरू आफैँ समाधान हुन्छन् ।’

  • कमजोरी कसको त ?

मेला–महोत्सव कला प्रवर्द्धनका अलावा कलाकारको आम्दानीको प्रमुख माध्यम पनि हो, तर पछिल्ला वर्षहरूमा कलाकार र आयोजकबिचको विवादले दुवै पक्षलाई असर पुर्‍याएको छ । दुवै पक्ष बिचको विवादले दर्शकमा समेत नराम्रो सन्देश जान थालेको छ ।

२०७५ सालदेखि गण्डकी क्षेत्रमा मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गर्दै आएका सुरताल इभेन्ट एन्ड मल्टिमिडिया प्रा.लिका व्यवस्थापक प्रशान्त सुनार विवादको मुख्य कारण परिस्थितिजन्य अवस्था र व्यावहारिक सोचको अभाव भएको बताउँछन् ।

prashant

‘विवाद के कारणले, कोसँग र कसरी सिर्जना भयो भन्ने कुराले नै यसको अर्थ राख्छ । यसलाई कुनै एक निश्चित कोणबाट मात्र हेर्न मिल्दैन’, सुनारले भने, ‘कमजोरीको कुरा गर्दा यो दुवै तर्फबाट हुन सक्छ ।’

कतिपय कलाकारमा व्यावहारिक कुराहरू नबुझ्ने प्रवृत्ति र घमण्ड हुने कारणले पनि विवाद निम्तिएको अनुभव गरेका उनले कतिपय आयोजक पनि कलाकारलाई बोलाएर प्रस्तुति गराएपछि पारिश्रमिक नदिइकन फर्काउने खालका भएको कारण विवाद सिर्जना हुने गरेको बताए ।

‘मेला महोत्सवहरू १० देखि १२ दिनसम्म चल्ने भएकाले आयोजकले पूरै अवधिको खर्च र व्यवस्थापन धान्नुपर्ने हुन्छ, तर धेरैजसो कलाकार दर्शक बढी हुने अन्तिम शनिबारमात्र प्रस्तुति दिन खोज्छन्’,  सुनारले भने, ‘कलाकारहरूले मैले गाएको दिनमात्र दर्शक आए पुग्छ भन्ने सोच राख्नुभएन ।’

मेला सुरुदेखि अन्तिमसम्म कस्तो चल्यो, त्यसलाई दुवै पक्षले मनन गर्दै सधैँभरि सहकार्य गर्नका लागि दुवै पक्ष उत्तिकै जिम्मेवार भए यस्ता विवाद अन्त्य हुने उनको धारणा छ ।

लामो समयदेखि स्टेज कार्यक्रमहरूलाई नै आफ्नो जीवनयापनको मुख्य आधार बनाउँदै आएकी लोक दोहोरी गायिका भूमिका गिरीको अनुभव भने अलि फरक छ । विगत १०–१२ वर्षदेखि स्टेज कार्यक्रम गर्दै आएकी गिरी आफूले अहिलेसम्म अप्रिय अनुभव गर्नु नपरेको बताउँछिन् ।

bhumika-giri

तर, उनी यस क्षेत्रभित्र रहेका आयोजक र कलाकार बिचको विवादका समस्याहरूलाई स्वीकार गर्छिन् ।

‘विवाद भन्ने कुरा व्यक्ति विशेषको व्यक्तित्व, आचरण र व्यवहारमा बढी निर्भर गर्छ’, गिरीले भनिन्, ‘कतिपय ठाउँमा कलाकारको पनि कमजोरी हुन्छ भने कतिपय ठाउँमा आयोजककै कमजोरी हुन्छ । केही आयोजक यस्ता पनि हुन्छन् जो कुरा एउटा गर्छन्, तर काम अर्कै गर्छन् ।’

उनका अनुसार सम्झौता (डिल) पालना नहुँदा नै असमझदारीहरू सिर्जना हुने गर्छन् । ‘म आफू एकदम साधारण र सदाबहार कलाकार हुँ, हाम्रो बजेट पनि व्यावहारिक हुन्छ । मलाई समस्या परेन भन्दैमा अरू कसैलाई पनि केही भएको छैन भन्न मिल्दैन’, उनले भनिन्, ‘बाहिर विवाद आएको छ भने पक्कै पनि केही न केही समस्या र कसै न कसैको कमजोरी भएको हुनुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप