मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपाको बागमती प्रदेश हेटौँडा अधिवेशन सुरु, सभापतिमा को-को छन् दाबेदार ?

मङ्गलबार, २६ जेठ २०८३, ११ : ४०
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हेटौँडामा बागमती प्रदेशको पहिलो अधिवेशन सुरु गरेको छ ।
  • दुई दिन चल्ने यस अधिवेशनले प्रदेश सङ्गठनको नयाँ नेतृत्व चयन गर्नेछ र आगामी राष्ट्रिय महाधिवेशनका लागि मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।
  • सभापति पदका लागि अच्युतम लामिछाने, उत्सव अर्याल र कृष्णमान श्रेष्ठ दाबेदार छन् भने ६५ सदस्यीय प्रदेश समिति गठन गरिनेछ ।

हेटौँडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रदेशस्तरीय अधिवेशनको सुरुआत बागमती प्रदेशबाट सुरु गरेको छ । हेटौँडामा आजदेखि बागमती प्रदेशको पहिलो अधिवेशन गर्दै प्रदेशस्तरीय अधिवेशनको सुरुवात गरेको हो ।

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले प्रदेश सङ्गठनको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सङ्गठनात्मक मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । हेटौँडा–१ स्थित हिमालयन दरबारमा हुने अधिवेशनको उद्घाटन पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले गर्ने भएका छन्  । 

यसअघि सभापति रवि लामिछानेले अधिवेशनको उद्घाटन गर्ने भनिएको थियो । लामिछाने नआउने भएपछि महामन्त्री बुर्लाकोटीले अधिवेशन उद्घाटन गर्ने भएका हुन् । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट छनोट भएका करिब १ हजार ५०० प्रतिनिधिको सहभागिता रहने रास्वपाले जनाएको छ ।

रास्वपा बागमती प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेका अनुसार प्रदेशका १ हजार १२१ वडामध्ये करिब ९ सय वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने ११९ वटै स्थानीय तहमा पार्टीको सङ्गठन विस्तार भइसकेको छ ।

'प्रदेश राजधानी हेटौँडामा पहिलो प्रदेश अधिवेशन आयोजना गर्न पाउनु हाम्रो लागि महत्वपूर्ण अवसर हो,' उनले भने, 'अधिवेशनले संगठनलाई थप मजबुत बनाउने र आगामी महाधिवेशनका लागि स्पष्ट दिशा तय गर्नेछ ।

  • नेतृत्व चयनमा चुनावी प्रतिस्पर्धाको सङ्केत

अधिवेशनको मुख्य आकर्षण नयाँ प्रदेश नेतृत्व चयन हुनेछ । नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास भए पनि सभापति पदसहित विभिन्न पदमा आकाङ्क्षी देखिएकाले निर्वाचन हुने सम्भावना बलियो बनेको छ ।

हालका प्रदेश सभापति अच्युतम लामिछाने पुनः सोही पदमा दोहोरिने तयारीमा छन् । उनले प्रदेश नेतृत्वमै निरन्तरता दिने इच्छा व्यक्त गरेका छन् ।

'अहिले मेरो प्राथमिकता प्रदेश संगठनलाई अझ सुदृढ बनाउनु हो । केन्द्रीय समितिमा जाने सोच तत्कालका लागि छैन,' उनले भने, 'प्रदेश सभापतिमा मेरो दाबी छ ।'

सभापति पदका अर्का दाबेदार हालका प्रदेश प्रवक्ता उत्सव अर्याल छन् भने धादिङका कृष्णमान श्रेष्ठको पनि सभापतिमा दाबी रहेको बुझिएको छ । सभापतिका आकाङ्क्षी अर्यालले सभापतिमा आफ्नो दावेदारी रहेको बताए । उनले वर्तमान सभापति अच्युतम अर्याल संसदीय जिम्मेवारीमा रहेकाले आफूले प्रदेश सभापतिमा दाबी गरेको स्पष्ट पारे ।

'वर्तमान सभापति संसदीय जिम्मेवारीमा पनि हुनुहुन्छ । प्रदेशमा पार्टीको सङ्गठन थप मजबुत र सुदृढ बनाउन मेरो सभापतिमा दाबी हो,' उनले भने । पार्टीभित्र दुवै पक्षले आफ्ना–आफ्ना समूह बनाएर निर्वाचनमा जाने तयारी गरिरहेको स्रोतको दाबी छ ।

उपसभापति पदमा स्वास्थ्य क्षेत्रसँग आबद्ध डा. रमेश ढकाल र मेनुका ठकुरी आकाङ्क्षी देखिएका छन् । यस्तै वर्तमान महामन्त्री सुरेन्द्र भट्ट पुनः सोही पदमा दोहोरिने तयारीमा छन् ।

  • ६५ सदस्यीय प्रदेश समिति चयन हुने

रास्वपाको विधानअनुसार बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ । समितिमा एक–एक जना सभापति, उपसभापति र महामन्त्री रहने व्यवस्था छ भने दुई जना सहमहामन्त्री रहनेछन् । सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ ।

त्यसैगरी कोषाध्यक्ष र प्रवक्तासहित पदाधिकारी चयन गरिनेछ । विधानअनुसार निर्वाचन भएमा दुई चरणमा मतदान हुनेछ । पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरूमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ ।

रास्वपाले बागमती प्रदेशका १३ मध्ये १२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । सिन्धुपाल्चोक जिल्ला अधिवेशन भने स्थगित भएको छ । जिल्ला अधिवेशनबाट छनोट भएका प्रतिनिधिहरूले प्रदेश नेतृत्व चयनमा मतदान गर्नेछन् ।

रास्वपा मकवानपुरका जिल्ला सभापति सञ्जीव पाठकका अनुसार अधिवेशनमा पार्टीका केन्द्रीय पदाधिकारी, सांसद, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ताको व्यापक सहभागिता रहनेछ ।

उनका अनुसार अधिवेशनमा सङ्गठन विस्तार, सुशासन, भ्रष्टाचार नियन्त्रण, जनसरोकारका मुद्दा तथा आगामी राजनीतिक रणनीतिबारे समेत विस्तृत छलफल हुनेछ ।

रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप