मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पर्यटककाे आकर्षणकाे केन्द्र बन्दै ऐना पहरा

मङ्गलबार, २६ जेठ २०८३, १४ : ३७
मङ्गलबार, २६ जेठ २०८३

तनहुँ । तनहुँको ऐना पहरा पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

पहराको निर्माणकार्य सम्पन्न भएपछि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण केन्द्र बन्दै गएको हो । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको सो पहरा पोखरा–मुग्लिन सडकखण्डमा अवस्थित छ ।

हालसम्म ७८ हजार ६३३ जनाले टिकट काटेर ऐना पहरा अवलोकन गरिसकेका छन् । अवलोकनकर्ताबाट रु ४५ लाख २२ हजार ९९० आम्दानी भइसकेको छ । पहरा निर्माण गर्न पालिकाले रु एक करोड ४० लाख लगानी गरेको गाउँपालिकाले जनाएको छ ।

एक समय झाडी र चट्टानले भरिएको स्थान अहिले आकर्षक पर्यटकीय गन्तव्यमा रुपान्तरण भएको छ । यहाँ निर्माण गरिएका जलपरी, बालउद्यान, हात्तीको मूर्ति, चट्टानमा कुँदिएका विभिन्न देवीदेवता, मातृत्व झल्काउने आकृति तथा हिमाली सौन्दर्य प्रतिविम्बित गर्ने कलात्मक संरचनाले आगन्तुकको ध्यान खिच्ने गरेका छन् ।

ऐना पहराको मुख्य आकर्षणमध्ये झरना पनि एक हो । चट्टानबाट झर्ने पानीको दृश्य, वरपरको प्राकृतिक वातावरण र कलात्मक संरचनाको संयोजनले पर्यटकलाई लोभ्याउने गरेको बताइन्छ । गाउँपालिकाले यस स्थानमा स्काई साइक्लिनिङ, सिसाको पुल र सर्वसाधारणका लागि शौचालयसमेत निर्माण गरिएको छ ।

त्यस्तै यहाँ झरनामा नुहाउन, थकान मेटाउन, टिकटक बनाउन सर्वसाधारणको भिड लाग्ने गरेको छ । पर्यटन क्षेत्रको टिकट काउन्टरमा कार्यरत कर्मचारी सुशीला गुरुङले हालसम्म ५२ हजार ८१२ नेपाली नागरिक, १० हजार १०३ विद्यार्थी तथा १५ हजार ७६८ जना विदेशी पर्यटकले टिकट काटेर अवलोकन गरेका बताए । अवलोकन शुल्क नेपालीका लागि रु ५०, विद्यार्थी रु ३० तथा विदेशी पर्यटकका लागि रु १०० निर्धारण गरिएको छ ।

पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा रोजगारी सृजनामा योगदान पुगेको छ । हाल सात जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । स्थानीय व्यवसाय, होटल तथा रेष्टुरेन्टमा समेत पर्यटक आगमनले सकारात्मक प्रभाव देखिन थालेको छ ।

स्थानीय सरकारको पहल, प्राकृतिक सौन्दर्यको संरक्षण र कलात्मक पूर्वाधार विकासको संयोजनले ऐना पहरा छोटो समयमै सफल पर्यटकीय गन्तव्यका रुपमा विकास भएको स्थानीयवासीहरू बताउँछन् । पहारा पर्यटकीयस्थलका रूपमा विकास भएसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा सकरात्मक प्रभाव देखिन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप