सुदूरपश्चिममा एमालेले किन फेर्न सकेन मन्त्री ?
सारांश
- सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेभित्र मन्त्री फेर्ने विषयलाई लिएर आन्तरिक कलह भएको छ ।
- कांग्रेसले मन्त्री फेर्दा एमाले भने आन्तरिक किचलोमा अल्झिएपछि मन्त्रीहरूको शपथ रोकियो ।
- एमालेका कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गर्दै दलका नेताविरुद्ध नाराबाजी गरेका छन् ।
धनगढी । सुदूरपश्चिम प्रदेशका मन्त्री फेर्ने विषयलाई लिएर नेकपा एमालेभित्र भाँडभैलो भएको छ । सोमबार सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना सबै मन्त्री फेर्दा सत्ता साझेदार दल नेकपा एमाले भने आन्तरिक कलहमा अल्झिन पुग्यो ।
दुवै दलका मन्त्री एकसाथ फेर्ने तयारी भए पनि अन्तिम समयमा एमालेका मन्त्रीहरूको शपथ रोकियो । एमालेका सुदूरपश्चिम प्रदेश सभा सदस्यहरू र कार्यकर्ताहरूले आफ्नै दलका नेताविरुद्ध नाराबाजी गर्दै पार्टी कार्यालयमा तालाबन्दी समेत गरे ।
यता नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएको आन्तरिक विवादलाई मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रीमण्डल पुनर्गठनमार्फत साम्य पार्ने प्रयास गरेका छन् । सोमबार सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसका तर्फबाट तीन नयाँ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका छन् ।
आर्थिक मामिलामन्त्री विक्रम सिंह धामी, सामाजिक विकासमन्त्री बेलबहादुर रानामगर र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर रावलले शपथ लिएर जिम्मेवारी सम्हालेका हुन् । त्यसैगरी, मधु भारती र जुना दानीले राज्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण समारोहपछि नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गर्दै अब पार्टीभित्रको विवाद समाधान हुने र सरकारले गति लिने विश्वास व्यक्त गरेका छन् । नयाँ मन्त्रीका समर्थक र कार्यकर्ताहरूले खुसीयाली साटासाट गरेका थिए ।
कांग्रेसमा खुसीयाली छाउँदा नेकपा एमालेमा भने सोमबारको दिन तनावपूर्ण रह्यो । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री शाह र एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावललाई फोन गरेर हाल सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउन र नयाँ टोली पठाउन निर्देशन दिएका थिए ।

ओलीको निर्देशन अनुसार चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी, सन्तोषकुमारी शर्मा थापा र जानकी ऐर बमलाई मन्त्री बनाउने तयारी गरिएको थियो । यो खबर सार्वजनिक हुनासाथ उनीहरूलाई बधाई दिनेको ओइरो लागेको थियो । सोमबार दिउँसोसम्म मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारीसमेत भइसकेको थियो ।
सोमबार अपराह्न ४ बजेतिर अचानक निर्णय बदलियो । एमाले अध्यक्ष ओलीको सचिवालयबाट दलका नेता राजेन्द्र रावललाई पुनः फोन आयो । फोनमा अहिले बजेटको बेला भएकाले मन्त्रीहरू यथावत् राख्नु भन्ने नयाँ निर्देशन आएपछि मन्त्री बन्न ठिक्क परेका नेताहरू खिस्स परे । अध्यक्ष ओलीको यो निर्णयपछि एमालेभित्र किचलो भयो ।
मन्त्री बन्ने पक्का भइसकेका नेताहरूलाई रोकेपछि कार्यकर्ताहरू आक्रोशित बने । संसदीय दलका नेता राजेन्द्र सिंह रावलले एकलौटी निर्णय गरेको र केन्द्रमा गलत रिपोर्टिङ गरेको भन्दै उनीविरुद्ध नाराबाजी भयो । आक्रोशित कार्यकर्ताहरूले दलको कार्यालयबाहिर रावलको नेमप्लेट समेत तोडफोड गरे ।
_O29wZHSNQs.png)
धनगढीस्थित नेकपा एमालेको प्रदेश पार्टी कार्यालयमा समेत तालाबन्दी गरियो । मन्त्रीमा प्रस्तावित भएकाहरू र उनीहरूका समर्थकहरूले यो कदमलाई आफ्नो अपमान ठानेका छन् । स्रोतका अनुसार पार्टीभित्रको एउटा गुट नयाँ मन्त्री पठाउन चाहने र अर्को गुट पुरानालाई नै टिकाइराख्न चाहने हुँदा टकराब बढेर एमाले सुदूरपश्चिम अहिले अस्तव्यस्त बनेको छ ।
एमाले स्रोतका अनुसार, प्रदेश इन्चार्ज दामोदर भण्डारी र दलका नेता राजेन्द्र रावल लगायतका केही नेताहरू पुराना मन्त्रीहरूलाई नै निरन्तरता दिने पक्षमा थिए । उनीहरूले महासचिव शंकर पोखरेल लगायतका नेताहरूलाई सक्रिय बनाएर अन्तिम समयमा अध्यक्ष ओलीलाई आफ्नो बोली फेर्न बाध्य पारेको असन्तुष्ट पक्षको आरोप छ । ‘हामीलाई मन्त्री बन्दै हुनुहुन्छ भनेर बधाई खाइसकेपछि अन्तिममा आएर यसरी अपमानित गरियो,’ मन्त्रीको चर्चामा रहेका एक सासंदले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
-
मन्त्री पुनले गरे पदभार ग्रहण
-
शोधनान्तर स्थिति साढे ८ खर्ब र चालु खाता झण्डै ८ खर्बले बचतमा
-
महावीरले तोके आफ्नो कार्यकाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण