मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप

मङ्गलबार, २६ जेठ २०८३, १५ : ३७
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • वेस्ट ह्यामका सह-मालिक डेभिड सुलिभानमाथि धेरै महिलालाई यौन शोषण गरेको आरोप लागेको छ, जसमध्ये केही किशोरी अवस्थामा थिए।
  • बीबीसी प्यानोरमा र टाइम्सको अनुसन्धानले सात जना महिलाको आरोप उजागर गरेको हो, जसका घटनाहरू सन् १९८० को दशकदेखि विभिन्न समयसम्म घटेका छन्।
  • सुलिभानले सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् र अनुसन्धान सार्वजनिक हुनुअघि नै वेस्ट ह्यामको सह-अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

काठमाडाैँ । वेस्ट ह्याम युनाइटेडका सह–मालिक तथा अर्बपति व्यवसायी डेभिड सुलिभानमाथि दशकौँदेखि धेरै महिलालाई आफ्नो पद र  शक्ति दुरुपयोग गर्दै यौन शोषण गरेको आरोप लागेको छ । केही घटनामा उनीहरू किशोरी अवस्थामै रहेको दाबीसमेत गरिएको छ ।

बीबीसी प्यानोरमा र टाइम्सको संयुक्त अनुसन्धानले सात जना महिलाको आरोप उजागर गरेको हो, जसका घटनाहरू सन् १९८० को दशकदेखि विभिन्न समयसम्म घटेका छन् । ती सबै महिलाहरू त्यतिबेला किशोरी वा पुगनपुग २० वर्षको उमेरका थिए । उनीहरू सुलिभानका डेली स्पोर्ट र सन्डे स्पोर्ट पत्रिकामा काम खोज्दै आएका मोडेलहरू थिए ।

महिलाहरूले सुलिभानमाथि यौन शोषण गर्ने र नाजायज फाइदाको लागि दबाब दिने गरेको आरोप लगाएका छन् । उनीहरूले व्यावसायिक भेटघाटका क्रममा यौन सम्बन्धका लागि दबाब दिइएको, करियरमा अवसर दिने भन्दै यौन सम्पर्क वा मुख मैथुनका लागि बाध्य पारिएको दाबी गरेका छन् ।

एक महिलाले आफूले नचाहँदा–नचमहँदै पनि यौन सम्बन्धका लागि बाध्य पारेको बताएकी छन् ।

७७ वर्षीय सुलिभानले सबै आरोपलाई ‘पूर्ण रूपमा अस्वीकार’ गरेका छन् । उनले ती आरोपहरू दशकौँ पुराना र ‘पूर्ण रूपमा निराधार’ भएको दाबी गर्दै अस्वीकार गरेका हुन् ।

अनुसन्धान सार्वजनिक हुनुअघि नै उनले वेस्ट ह्यामको सह–अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो निजी जीवनसम्बन्धी आरोपहरू विरुद्ध कानुनी रूपमा लड्नेबारे सोचिरहेको बताएका छन् ।

अनुसन्धानले सुलिभानले सन् १९९० को दशकमा १६ वा १७ वर्षकी किशोरीसँग यौन सम्बन्धका लागि पैसा तिरेको स्वीकार गरेको तथ्य पनि देखाएको छ । त्यसबेला उनी ४० वर्षको हाराहारीमा थिए । सन् २००३ पछि मात्र १६ वा १७ वर्षका व्यक्तिसँग यौन सम्बन्धका लागि पैसा तिर्न कानुनी रूपमा अपराध मानिएको हो ।

सन् १९८० र ९० को दशकमा सुलिभान ग्ल्यामर मोडेलिङ उद्योगमा शक्तिशाली व्यक्ति मानिन्थे । फ्लोरेन्स (छद्म नाम) नामकी एक महिलाले सुलिभानले उनलाई आफ्नो घरमा भएको भेटमा यौन सम्बन्धका लागि दबाब दिएको बताएकी छन् ।

उनका अनुसार सुलिभानले उनलाई आफ्नो पत्रिकामा नियमित काम दिने भन्दै यौन सम्बन्धको प्रस्ताव राखेका थिए । उनले डर र दबाबका कारण आफूले नचाहँदा नचाहँदै पनि यौन सम्बन्ध भएको दाबी गरेकी छन् ।

सुलिभानका कानुनी प्रतिनिधिहरूले भने उनको दाबी ‘अपत्यारिलो’ भएको बताएका छन् ।

अन्य दुई महिलाले पनि आफ्नो करियर बिगारिदिने डरका कारण यौन सम्बन्धका लागि बाध्य भएको बताएका छन् । एक महिलाले सुलिभानले आफूलाई कोठाबाट बाहिर जान नदिएको र ढोका बन्द गरेको दाबी गरेकी छन् ।

धेरै महिलाहरूले डरका कारण आफ्नो पहिचान गोप्य राखेका छन् । बीबीसी र टाइम्सले केही प्रमाणहरू जस्तै डायरी, प्रहरी अभिलेख र परिवार तथा साथीहरूको बयानमार्फत विवरण पुष्टि गरेको जनाइएको छ ।

कम्तीमा आठ जना महिलाले प्रहरीलाई सुलिभानको व्यवहारबारे जानकारी दिएको पनि अनुसन्धानमा उल्लेख छ । तर उनीविरूद्ध कुनै आपराधिक मुद्दा दायर गरिएको छैन ।

एक महिलाले २०२३ मा एसेक्स प्रहरीमा उजुरी दिएकी थिइन्, तर प्रहरीले पर्याप्त प्रमाण नभएको भन्दै थप कारबाही नगर्ने निर्णय गरेको थियो ।

सुलिभान सन् २००८ मा पनि यौन हिंसा गरेको आरोपमा पक्राउ परेका थिए, तर उनीमाथि कुनै अभियोग लगाइएको थिएन ।

फुटबल नियामक निकायहरूले हाल यो विषयलाई नजिकबाट हेरिरहेका छन् । इङ्ग्ल्यान्डको फुटबल संघले यसअघि नै उनको बारेमा सुरक्षा सम्बन्धी अनुसन्धान गरेको जनाएको छ ।

वेस्ट ह्याम क्लबले आफूहरू बलियो सुरक्षा नीति पालना गर्ने बताउँदै व्यक्तिगत मुद्दामा टिप्पणी गर्न नसक्ने प्रतिक्रिया दिएको छ ।

सुलिभानले आफ्नो राजीनामा वक्तव्यमा आरोपहरू ‘झुटा’ भएको दोहोर्‍याउँदै आफूलाई मिडियाले गलत रूपमा चित्रण गरेको बताएका छन् । उनले बीबीसीविरूद्ध कानुनी कदम चाल्ने चेतावनीसमेत दिएका छन् ।

सुलिभान प्रकरणले फुटबल प्रशासन र क्लब स्वामित्वमा नैतिकता र पारदर्शिताबारे गम्भीर प्रश्न उठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप