मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...

मङ्गलबार, २६ जेठ २०८३, १६ : ३६
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • चीनको सियान सहर नजिकै एक पुरुषले ३२ तलाको भवनमा ३४औँ तलाको फ्ल्याट किनेको अनौठो ठगी प्रकरण सार्वजनिक भएको छ ।
  • शेन नाम गरेका व्यक्तिले २०१३ मा सस्तो मूल्यमा किनेको फ्ल्याटको सम्झौता अनुसार समयमा नपाएपछि ठगीमा परेको थाहा पाए ।
  • अदालतले आदेश जारी गर्दागर्दै पनि शेनले हालसम्म आफूले तिरेको पूर्ण रकम फिर्ता पाएका छैनन् ।

बेइजिङ । चीनको उत्तरपश्चिम शान्सी प्रान्तअन्तर्गत सियान सहर नजिकै घरजग्गा कारोबारमा भएको एक अनौठो ठगी प्रकरण सार्वजनिक भएको छ । यहाँका शेन नाम गरेका एक पुरुषले ३२ तला भएको भवनमा ३४औँ तलाको फ्ल्याट किनेको घटना सार्वजनिक भएको छ । आफू ठगीमा परेको उनले पछि थाहा पाए ।

शेनले सन २०१३ मा सियान नजिकैको ग्रामीण क्षेत्रमा बनेको नयाँ आवास परियोजनामा ९० वर्गमिटरको फ्ल्याट किनेका थिए । उनले प्रतिवर्गमिटर करिब २ हजार ,६४६ युआन (झण्डै ४०० अमेरिकी डलर) तिरेका थिए, जुन सामान्य बजार मूल्यभन्दा निकै सस्तो थियो ।

यो परियोजना सीमित सम्पत्ति अधिकार अन्तर्गत पर्छ, जसलाई चीनमा ग्रामीण सामूहिक जग्गामा अवैध रूपमा बनेका आवास परियोजनाका रूपमा लिइन्छ । यस्ता घरहरू कानुनी रूपमा पूर्ण रूपमा सुरक्षित हुँदैनन र पुनः बिक्री पनि गर्न मिल्दैन । शेनले प्रारम्भमा १ लाख १७ हजार युआन (झण्डै १७ हजार ४०० अमेरिकी डलर) डाउन पेमेन्ट गरेका थिए । उनले २०१५ मा फ्ल्याट पाउने भनिएको थियो । त्यसपछि उनी आफूले काम गर्ने ठाउँमा फर्किए । तर पछि मात्रै उनलेफ्ल्याट सहमति गरेको मितिभित्र पूरा नहुने थाहा पाए ।

२०१७ मा डेभलरले शेनलाई भवन पूरा भएको भन्दै बाँकी रहेको रकम तिर्न भने । शेनले पनि आफूले फ्ल्याटको चाबी पाएदेखि बाँकी पैसा तिर्ने बताए । तर महिनौँपछि डेभलपरले शेनलाई अपार्टमेन्ट भवनमा ३ तला मात्रै भएको बताए । तर निर्धारित समयमा परियोजना पूरा भएन । पछि उनलाई भवनमा ३२ तला मात्र रहेको जानकारी दिइयो ।

यो मामिला मिलाउन डेभलपरले सुरुमा ३२औँ तलाको अर्काे फ्ल्याट दिने प्रस्ताव गरेका थिए । तर २ महिनापछि उनलाई ३२ तलाको फ्ल्याट पनि हातबाट फुस्किएको जानकारी गराइयो । शेनले आफूले तिरेको पैसा फिर्ता मागे । सुरुमा डेभलपरले पैसा नभएको भन्दै कुर्न भने । त्यसपछि २०२० मा २० हजार येन र २०२२ मा ५० हजार येन मात्रै फिर्ता भयो ।

यो मामिलालाई लिएर शेन अदालत नै पुगे । अदालतले प्रतिबन्धात्मक आदेश जारी गरे पनि हालसम्म डाउन पेमेन्टको रुपमा शेनले तिरेको पैसा पूरै फिर्ता पाएका छैनन् । यो घटनाले चीनमा ‘सीमित सम्पत्ति अधिकार’ भएका सस्तो आवासमा लगानी गर्दा हुने जोखिमबारे सामाजिक सञ्जालमा पुनः बहस छडेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप