मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रीकाे कुर्सीमा महावीर

महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म

आफ्नै अवधारणामा स्थापित मन्त्रालयको नेतृत्वमा महावीर पुन
मङ्गलबार, २६ जेठ २०८३, १७ : ४२
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन अन्ततः विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालयको मन्त्री बनेका छन् ।
  • महावीर पुन सङ्घीय संसद्को प्रतिनिधिसभामा निर्वाचित एक मात्र स्वतन्त्र सांसद हुन् र यसअघि शिक्षामन्त्रीको जिम्मेवारीमा थिए ।
  • विदेशमा उच्च शिक्षा हासिल गरेपछि नेपाल फर्किएर महावीर पुनले विकट गाउँहरूमा सूचना प्रविधि, शिक्षा र विकासका कार्यक्रमहरू सञ्चालन गरी 'ग्लोबल कनेक्टर'को परिचय बनाएका छन् ।

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन अन्ततः सोही विषयसँग सम्बन्धित मन्त्रालयको मन्त्री बनेका छन् । विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लामो समयदेखि क्रियाशील उनी आफ्नै अवधारणा र मागअनुसार गठन भएको मन्त्रालयको नेतृत्वमा पुगेका हुन् । मङ्गलबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा उनलाई मन्त्री नियुक्त गरिएको हो ।

सरकारले समयअघि मात्रै कार्यविभाजन नियमावली संशोधन गर्दै यो मन्त्रालय गठन गरेको थियो । मन्त्रालय गठन भएसँगै प्रधानमन्त्री शाहले नै सम्हाल्दै आएका थिए। यो मन्त्रालयमा उनको पहिलो नियुक्ति हो । 

यसअघि विज्ञान तथा प्रविधिलाई शिक्षा मन्त्रालयसँग जोडिएर एउटा विङ्सको रूपमा मात्रै राखिएको थियो।नवप्रवर्तन भन्ने विषय यसमा जोडिएको थिएन।त्यस्तै यो मन्त्रालयलाई बजेट समेत निकै कम विनियोजन गरिएको थियो । 

पुन भने पुँजीगत खर्चको झण्डै एक प्रतिशत बजेट विनियोजनसहित मन्त्रालयको अडानमा थिए । सरकारले उनको दुवै माग पूरा गरिदिएको छ। यो मन्त्रालयलाई  पुँजीगत खर्चको १ प्रतिशतले हुने झण्डै ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

यस्तो छ महावीरको राजनीतिक यात्रा

महावीर पुन सङ्घीय संसद्को प्रतिनिधिसभामा निर्वाचित एक मात्र स्वतन्त्र सांसद हुन् । उनी आफ्नो गृह जिल्ला म्याग्दीबाट निर्वाचित भएका थिए।

यसअघि उनी सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीमा थिए। शिक्षा मन्त्रालयको नेतृत्व सम्हाल्ने क्रममा उनले विश्वविद्यालयभित्र हुने नियुक्तिमा दलीय राजनीतिकरण अन्त्य गर्नको माग गर्न विश्वविद्यालयसम्बन्धी छाता कानुनका लागि अध्यादेश ल्याउने अडान राखेका थिए। तर, उनको उक्त माग पूरा नभएपछि उनले शिक्षामन्त्रीको पदबाट राजीनामा दिएर बाहिरिएका थिए। 

उनको राजनीतिक यात्रा भने यसअघि नै एक रोचक मोडबाट सुरु भएको थियो। सुशीला कार्की नेतृत्वको तत्कालीन अन्तरिम सरकारमा उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका उनले त्यतिबेला नै सामाजिक सञ्जालमा लेखेका थिए, ‘मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्ने साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला।’ 

सधैँ भुइँमान्छेसँग जोडिएर काम गर्ने उनको यो भनाइले निकै चर्चा पाएको थियो। शिक्षा मन्त्रीबाट राजीनामा दिएको केही समयपछि नै सरकारले उनको मुख्य मागलाई सम्बोधन गर्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेपछि उनी पुनः क्याबिनेटमा फर्किएका हुन्। 

निल आर्मस्ट्रङलाई चिठीदेखि अमेरिका यात्रासम्म

वि.सं. २०१२ सालमा म्याग्दी जिल्लाको विकट अर्मला गाउँमा जन्मिएका महावीर पुनको बाल्यकाल अभावै अभावमा बितेको थियो। गाउँमा शिक्षा, स्वास्थ्य र सञ्चार सुविधाको चरम अभाव उनले नजिकबाट भोगे। तर, उनका पिता ब्रिटिस गोर्खा सैनिक भएका कारण उनले गाउँबाट पोखरा झरेर अध्ययन गर्ने अवसर पाए।

पोखरामा स्कुले र कलेजको अध्ययन सकेपछि उनको जीवनले नयाँ मोड लियो। ३१ वर्षको उमेरमा उनी हल्लाको भरमा अमेरिका पुगेका थिए। टोफल पास गर्‍यो भने अमेरिका जान पाइन्छ भन्ने सुनेकै भरमा उनी काठमाडौँस्थित अमेरिकन एम्बेसी पुगेका थिए। 

टोफल पढ्नकै लागि उनी १८ महिना काठमाडौँमा बसे। उनले स्नातक तहमा छात्रवृत्ति पाइन्छ कि भनेर लाइब्रेरीमा भेटिएका जति पनि अमेरिकी विश्वविद्यालयका ठेगाना थिए, ती सबैमा चिठी पठाए। छात्रवृत्तिको आसमा चिठी पठाउने क्रममा उनले चन्द्रमामा पहिलो पटक पाइला टेक्ने प्रख्यात अन्तरिक्ष यात्री निल आर्मस्ट्रङलाई समेत चिठी लेखेर सहयोग मागेका थिए।

निरन्तरको प्रयासपछि १८ महिनापछि उनलाई एउटा विश्वविद्यालयले सकारात्मक जवाफ पठायो। सन् १९८९ मा महावीर उच्च शिक्षाका लागि अमेरिका पुगे। उनले अमेरिकाको नेब्रास्का युनिभर्सिटीमा छात्रवृत्तिसहित विज्ञान शिक्षा विषयमा स्नातक गरे। अमेरिका बसाइँकै क्रममा सन् २००१ मा उनले शैक्षिक प्रशासनमा स्नातकोत्तर पनि हासिल गरे।

स्वदेश फिर्ती र ग्लोबल कनेक्टरको परिचय

विदेशमा उच्च शिक्षा हासिल गरेपछि धेरै नेपाली उतै पलायन हुने प्रवृत्ति छ, तर महावीर पुन भने नेपाल फर्किए। उनले विकट गाउँहरूमा सूचना प्रविधिको माध्यमबाट परिवर्तन ल्याउने अभियान सुरु गरे। 

सबैभन्दा पहिले उनले शिक्षा र विकासका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएर गाउँमै हिमाञ्चल हाई स्कुल स्थापना गरे। यस विद्यालयले कम्प्युटर शिक्षा र अन्य आधुनिक प्रविधि सिकाउने प्रणालीलाई आफ्नो मुख्य आकर्षण बनायो, जसले गर्दा आधारभूत सुविधासमेत नभएका गाउँका विद्यार्थीले प्रविधिमा पहुँच पाए।

सन् २००१ देखि उनले प्रख्यात ‘नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्ट’ सुरु गरे। यो परियोजनाले सोलार पावर, साना हाइड्रो जेनरेटर, वायरलेस इन्टरनेट र दूर शिक्षाको माध्यमबाट पहाडी र हिमाली विकट गाउँहरूमा इन्टरनेट सेवाको पहुँच पुर्‍यायो। 

ताररहित इन्टरनेट र सूचना प्रविधिको माध्यमबाट नेपालका विकट ठाउँलाई विश्वसँग जोड्ने काम गरेकै कारण अन्तर्राष्ट्रिय जगतमा महावीरलाई ‘ग्लोबल कनेक्टर’को उपनामले चिनिन्छ।

उनले गाउँका बासिन्दालाई आर्थिक आयआर्जनमा जोड्न याक पालन, खरी खेती, जाम र चिज बनाउने उद्योग तथा पर्यटक शिविर सञ्चालन जस्ता काममा संलग्न गराए। यसले ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भर बन्न ठुलो मद्दत गर्‍यो।

पुस्तक बेचेर कृषि औजार कारखाना ब्युँताउने प्रयास

नेपालमा नवप्रवर्तन र अनुसन्धानको संस्कार नभएको देखेपछि उनले युवा आविष्कारकर्तालाई अवसर दिने, प्रयोगशाला सञ्चालन गर्ने र नयाँ आविष्कार तथा प्रोटोटाइप उत्पादन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरे।

पछिल्लो समय उनी आफ्नो आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ को बिक्रीका लागि देश दौडाहामा थिए। यो पुस्तक बेचेर कमाएको पैसाले वीरगञ्जमा वि.सं. २०५९ सालदेखि बन्द अवस्थामा रहेको जीर्ण 'कृषि औजार कारखाना' ब्युँताउने उनको सङ्कल्प थियो। 

सरकारले कारखाना सञ्चालनको जिम्मा आविष्कार केन्द्रलाई दिए पनि आर्थिक सहयोग नदिएपछि उनी आफैँ पुस्तक बेच्न सडकमा उत्रिएका थिए। बाँकी मेसिन मर्मत र खरिदका लागि सरकारको ढोका ढकढकाउँदा सहयोग नपाएपछि उनले आफ्ना अन्तर्राष्ट्रिय अवार्ड र मेडलसमेत बिक्रीमा राखे।

उनको इमानदारी र अभियानलाई सघाउने हेतुले हजारौँ मानिसहरूले उनको आत्मकथा किनिदिए। हालसम्म उक्त पुस्तक २ लाख १८ हजार प्रति बिक्री भइसकेको छ। अहिलेसम्म पनि उनले पुस्तक बेच्ने कार्यलाई निरन्तरता दिँदै आएका छन्। 

समाज र देशको विकासलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्ने महावीरले आफ्नो जीवनकालमा रोमन म्यागसेसे पुरस्कार, अशोका फेलोसिप, इन्टरनेट हल अफ फेम, सोसल इनोभेसन अवार्ड लगायतका दर्जनौँ प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्।

हिजोका दिनमा अनुसन्धानका लागि राज्यले बजेट नछुट्याएको भन्दै माइतीघर मण्डलामा धर्ना बस्नेदेखि र पुस्तक बेच्दै शालिन विद्रोह गर्दै हिँडेका महावीर आज आफ्नै अवधारणा अनुसार बनेको मन्त्रालयको बागडोर सम्हाल्ने ठाउँमा पुगेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप