मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी

मङ्गलबार, २६ जेठ २०८३, १७ : ४८
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • चालु आर्थिक वर्ष २०८२/८३ को दश महिना (वैशाख) सम्म आइपुग्दा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ५.०४ प्रतिशत पुगेको छ।
  • खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।
  • सबैभन्दा बढी मूल्यवृद्धि तराई क्षेत्रमा ५.५९ प्रतिशत देखिएको छ भने सहरी क्षेत्रको मुद्रास्फीति ५.२९ प्रतिशत रहेको छ।

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को दश महिना (वैशाख) सम्म आइपुग्दा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ५.०४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा मूल्यवृद्धि बढेको हो।

अघिल्लो वर्ष वैशाखमा यस्तो मुद्रास्फीति २.७७ प्रतिशत मात्र रहेको थियो । यद्यपि, चालु आर्थिक वर्षको दश महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने २.६६ प्रतिशतमा सीमित रहेको छ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको तुलनामा गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि बढी देखिएको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।

खाद्य समूहअन्तर्गत फलफूलमा १८.६० प्रतिशत, घ्यू तथा तेलमा १३.९९ प्रतिशत र तरकारीमा ५.४० प्रतिशतले मूल्य बढेको छ । भौगोलिक क्षेत्रगत आधारमा हेर्दा सबैभन्दा बढी मूल्यवृद्धि तराई क्षेत्रमा देखिएको छ । वैशाख महिनामा तराईको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.५९ प्रतिशत रहेको छ । 

त्यसैगरी, काठमाडौँ उपत्यकामा ४.९० प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ३.७३ प्रतिशत मूल्यवृद्धि रहेको छ । ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा महँगी बढी देखिएको छ, जहाँ सहरी क्षेत्रको मुद्रास्फीति ५.२९ प्रतिशत रहँदा ग्रामीण क्षेत्रको ४.३५ प्रतिशत रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप