सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
सारांश
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ ।
- पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यक्तिगत स्वार्थका लागि म्यासेज पठाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
- राजस्व सचिव हुँदा कपनमा आलिशान भवन बनाएको र आर्थिक लाभ लिएको सूचना पाएपछि प्रधानमन्त्री शाहकै निर्देशनमा सम्पत्ति छानबिन सुरु भएको हो ।
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थित जगेडामा कार्यरत सचिव कृष्णहरी पुष्करको सम्पत्ति छानबिन थालिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्तिबारे छानबिन थालेको विभागका एक अधिकृतले रातोपाटीलाई बताए ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको घटनामा जेठ २१ मा प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसपछि उनलाई उपराष्ट्रपतिको कार्यालयबाट हटाएर जगेडामा राख्ने निर्णय गरिएको थियो । उनले प्रधानमन्त्री बालेन्द्र शाहको हटलाईन नम्बरमा म्यासेज गरेर राजदूत पदको फारम भरेको जानकारी दिँदै सहयोग गर्न आग्रह गरेका थिए । महोत्तरीको जलेश्वर–४ सुगा घर भएका पुष्कर र प्रधानमन्त्री शाह एउटै जिल्लाका हुन् ।
पुष्करले ‘चेन अफ कमाण्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागी प्रधानमन्त्री शाहलाई म्यासेज पठाएको प्रधानमन्त्रीको सचिवालयको जिकिर छ । पुष्कर मुख्यसचिव बन्ने प्रतिस्पर्धामा थिए । तर, सरकारले २०८२ मंसिर ९ मा सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेपछि उनले सो अवसर गुमाएका थिए । उनी असार २४ मा अवकाशमा जाँदै छन् ।
२०७८ भदौ ११ भन्दापछि राजस्व सचिव बनेका पुष्करले त्यसबेला आर्थिक लाभ लिएको कागजात र तथ्यहरू प्रधानमन्त्री शाहले पाएको स्रोतको दाबी छ । पुष्कर सामान्य प्रशासन सचिव र अर्थ मन्त्रालयको पनि सचिव भएका थिए । त्यसबेला शाह काठमाडौं महानगरको मेयर थिए । त्यसबेला दुईबिच कुराकानी हुने गरेको प्रहरीसँगको सोधपुछमा पुष्करले बताएका छन् ।
राजस्व सचिव हुँदा पुष्करले कपनमा आलिशान भवन बनाएको र आर्थिक लाभ लिएर निर्णय गरेको सूचना पाएपछि प्रधानमन्त्री शाहकै निर्देशनमा विभागले उनको सम्पत्तिबारे छानबिन सुरु गरेको बताइएको छ । विभागका एक अधिकृत भन्छन्, ‘घर निर्माण गरेको समयमा उहाँले गरेका निर्णयहरू र उहाँको सम्पत्ति विवरण हेरेर स्रोत भेरिफाई गर्नेगरी अनुसन्धान सुरु भएको छ ।’
बालेन्द्र शाहको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएसँगै तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि पनि अनुसन्धान भइरहेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो । २०८२ चैतपछि सो अनुसन्धान जारी छ । पूर्व प्रधानमन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान गर्ने क्रममा पूर्वमन्त्री दीपक खड्कालाई विभागले नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतको आदेशले खड्का अहिले थुनाबाहिर छन् ।
भदौ २४ मा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा जलेको रकमको टुक्रा भेटिएको थियो । पूर्वमन्त्री खड्कोको घरमा पनि जलेको रकम भेटिएको थियो ।
अनुसन्धानका लागि स्थानीय प्रशासनले पूर्वप्रधानमन्त्री देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन रोक लगाएको छ । जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना बनाउन खोजिँदै थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा सो भवन भत्काउन रोक लगाइएको छ ।
जेनजी आन्दोलन हुँदा प्रदर्शनकारीले आगजनी गर्दा जलेको अवस्थामा डलर र नेपाली रुपैयाँ भेटिएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबेला नै सो रकम संकलन गरेर राखेको थियो ।
यो पनि पढौं...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण