मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद्‌मा महावीरकाे इन्ट्री

महावीर मात्र पाका मन्त्री !

मङ्गलबार, २६ जेठ २०८३, १८ : ५५
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई नियुक्ति गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
  • नवनियुक्त मन्त्रिपरिषद १७ सदस्यीय बनेको छ, जसमा ७२ वर्षीय महावीर पुन एकमात्र वृद्ध मन्त्री हुनुहुन्छ ।
  • मन्त्री पुनले आफ्नो कार्यकाल तीन वर्षमा सीमित राखेर बाँकी युवालाई छाड्ने घोषणा गरेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले छैटौँँ पटकमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

मंगलबार गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनलाई नियुक्ति गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो । बालेन सरकारमा यसअघि पनि गृहमन्त्री रहेका गुरुङ विवादास्पद व्यवसायी दीपक भट्टसँग ‘शेयर कनेक्सन’ प्रकरण मुछिएकै कारण वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए ।

गुरुङमाथि लागेको अरोपबारे सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले क्लिन चिट दिएपछि उनी पुरानै जिम्मेवारीमा फर्किएका हुन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका शिक्षा मन्त्री रहेका पुनले रोजेकै मन्त्रालय पाए ।

अघिल्लो सरकारमा तीन महिना मन्त्री पद बाँकी छँदै उनी छाडेर म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बने र जिते पनि ।

मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ । ४० वर्ष मुनिका युवा बाहुल्यतता भएको मन्त्रिपरिषद्मा पुन एक मात्र वृद्ध मन्त्रीका रूपमा रहेका छन् । ७२ वर्षीय उनले स्वतन्त्र सांसद भएर पनि रास्वपाबाट मन्त्री बन्ने सौभाग्य पाए । 

प्रधानमन्त्री शाह आफैँ ३७ वर्षका छन् । देशले ५२ वर्षपछि ४० वर्ष मुनिको प्रधानमन्त्री पाउँदा मन्त्रिपरिषद्मा पुन मात्र ७० वर्षमाथिका छन् । 

शाहको मन्त्रिपरिषदमा सबैभन्दा कम उमेरका मन्त्री सस्मित पोखरेल हुन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री रहेका उनी भर्खर २९ वर्षका भए । यसअघि सबैभन्दा बढी उमेरका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले उछिनन् । गौरी ५४ वर्षकी भइन् । अर्थमन्त्री वाग्ले ५१ वर्षका छन् । 

प्रधानमन्त्री बालेनसहित मन्त्रिपरिषदमा ३० देखि ४० वर्ष उमेरबिचका ९ जना छन् । गृहमन्त्री गुरुङ ३८, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल ३५, स्वास्थ्यमन्त्री निशा मेहता ३८, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल ३२, कानुनमन्त्री सोविता गौतम ३०, कृषिमन्त्री गीता चौधरी ३२, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव ३० र महिला तथा बालबालिकामन्त्री सीता वादी ३० वर्षकी छन् ।

३० वर्ष मुनिका शिक्षामन्त्री पोखरेल मात्र हुन् । 

४० देखि ५० वर्ष उमेरका ४ जना मन्त्री छन् । परराष्ट्रमन्त्री शिशिर खनाल ४७, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ ४४, पर्यटनमन्त्री खडकराज पौडेल ४६, सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ४३ वर्षका छन् । ५० वर्षमाथिका तीन जना छन् ।

प्रधानमन्त्री बालेनभन्दा कम उमेरका ८ जना र माथि उमेरका ७ जना मन्त्री छन् ।

यसैबिच मन्त्री पुनले आफ्नो कार्यकाल आफैँले तोकेका छन् । मन्त्रीको सपथ लिएपछि उनले आफू तीन वर्ष मात्र पदमा रहने र बाँकी कार्यकाल युवालाई छाड्दिने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप