बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : ‘सन्तुलित कूटनीति’ मुख्य एजेण्डा

मङ्गलबार, २६ जेठ २०८३, १९ : ३९
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा जाने तयारीमा हुनुहुन्छ ।
  • जेनजी आन्दोलनपछि अमेरिका तथा टिओबी गतिविधिका कारण असन्तुष्ट रहेको चीनलाई सन्तुलनमा ल्याउन यो भ्रमण हुन लागेको हो ।
  • भ्रमणमा बीआरआई आयोजनाहरूको कार्यान्वयन र केरुङ-काठमाडौँ रेलमार्गको प्रगतिबारे छलफल हुनेछ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछाने तथा परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमण गरेर दुई देश बिचको सम्बन्धलाई प्राथमिकतामा राख्दै सहकार्य गर्ने सहमति गरेसँगै सरकारको ध्यान चीनतिर गएको छ ।

परराष्ट्रमन्त्री खनाल चीन जाने तयारीमा जुटिसकेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी जेठ ३१ गते चीन भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार परराष्ट्रमन्त्रीको चीन भ्रमणको खासै एजेण्डा नरहे पनि एउटा ‘कट सी’ तथा ‘सन्तुलित कूटनीति’ का लागि भ्रमण हुन लागेको हो । त्यही अनुसार तयारी चलिरहेको उनले बताए ।

जेनजी आन्दोलनपछि अमेरिका तथा टिओबी गतिविधिका कारण असन्तुष्ट रहेको चीनलाई सन्तुलनमा ल्याउनका लागि परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जान लागेका हुन् । नेपालका लागि भारत र चीन दुवै महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन्, दुवै देशलाई सन्तुलनमा राखेर नै काम गर्नुपर्छ भन्ने वर्तमान सरकारको उद्देश्य रहेको मन्त्रालय स्रोतको भनाइ छ ।

भारत भ्रमणलगत्तै हुन लागेको चीन भ्रमणले नेपाल आफ्नो स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको र दुवै छिमेकीसँग समान तथा सन्तुलित सम्बन्ध राख्न चाहन्छ भन्ने कुरालाई स्पष्ट पारेको अन्तर्राष्ट्रिय मामिलाका जानकार बिनोज बस्न्यातले बताए ।

बीआरआई अन्तर्गतका आयोजनाहरूको कार्यान्वयन र अगाडि बढाउने मोडालिटीबारे छलफल हुने एजेण्डा राखिए पनि मुख्य चासो सन्तुलित कूटनीति नै रहेको मन्त्रालय सम्बद्ध स्रोतले जनायो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले सुरुमै परराष्ट्रमन्त्री खनाललाई चीन भ्रमणको निम्तो दिएका थिए । परराष्ट्रमन्त्री खनालले चिनियाँ समकक्षीको निम्तो स्वीकार गरी चाँडै आउने बताएका थिए । यद्यपि भ्रमणको समय तय भएको थिएन ।

परराष्ट्र मन्त्रालयको स्रोतले भन्यो, ‘अहिलेको मिति मोटामोटी जेठ ३१ नै हो, त्यही अनुसार तयारी चलिरहेको छ । आधिकारिक मिति घोषणा नभएसम्म मिति तलमाथि हुनसक्छ ।’

नेपाल–चीन जोड्ने केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्गको बारेमा धेरै पहिलादेखि चर्चा हुँदै आएको हो । चीनले यसको बारेमा पटक–पटक अध्ययन गरेको थियो । त्यसको प्रगति कहाँ पुग्यो भन्नेबारे पनि परराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप