नेपाल–भारत सम्बन्ध ‘रिसेट’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल–भारतको सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाएको छ । दुई देशको बिचमा केही अघिसम्म चिसिएको सम्बन्ध पछिल्ला दुई भ्रमणले सुधार गरेको हो ।
नेपालको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणबाट दुई देशबिचको सम्बन्धमा विश्वास अभिवृद्धि गरेको चर्चा कूटनीतिक वृत्तमा चलिरहेको छ ।
यी दुई भ्रमणले नेपाल–भारतको सम्बन्धमा नयाँ आयाम थपेको अन्तर्राष्ट्रिय मामिलाका जानकार बिनोज बस्न्यातले बताए । उनले भने, ‘यी दुई भ्रमणले नेपाल–भारत सम्बन्ध रिसेट नै भएको छ ।’
भारतले रास्वपाका सभापति लामिछानेलाई दिएको महत्त्वले दुई देशको सम्बन्ध मजबुत भएको सङ्केत गरेको छ । रवि लामिछाने फर्के लगत्तै परराष्ट्रमन्त्री शिशिर खनाललाई पनि भारतले उत्तिकै महत्त्व दिएको छ ।
भारतले यो भ्रमणमार्फत नयाँ ऊर्जा थपेको प्रतिक्रिया जनाएको छ । भारतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २००६ मार्चमा नेपालमा नयाँ सरकारले कार्यभार सम्हाले यता दुई देशबिच परराष्ट्रमन्त्रीस्तरमा भएको यो पहिलो भ्रमण थियो । भारतको छिमेकी पहिलो नीति अन्तर्गत एक प्राथमिकतामा रहेको साझेदार हो र यस भ्रमणले दुई घनिष्ट तथा मित्रवत् छिमेकीहरू बिच नियमित उच्चस्तरीय आदान प्रदानको परम्परालाई थप सुदृढ बनाएको छ । यसले दुवै देशका जनताको आकांक्षा पूरा गर्नका लागि द्वीपक्षीय साझेदारीलाई थप बढाउने विषयमा विचार आदान प्रदान गर्ने अवसर प्रदान गर्नुका साथै यस उद्देश्यतर्फ हाम्रा प्रयासहरूमा नयाँ ऊर्जा थपेको छ ।’
भारत भ्रमणबाट फर्केपछि परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटहरूले नेपाल र भारतबिचको कूटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउनुका साथै आगामी दिनमा आपसी हितका क्षेत्रहरूमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार गरेको बताएका थिए ।
भारतका विदेशमन्त्री एस.जयशंकरले पनि भारतले नेपाललाई प्राथमिकतामा राखेर काम गरिरहेको र नेपालसँग हरेक क्षेत्रमा नयाँ ढंगबाट काम गर्न चाहेको बताएका थिए । नेपाल र भारतबिच यो अनुपम सम्बन्ध आपसी विश्वास, आपसी सम्मान र साझा समृद्धिको जगमा उभिएको बताउँदै उनले कनेक्टिभिटी, ऊर्जा, व्यापार र आर्थिक रूपान्तरण जस्ता बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउन भारत सधैँ प्रतिबद्ध रहेका धारणा राखेका थिए ।
नेपालको कूटनीतिमा नयाँ कुरा
अन्तर्राष्ट्रिय मामिलाका जानकार बस्न्यातले भने, ‘परिवर्तित अवस्थामा भारत धेरै नै परिवर्तन भइसकेको छ, नेपालको पछिल्लो राजनीति घटनाक्रमले नेपाललाई पनि परिवर्तन हुने म्याण्डेट दिएको छ । सोही म्याण्डेट अनुसार भारतसँग नयाँ ढंगको सम्बन्ध विस्तार गरेको हो ।’
नेपालको परराष्ट्र मामिलामा नयाँ–नयाँ आयाम देखिएको उनले बताए । प्रधानमन्त्री बालेन्द्र शाहले कूटनीतिक क्षेत्रमा सबैसँग बराबर सम्बन्ध राख्न चाहेको सन्देश दिएको उनको भनाइ छ ।
त्यही भएर प्रधानमन्त्री बालेनले समान हैसियतामा विभिन्न मुलुकका राजदूतसँग सामूहिक भेट गर्ने गरेको बस्न्यातले बताए । राजदूत नियुक्तिका लागि खुला आवेदन माग गर्नु पनि परराष्ट्रको क्षेत्रमा नयाँ प्रयोग नै हो । त्यस्तै प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै भारत भ्रमण गर्ने परम्परालाई तोडेको मात्र होइन, पार्टीका सभापतिलाई पठाएर सम्बन्ध विस्तारको कामलाई अगाडि बढाउनु पनि वर्तमान सरकारको नयाँ ढंगको कूटनीति देखिएको छ ।
नेपालले भारतलाई प्राथमिकतामा राखेको कुरा भ्रमणले पुष्टि गरेको छ । भारतको भ्रमण गरेरमात्र परराष्ट्रमन्त्री चीन भ्रमणमा जान लागेका छन् । यसको अर्थ नेपालले भारत र चीनसँग समान सम्बन्ध राख्न चाहेको जानकारहरू बताउँछन् । परराष्ट्रमन्त्री खनाल जेठ ३१ चीन भ्रमणमा जाँदैछन् । उनी ३ गते नेपाल फर्किनेछन् ।
परराष्ट्रमन्त्री खनाल चीनबाट फर्केपछि अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने बताइएको छ । यद्यपि वाग्लेको भ्रमणको मिति तय भइसकेको छैन । वाग्लेको भ्रमणपछि भारतको तर्फबाट उच्चस्तरीय भ्रमण हुने स्रोतले जनाएको छ ।
हालै भारत गएर विभिन्न कार्यक्रममा सहभागी भएर नेपाल फर्केका नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कपरेशन एण्ड इंगेजमेन्टका अनुसन्धान निर्देशक डा.प्रमोद जयसवालले नेपाल–भारतको सम्बन्ध नयाँ ढंगबाट सुरुवात भएको बताए । भारतको मनमा कुनै तिता–मिठा कुरा रहेको भए सभापति लामिछाने र मन्त्री खनालको भ्रमणले सबै समाप्त पारिदिएको बताउँदै उनले अब दुवै देशको विकास निर्माणको कार्यमा सहकार्य गर्ने बताए । उनले भने, ‘मलाई लाग्छ, अब दुवै देशमध्ये कसैमा कुनै प्रकारको शंका उपशंका बाँकी छैन । दुवै देश उत्साहित देखिएका छन् ।’
तर उठेन विवादका कुरा
तर नेपाल–भारतको सम्बन्धमा थुप्रै अध्ययन अनुसन्धान गरेका भारतका अन्तर्राष्ट्रिय मामिलाका जानकार डा. निहार नायकको धारणा अलि फरक छ । जुन विषयमा विवाद छ, त्यही विषयमा कुरा हुँदैन भने सम्बन्ध त्यतिकै राम्रो हुने उनले बताए ।
नेपालले पटक पटक सीमाको विवाद उठाउने गरेको तर भ्रमणको समयमा त्यो विषयलाई नउठाएको नायकले प्रस्ट पारे । यस्तै, गोर्खा सैनिक भर्नाको विषयमा पनि कुरा उठेन । एयरपोर्ट सञ्चालन लगायतको विषयमा पनि कुरा भएन । ‘यसको मतलब सम्बन्ध राम्रो छ, भाजपा र रास्वपाले पाँच वर्ष दुई देशबिचको सम्बन्धलाई राम्रो तरिकाले अगाडि बढाउने सङ्केत हो,’ उनले भने ।
यदि नेपालले सीमा विवादको कुरा उठाएको भए पुनः नेपाल–भारतबिचमा सम्बन्ध खराब हुने अवस्था आउँथ्यो भन्ने नायकको तर्क छ । उनले भने, ‘त्यही भएर जानी–जानी नेपालले भारत भ्रमणमा यो विषय उठाएन । विकासतर्फबाट पनि कुनै ठुलो योजनामा लगानी गर्ने खालको केही सम्झौता भएको छैन ।’
समग्रमा भ्रमण सफल भयो भन्न सकिए पनि नयाँ कुरा केही पनि नभएको उनको दाबी छ ।
तर भारतका प्रध्यापक एवं नेपाल–भारत सम्बन्धका जानकार एसडी मुनीले सभापति लामिछाने र मन्त्री खनालको भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ खालको आशा जगाएको बताए । उनले भने, ‘दुवै जनाको भारत भ्रमणबाट दुई देशबिचको नयाँ सम्बन्धका लागि धेरै आशा जगाएको छ ।’
नेपालले विवादित मुद्दाहरू समाधान गर्न कसरी प्रतिक्रिया दिन्छ र भारतको सुरक्षा चासोलाई कसरी सम्बोधन गर्छ भन्ने कुरामा आगामी सम्बन्धमा निर्भर हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
-
स्वास्थ्य मन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच शिष्टाचार भेटवार्ता
-
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण