मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी

मङ्गलबार, २६ जेठ २०८३, २० : २२
मङ्गलबार, २६ जेठ २०८३

पोखरा । पर्यटनको राजधानी पोखरा, गौतमबद्धको जन्मस्थल लुम्बिनी र भरतपुरलाई सिल्भर ट्रयाङ्गलले जोडेर नयाँ पर्यटकीय पूर्वाधार विकास गर्ने समझदारी भएको छ । मंगलबार पोखरामा भएको कार्यक्रममा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबिच त्रिपक्षीय समझदारी भएको हो।

१२ बुँदे समझदारीमा पर्यटकलाई एउटा सहरबाट अर्को सहर पुग्न सहज हुने गरी कनेक्टिभिटीमा जोड दिइएको छ। तीनै सहरमा पर्यटकीय गन्तव्यहरूको डिजिटल सूचना बोर्ड राख्ने, संयुक्त प्याकेज बनाउने र स्थानीय व्यवसायी तथा पर्यटन बोर्डसँगको सहकार्यमा अन्तर–प्रदेशीय यातायातलाई थप व्यवस्थित बनाइने समझदारी पत्रमा उल्लेख छ। 

सङ्घ सरकारले केही वर्षअघिको नीति तथा कार्यक्रम र बजेटबाट सिल्भर ट्रयाङ्गलको विकास गर्ने अवधारणा सार्वजनिक गरेको थियो। लगत्तै गण्डकी प्रदेश सरकारले पनि यसलाई जोड दिएको छ । अहिले तीनै सहरका मेयर पुरानो नीति तथा कार्यक्रमलाई व्यवहारमा लागू गर्न कस्सिएका हुन् ।

यसले पोखरा, भरतपुर र लुम्बिनीका पर्यटनलाई एउटै सर्किटमा जोडेर अन्तर्राष्ट्रियस्तरमा संयुक्त रूपमा बजारीकरण गर्ने बाटो खोलेको छ । समझदारीअनुसार प्रत्येक सहरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा सिल्भर ट्रयाङ्गलको अवधारणालाई समावेश गर्नेछन् । उनीहरुले पालैपालो ट्राभल मार्ट आयोजना गर्ने, पर्यटन व्यवसायीहरूसँग समन्वय गरी संयुक्त प्रवर्धन सामग्री तयार गर्ने र पर्यटन पूर्वाधार तथा अन्तर–प्रदेशीय यातायातलाई थप व्यवस्थित बनाउने कार्यक्रम तय हुनेछ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिल्भर ट्रयाङ्गलको साझेदारी नेपालको पर्यटनको नयाँ आयाम भएको दाबी गरे । ‘हामीले पोखरा, भरतपुर र लुम्बिनीलाई एउटै पर्यटन सर्किटको रूपमा विकास गर्नेछौँ । यसले पर्यटकहरूलाई विविधता प्रदान गर्नेछ र नेपाल भ्रमणको बसाइ अवधि लम्ब्याउन मद्दत गर्नेछ,’ उनले भने, ‘तीनै सहरले आपसमा आफ्ना पर्यटकलाई अरू सहरमा जान प्रेरित गर्नेछन् । यसले तीनै सहरलाई फाइदा हुनेछ ।’

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले भरतपुरको प्राकृतिक सौन्दर्य र जैविक विविधतालाई लुम्बिनी र पोखरासँग जोड्न सके पर्यटकका लागि पूर्ण प्याकेज बन्ने बताए । ‘हामी स्थानीय तहबिचको सहकार्यले सिङ्गो देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेमा विश्वस्त छौँ,’ उनले भने । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले पनि तीन सहरको यो सहकार्यले धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनको अनुपम मिलन गराउने विश्वास व्यक्त गरिन् ।

‘लुम्बिनीको आध्यात्मिक शान्ति, भरतपुरको वन्यजन्तु र पोखराको साहसिक पर्यटन एकै यात्रामा अनुभव गर्न पाउनु पर्यटकका लागि अविस्मरणीय हुनेछ,’ उनी भन्छिन्, ‘जब पर्यटकको बसाईं बढ्छ यहाँका व्यवसायीहरूको कमाई पनि उच्च हुन्छ ।’ 

यो सर्किटलाई सफल बनाउन सबै पक्षको योगदान आवश्यक हुने नगर प्रमुखहरूले सुनाए । कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले यो अवधारणाले नेपालको समग्र पर्यटन बजारमा एकीकृत सन्देश दिने बताएका छन् । उनले पर्यटन क्षेत्रको प्रवर्धनका लागि बोर्डले हरदम साथ दिने र तीनै सहरको सहकार्यमा डिजिटल मार्केटिङ तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता जनाए ।

‘यो सिल्भर ट्रयाङ्गललाई हामी एउटा मस्ट भिजिट सर्किटको रूपमा विश्व बजारमा पस्कन चाहन्छौँ,’ उनी भन्छन्, ‘हाम्रो मात्रै चाहनाले हुँदैन, यसमा सबै पक्षको साथ र सहयोग चाहिन्छ ।’ पर्यटनसँग सम्बद्ध व्यक्तिहरूले तीनै सहरका समस्या र समाधानका लागि आपसी सुझाव दिएका छन् । पर्यटन विज्ञहरूले सिल्भर सर्किटले आन्तरिक र बाह्य दुवै प्रकारका पर्यटकलाई आकर्षित गर्न सक्ने दाबी गरेका छन् । विशेष गरी भारतीय पर्यटकहरूको आगमन बढाउन, उनीहरूका लागि सहज यात्रा व्यवस्थापन गर्न र स्थानीय होमस्टे तथा होटल व्यवसायलाई प्रवर्धन गर्न थप जोड दिनुपर्ने सुझाव दिए। 

कार्यक्रमको अध्यक्षता गरेका पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले अन्तर सहर सहकार्य अघि नबढ्दासम्म पर्यटन क्षेत्रको उत्थान अब सम्भव नहुने बताए। ‘पर्यटन भनेको एउटा सहरको गन्तव्य मात्रै होइन । कुनै एक सहरले मात्रै पर्यटकलाई पूर्ण सन्तुष्टि दिन पनि सक्दैन,’ उनले भने, ‘यसको विकास सहकार्यबाट मात्रै हुन्छ । पोखराले त्यसैलाई ध्यान दिएर यो सर्किटलाई प्रवर्द्धन गर्न चाहेको हो ।’

पहिलो बैठक पोखराले आयोजना गरेको हो । अबको बैठक भरतपुरले आयोजना गर्ने महानगरका कावा प्रमुख अधिकारीले प्रस्ताव गरेका छन् । अर्को बैठक नहुँदासम्म यसको अध्यक्षता पोखराले गर्नेछ भने जुन सहरमा बैठक हुन्छ त्यसको अध्यक्षता सोही सहरको प्रमुखले गर्नेछन् ।

यसलाई कार्यसमितिकै रूपमा अघि बढाउने सहमति भएको छ । सहभागीहरूले तीन सहरलाई जोड्ने गरी चेन होटलहरु आकर्षित गर्नुपर्ने र तीनै सहरको प्रतिनिधित्व हुने गरी साझा संस्थाहरू गठन गरिनुपर्ने सुझाव दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप