जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
सारांश
- जीतपुरसिमरा उपमहानगरपालिकाले मापदण्डविपरीत सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।
- उपमहानगरले प्राथमिक र आधारभूत तहको कक्षा सञ्चालन अनुमति लिएर निम्न माध्यमिक र माध्यमिक तहका कक्षा सञ्चालन गरिरहेका ८ वटा विद्यालयलाई अनुमति खारेजसम्मको चेतावनी दिएको छ ।
- यसअघि नियमविपरीत सञ्चालनमा रहेका ४ वटा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको थियो, जसका विद्यार्थीहरूको भविष्य अन्योलमा नपर्ने उपमहानगरपालिकाले स्पष्ट पारेको छ ।
बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले मापदण्डविपरीत सञ्चालनमा रहेका संस्थागत ९निजी० विद्यालयहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । उपमहानगरले प्राथमिक र आधारभूत तहको कक्षा सञ्चालन अनुमति लिएर निम्न माध्यमिक र माध्यमिक तहका कक्षा सञ्चालन गरिरहेका विद्यालयहरूलाई कारबाहीको दायरामा ल्याएको हो ।
सोमवार एक सूचना जारी गर्दै उपमहानगरले मापदण्डविपरीत कक्षा सञ्चालन गर्ने ८ वटा विद्यालयको अनुमति खारेज मुद्दासम्मको चेतावनी दिएको छ । चेतावनी दिइएका विद्यालयहरूमा वडा नं। १७ स्थित एड्भान्स इङ्ग्लिस बोर्डिङ स्कुल, वडा नं। १८ को मिसन एकेडेमी उचिडी र डुमरवाना पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुल रजघट्टा, वडा नं। ७ स्थित अम्ब्रेला एकेडेमी, वडा नं १ को न्यू होराइजन, अमलेखगञ्जस्थित नाइट एञ्जल, लिटल एञ्जल र वडा नं। २२ चकरीस्थित आदर्श किड्स ल्यान्ड स्कुल रहेका छन् ।
यी विद्यालयहरूले पालिकाबाट स्वीकृत अनुमतिभन्दा माथिल्लो कक्षामा पठनपाठन गराएको, अभिभावकलाई भ्रममा पारी भर्ना गराएको र एउटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अर्को विद्यालयबाट परीक्षा फारम भराई परीक्षामा सहभागी गराएको पाइएकाले अनुमति खारेजसम्मको चेतावनी दिइएको उपमहानगरले जनाएको छ । उपमहानगरको शिक्षा महाशाखाले स्वीकृत प्राप्त कक्षामा मात्र विद्यार्थी भर्ना र पठनपाठन गराउन विद्यालयहरूलाई निर्देशन दिएको छ ।
यसअघि जेठ १९ गते बसेको नगर शिक्षा समितिको बैठकले नियमविपरीत सञ्चालनमा रहेका ४ वटा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको थियो । बन्द गरिएका विद्यालयहरूमा वडा नं। १ स्थित माउन्ट एभरेष्ट, वडा नं। ३ स्थित रोज एकेडेमी, वडा नं। ७ स्थित अम्ब्रेला अंग्रेजी बोर्डिङ स्कुल र वडा नं। १९ स्थित बाबुलाल एकेडेमी रहेका छन् । उपमहानगरपालिकाले यी विद्यालयहरूमा विद्यार्थी भर्ना नगराउन अभिभावकहरूलाई समेत अनुरोध गरेको छ ।
यीमध्ये माउन्ट एभरेष्टले कक्षा १२, रोज र अम्ब्रेलाले कक्षा ५ तथा बाबुलाल एकेडेमीले कक्षा ३ सम्मको मात्र अनुमति पाएका थिए । अनुमतिभन्दा फरक ढंगले सञ्चालन भएकाले यी विद्यालयले अब कक्षा सञ्चालन गर्न पाउने छैनन् ।
शैक्षिक सत्र सुरु भइसकेपछि विद्यालय बन्द गराउने उपमहानगरको यस निर्णयलाई स्थानीय स्तरमा चासोका साथ हेरिएको छ । सिमरास्थित न्यू होराइजन इङ्ग्लिस स्कुलका संस्थापक सञ्चालक अभिषेक राजनले आफ्नो विद्यालय सञ्चालनको अनुमति प्रक्रियामै रहेकाले तत्कालका लागि कारबाही प्रक्रिया अगाडि नबढाउन अनुरोध गरेका छन् । 'हामी आफैँ अरूलाई नियम–कानुन पालना गर्न सिकाउँछौँ, त्यसैले उपमहानगरको निर्णयविरुद्ध जाने कुरा आउँदैन,ू उनले भने, ूहामी प्रक्रियामा रहेकाले केही समय थप गरिदिन मात्र अनुरोध गरेका हौँ ।'
प्राथमिक र आधारभूत तहको अनुमति लिएर निम्न माध्यमिक र माध्यमिक तह सञ्चालन गर्ने विद्यालयहरूले विद्यार्थीलाई परीक्षा भने अन्य विद्यालयको नामबाट दिलाउने गरेका थिए ।
उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत हरिश भट्टले बन्द गरिएका विद्यालयका विद्यार्थीहरूको भविष्य अन्योलमा नपर्ने स्पष्ट पारेका छन् । माउन्ट एभरेष्टबाहेक अन्य तीन विद्यालयका विद्यार्थीलाई यसअघि नै छिमेकी विद्यालयहरूमा स्थानान्तरण गरिसकिएको जानकारी दिँदै भट्टले माउन्ट एभरेष्टका विद्यार्थीलाई पनि अर्को विद्यालयमा सार्न उपमहानगरपालिकाले आवश्यक सहजीकरण गर्ने बताए ।
'विद्यार्थीहरूको शैक्षिक निरन्तरताको जिम्मेवारी उपमहानगरपालिकाले लिन्छ । विद्यार्थीहरू अलपत्र परेका भन्ने कुरामा सत्यता छैन,' अधिकृत भट्टले भने, 'यस विषयमा कुनै पनि भ्रममा नपर्न म अनुरोध गर्दछु ।'
किन बन्द गरिए विद्यालय ?
शिक्षा अधिकृत भट्टका अनुसार मापदण्डविपरीत र एउटै भवनमा दुई वटा विद्यालय सञ्चालन गरेको पाइएकाले ती विद्यालयहरू बन्द गरिएका हुन् । अनुमति लिएको स्थानभन्दा अन्यत्र लगेर विद्यालय सञ्चालन गरेको समेत पाइएको उनको भनाइ छ ।
जीतपुरसिमरा वडा नं १ ठेगाना रहेको माउन्ट एभरेष्ट स्कुल हाल वडा नं २१ अमलेखगञ्जमा सञ्चालित छ । सोही भवनमा विद्यालयका सञ्चालकले 'नाइट एञ्जल' नामक अर्को निजी विद्यालयसमेत सञ्चालन गरिरहेका छन् । एउटै भवनमा दुई वटा विद्यालय सञ्चालन नगर्न पटक–पटक सचेत गराउँदा समेत बेवास्ता गरिएपछि विद्यालय बन्द गरिएको भट्टले जानकारी दिए ।
यसैगरी रोज एकेडेमीका सञ्चालकले 'न्यू एकता' नामक विद्यालय सञ्चालनमा ल्याएका थिए । रोज र न्यू एकता पनि एउटै भवनमा सञ्चालन भएकाले एउटा विद्यालय बन्द गरिएको हो । त्यस्तै, बाबुलाल एकेडेमीका सञ्चालकले 'मिडल्यान्ड एकेडेमी' र अम्ब्रेला एकेडेमीका सञ्चालकले सोही नामको अर्को विद्यालय सञ्चालनमा ल्याएका थिए । एउटै भवनमा दुई विद्यालय सञ्चालन गर्न नमिल्ने कानुनी प्रावधानका कारण ती विद्यालय बन्द गरिएको शिक्षा शाखाले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाभित्र हाल ४६ वटा संस्थागत विद्यालयहरू सञ्चालनमा छन् । उपमहानगरले पछिल्लो समय निजी विद्यालयहरूको नियमनमा कडाइ गर्दै आएको छ । यसै शैक्षिक सत्रदेखि उपमहानगरले संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गर्नुका साथै अनलाइन आवेदनमार्फत छात्रवृत्ति छनोट परीक्षा समेत सञ्चालन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण