नेपालमा अन्तर्राष्ट्रिय बोधी सम्मेलन हुँदै
सारांश
- नेपालमा 'बोधी संवाद २०२६' नामक अन्तर्राष्ट्रिय सम्मेलन असार २ गतेदेखि चार दिनसम्म आयोजना हुने भएको छ ।
- यो सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, श्रीलङ्का, दक्षिण कोरिया, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका जस्ता देशहरूका पूर्व मन्त्री, परराष्ट्र सचिव, कूटनीतिज्ञ, अर्थशास्त्री, सुरक्षा विज्ञ र निजी क्षेत्रका नेतृत्वकर्ताहरूको सहभागिता रहनेछ ।
- सम्मेलनको पहिलो दुई दिन नेपालको आर्थिक विकासको सम्भावना र पछिल्लो दुई दिन दक्षिण एसियामा भू–राजनीतिक परिवर्तन तथा चीनको भूमिकामाथि छलफल हुनेछ ।
काठमाडौँ । नेपाल, दक्षिण एसिया तथा विश्वव्यापी रूपमा विकास भइरहेका आर्थिक, राजनीतिक र भू–राजनीतिक परिवर्तनहरूबारे विमर्श गर्न ‘बोधी संवाद २०२६’ सम्मेलन हुन लागेको छ ।
सामाजिक नवप्रवर्तन र विदेश नीति केन्द्र (सीइएसआइएफ) ले असार २ गतेदेखि चार दिनसम्म आयोजना गर्ने सो सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, श्रीलङ्का, दक्षिण कोरिया, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका लगायतका देशहरूबाट प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहनेछ । सीइएसआइएफले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गराएको जानकारी अनुसार कार्यक्रममा विभिन्न देशका पूर्व मन्त्रीहरू, पूर्व परराष्ट्र सचिवहरू, वरिष्ठ कूटनीतिज्ञहरू, अर्थशास्त्रीहरू, सुरक्षा विज्ञहरू तथा निजी क्षेत्रका नेतृत्वकर्ताहरूले आफ्ना अनुभव र विचार राख्नेछन् ।
सीइएसआइएफका निर्देशक विजयकान्त कर्णले नीति निर्माण, शैक्षिक अनुसन्धान र निजी क्षेत्रको अनुभवलाई एउटै स्थानमा जोड्दै नेपालको आर्थिक रूपान्तरण, नीतिगत सुधार र रणनीतिक सोचमा सकारात्मक योगदान पुर्याउनु नै यस बोधि संवादको लक्ष्य रहेको बताए । ज्ञान र विवेकमा आधारित संवादमार्फत साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्य बोकेको यस सम्मेलनलाई दुई प्रमुख विषयगत धारमा विभाजन गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनको सुरुवातका दुई दिन अर्थात् असार २ र ३ गते नेपालको आर्थिक विकासको सम्भावना विषयमा केन्द्रित रहेर छलफल हुनेछ । असार ४ र ५ गते दक्षिण एसियामा भू–राजनीतिक परिवर्तन र चीनको भूमिका विषयगत धारमा छलफल सञ्चालन हुने बताइएको छ ।
यस सत्रमा विश्व राजनीतिमा भइरहेको शक्ति सन्तुलनको परिवर्तन र दक्षिण एसियामा चीनको बढ्दो प्रभावबारे रणनीतिक विश्लेषण गरिने बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण