शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विमान विद्रोह : शरीरमा काँडा उम्रिने अपहरण कथा

शनिबार, ०९ भदौ २०७५, १० : १०
शनिबार, ०९ भदौ २०७५

-कृष्ण कँडेल 

वर्तमानमा हिंसात्मक आन्दोलनको नाम उच्चारण गर्न आनाकानी गर्नेहरू हिजो महान क्रान्तिकारी थिए । नेपालमा राणा शासनको इतिहासको उत्तखनन् गर्ने हो भने हिंसा र काटमार शिवाय केही भेटिँदैन । जङ्गबहादुरले रचेको कोतपर्वलगायत भन्डारखाल पर्व अनि आन्तरिक राजनीतिक षड्यन्त्रको जालोमा परेर राजपाट आफ्नो हातमा लिन महारानीहरूले महाराजहरूलाई अनेक तिकडम गरेर मारेको वा जेलमा हालेका तिलस्मी कथाहरू हामीले पढ्ने गरेका छौँ  । एक सय चार वर्षसम्म अविच्छिन्न रूपमा चलेको जहानिया राणा शासनको अन्त्यका लागि नेपाली काँग्रेसको नेतृत्व मा “मुक्ति सेना” गठन गरेर सशस्त्र सङ्घर्ष चलाएपछि राणाहरूले आत्मसमर्पण गरेको कुरा हामीले इतिहासमा पढ्न पाइन्छ । कालान्तरमा इतिहास विस्मृतिमा रहने र त्यही इतिहासका जिउँदा साक्षीहरूले इमानदारीपूर्वक आफूले देखेको र भोगेको कुरा जस्ताको त्यस्तै नराख्दा भाविपुस्ता ठगिएको महसुस नभएको पनि होइन । तथापि लिखित इतिहासले त्यस युगको प्रतिनिधित्व गर्छ र हामीले त्यही इतिहासको आँखाले विगतलाई नियाल्ने हो । 
हिंसाको सहारा लिएर क्रान्तिको विषय 

कोट्याउँदै गर्दा हालै मात्र दुर्गा सुवेदीको एउटा पुस्तक बजारमा आएको छ “विमान विद्रोह” । पञ्चायती शासनविरूद्ध बीपी कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसले गरेको सशस्त्र सङ्घर्षलाई सहयोग पुर्याउन नेपालराष्ट्र बैङ्कको भारू ३० लाख लुट्न दुर्गा सुवेदीले वसन्त भट्टराई र नगेन्द्र ढुंगेलसँग मिलेर विक्रम संवत् २०३० सालमा तत्कालीन शाही नेपाल वायु सेवा निगमको विमान अपहरण गरेका थिए । जेठ २८ गते भएको विमान अपहरणको मुख्य पात्रको रूपमा प्रस्तुत भएका लेखकले (बीपीको निर्देशन र गिरिजाप्रसाद कोइरालाको योजनामा विमान अपहरण गरिएको उल्लेख गरेका छन् । 

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालालाई सैनिक बलमा अपदस्थ गरी जेलमा राखेर पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए । ८ वर्ष जेल बसेपछि बीपी २०२५ साल कात्तिक १४ गते जेलमुक्त भएका थिए । राजा महेन्द्रको षड्यन्त्रपूर्ण व्यवहारबाट तिलमिलाएका बीपी कोइरालाभित्र क्रान्तिको ज्वाला मडारिरहेको थियो । पञ्चायत र राजा महेन्द्रविरूद्ध सशस्त्र क्रान्ति कसरी गर्ने ? क्रान्ति सफल पार्न आर्थिक व्यवस्थापन कसरी गर्ने ? लगायतका अनगिन्ती प्रश्नको उत्तर खोज्ने प्रयासमा बीपी भारतका विभिन्न सहरमा भारतीय नेताहरूको सहयोग र सद्भावमा घुमिरहेका थिए । भारत प्रवाशमा रहेको बेला आफ्नो उपचारका लागि अमेरिका पनि पुगेका थिए । यसक्रममा नेपालमा सशस्त्र क्रान्ति गरेर पञ्चायती शासन ढाल्न पैसाको खोजी हुने क्रममा भारतीय नेताहरूकै सल्लाह र सुझावमा बीपीको निर्देशनमा गिरिजाप्रसाद कोइरालाले अनेक जुक्ति लगाएर विराटनगरबाट नेपाल राष्ट्र बैङ्कको भारू ३० लाख काठमाडौँ जाँदै छ भन्ने सुइँको पाएपछि दुर्गा सुवेदीलगायतका युवालाई सुनाएपछि आफ्नो ज्यान जोखिममा पारेर ती युवाहरूले त्यो डरलाग्दो रोमाञ्चकारी खेलखेल्न आफूहरू तयार भएको भन्दै देशका नाममा मृत्यु मार्गमा प्रवास गरे । विमान अपहरण सफलभयो त्यो जहाजमा यात्रा गरेका यात्रुलगायत अन्तर्राष्ट्रिय अपराध मानिने विमान अपहरणका अभियुक्तहरू पनि बाँचे । देश र जनताका नाममा क्रान्तिका खÞातिर भनिएको अपहरण पछि प्राप्त भएको रकमले हतियार किनेर ओखलढुंगा विद्रोह भएको संक्षिप्त जानकारी लेखकले दिएका छन् । ओखलढुंगा विद्रोहमा धेरैले  सहादत प्राप्तगरेका थिए । 

विमान विद्रोह पुस्तक पढ्दा शरीरमा काँडा उम्रिन्छ । साहित्य र रोमाञ्चकारी ढङ्गबाट लेखक प्रस्तुत भएका छन् । भारतीय भूमिमा लुक्दै हिँड्दा र अन्ततः गिरफ्तारीमा परेपछि यातनाका दारूण कथाले जो कोहीलाई पनि स्तब्ध बनाउँछ । पुस्तकमा नेपाली काँग्रेसभित्रको आन्तरिक खिचातानीको पाटोलाई प्राथमिकताका साथ चित्रित गरिएको छ ।  लेखक स्वयम् आफ्नै नेता गिरिजाप्रसाद कोइरालाबाट भाग्दै हिँड्नुपरेको प्रसङ्ग पनि मार्मिक एवम् रहस्यमय छ । दुर्गा सुवेदीले भारतबाट नेपालमा वसेका आफ्ना साथीहरूलाई चिठ्ठी लेखेको सन्दर्भमा बीपीले दुई थप्पड हिर्काएको प्रसंग उल्लेख गरिरहँदा त्यो चिठीमा के थियो ? उनले बाहिर प्रकाशमा ल्याउन किन चाहेनन् ? त्यो लेखकीय इमानदारीताभित्र पर्छ कि पर्दैन ख्यालै गरेनन् । त्यति मात्र होइन गिरिजाप्रसाद कोइरालासँग भाग्दै हिँड्नुपर्नाको गुह्य कुरो पनि उल्लेख गरेका छैनन् । तर पनि विराटनगरबाट विमान अपहरण गरेर भारतको फारबेसगञ्जको मैदानमा सकुसल अवतरण गराएर बीपी र गिरीजाप्रसादको साथमा भारतका विभिन्न सहरमा पुग्दाका घटनाक्रमले पुस्तकले  पाठकलाई तान्न सफल भएको छ । राष्ट्र बैङ्कको ट्याङ्का फुटालेर  छालाको धोक्रोमा पैसा राखेको प्रसंग अनि दक्षिण एसियामै पहिलो पटक विमान अपहरण भएको घटना नेपालको सरकारी रेडियो र भारतीय सञ्चार माध्यममा प्राथमिकताका साथ प्रकाशित भएका घटनाक्रम उल्लेख्य छन् । 

नेपालमा २०४६ सालको जनान्दोलन पश्चात कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेका सरकारका पालमा पनि लेखक काँग्रेस कित्ताभन्दा बाहिर किन परे ? कोइरालाहरूले दुर्गा सुवेदीलाई देख्नै सकेनन् भनियो आखÞिर किन यस्तो भयो ? क्रान्तिको लागि खर्च जुटाउन विमान अपहरण जस्तो जोखीमपूर्ण काम सम्पन्न गर्ने ती क्रान्तिकारी योद्धा काँग्रेसको रिङभन्दा बाहिर किन  परे ? यसको जवाफ पुस्तकमा कहीँ कतै भेटिएन । अब पाठकले वसन्त भट्टराई  र नगेन्द्र ढुंगेलको आत्मकथा पढ्न पाए भने त्यो पाटोको सत्यतथ्य पनि बाहिर आउने थियो कि ? 


“विमान विद्रोह”का सन्दर्भमा डा. बाबुराम भट्टराईले एक इतिहास निर्माताको वकपत्र भन्दै लेखेका छन्– “एकातिर विश्वमा विद्रोह र क्रान्तिका लहरहरू चलिरहेका थिए भने नेपालमा निरङ्कुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थाको निर्ममता र कठोरताको पराकाष्ठा थियो । त्यहीबेला नेपालको पहिलो विमानकान्ड भएको थियो । त्यसका एकजना अगुवा दुर्गा सुवेदी घर घरमा चर्चाका पात्र बन्नुभएको थियो ।” त्यसैगरी पुस्तक र दुर्गा सुवेदीका बारे प्रदीप गिरीको कथन भने यस्तो छ– “विमान अपहरणको त्यो सहासिक कार्यमा दुर्गा सुवेदी आफै जहाजको ककपिटमा हातमा पेस्तोल लिएर तत्पर हुनुभएको थियो । यस घटनाका प्रत्यक्षदर्शी आज पनि जीवित छन् । आफ्ना जीवनका तथ्यहरूको छनौट गर्दा जीवनीकारहरूले आफ्नो जस बढाउने  कुरा मात्र लेख्छन् । आफूलाई जस नदिने खालका घटनाक्रमहरू ठूलावडाले समेत विर्सने गरेको देखिन्छ “ । 

किताब पब्लिसर्स प्रालिद्वारा प्रकाशित यो पुस्तकको मूल्य पाँच सय असी अली चर्को लाग्यो भरखर भरखर पुस्तक किनेर पढ्ने संस्कृतिको विकास भइरहेको अवस्थामा लेखक र प्रकाशकले किताबको मूल्य तोक्नु अघि ठन्डा दिमागले सोचेर मात्र मूल्य निर्धारण गर्दा उपयुक्त होला । तीन सय दुई पृष्ठको पुस्तकको साजसज्जा ठिकै छ । चलचित्रझैं बगेको छ, पुस्तक पढ्न बसेपछि छोड्न मन लाग्दैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप