शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिरासतमा मृत्यु भएपछि उपेन्द्र यादवविरुद्ध आन्दोलन गर्न जेपी गुप्ताको आह्वान

शनिबार, १६ भदौ २०७५, १९ : ४६
शनिबार, १६ भदौ २०७५

काठमाडौं । बर्दियाको प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवको बारेमा चौतर्फी विरोध भएको छ । हिरासतमा रहेका यादव अचानक बिरामी भएको भन्दै उनलाई उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । 

यादवको मृत्यु बिमारीले होइन, प्रहरीको यातनाले मृत्यु भएको दावी गरिएको छ । मधेशी नागरिक समाज तथा बुद्धिजिवीले यादवको मृत्युको स्मरणमा मैतिघर मण्डलामा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा बोल्ने वक्ताहरुले हिरासतमा प्रहरीले यातना दिएर हत्या गरेको र छानबिन हुनुपर्ने माग गरेको छ ।

राजनीतिक विश्लेषक सिके लालले मधेशीमाथि राज्यको दमन बढ्दै गएको यसलाई पछिल्लो उदाहरणको रुपमा लिनुपर्ने बताए । कसैलाई कालो झण्डा देखाउँदैमा थुनेर राख्न पाइदैँन, थुनेर राखेपछि त्यसलाई यातना दिन पाइदैँन तर प्रहरीकै हिरासतमा रहेका यादवको मृत्यु हुनु शंकास्पद रहेको उनले बताए ।

उनले भने, ‘राज्यले यसको जवाफ दिनुपर्छ । वाक स्वतन्त्रताको हनन राज्यले गरेको छ । यसको न्यायिक छानबिन हुनुपर्छ ।’ अन्य वक्ताहरुले पनि प्रहरी हिरासतमा राममनोहर यादवको हत्या भएको दावी गरे ।

भदौ ७ गते बर्दियाको जिल्ला विकास समितिमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको कार्यक्रममा झण्डा देखाउने क्रममा यादवसहित चारजना पक्राउ परेका थिए । 

पक्राउ परेपछि उनीहरुको स्वास्थ्य जाँच पनि भएको थियो । तर, त्यतिबेलाको जाँचले कुनै खराबी देखिएको थिएन । उनीहरुलाई बर्दिया जिल्ला प्रहरी कार्यालयमा राखेको थियो । 

भदौ १३ गते अचानक चारजना मध्ये राममनोहर यादवको हातखुट्टा नचलेपछि उनलाई उपचारका लागि गुलरिया अस्पतालमा भर्ना गरिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि त्यसको भोलिपल्ट भेरी अञ्चल अस्पतालमा लगिएको थियो । 

त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगञ्ज नर्सिङ होममा लगिएको थियो । त्यहाँ पनि सम्भव नभएपछि एम्बुलेन्सबाट काठमाडौं ल्याउने क्रममा उनको मृत्यु भएको बताइएको छ । 

उपेन्द्र यादव दोषी

सो घटनाको विरोध तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले पनि गरेका छन् । राम मनोहर यादवको प्रहरी थुनामा मृत्यु हुनु समान्य घटना नभएको भन्दै उनले यातनाका कारणले यादवको मृत्यु भएको दावी गरेका छन् । 

उनले विज्ञप्ति जारी गरेका भनेका छन्,– ‘स्वास्थ्यमन्त्री तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको विरोधमा कालो झण्डा प्रदर्शन गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरी थुनामा राखिएको थियो । उनको संलग्नता वा आवद्धता जोसँग भएपनि स्पष्टत उनी राजबन्दी थिए ।’

थुनामा अशक्त भएपछि पनि राममनोहरको समूचित उपचार नगराएको दावी गर्दै उनले मृत्यु निश्चित भएपछि मात्र उनलाई एम्बुलेन्सबाट नेपालगञ्ज लान लाग्दा बाटोमा मृत्यु भएको दाबी गरेका छन् । 

‘उनलाई मारिएको हो । मधेसी राजनीतिक प्रदर्शकारीहरूलाई यातना दिने, उनीप्रति सदैव असहिष्णु व्यवहार राख्नुपर्ने र ताकी–ताकी गोली प्रहार गर्ने राज्यको नीतिकै यो निरन्तरता हो’, उनले भनेका छन्, ‘तराई मधेस राष्ट्रिय अभियानको विचारमा यो हत्याबाट सरकार, मानव अधिकारवादीहरू र न्याय प्रशासनको निधारमा पुनः एक पटक कलंकको टिका लागेको छ ।’

उपप्रधानमन्त्री यादवको कार्यक्रममा कालो झण्डा देखाएकै कारण राममनोहर यादवलाई पक्राउ गरि राज्य विप्लवको मुद्दा चलाउने तैयारी गरिएको दावी गर्दै जेपी गुप्ताले मन्त्री उपेन्द्रकै निर्देशनमा उनलाई गिरफ्तार गरिएको पनि दावी गरेका छन् । 

उपेन्द्र यादवले नै रामनोहरमाथि मुद्दा चलाउन, यातना दिन प्रहरीलाई दबाब दिएको दावी गर्दै उनले उपेन्द्र यादवको विरुद्ध आन्दोलन गर्न आह्वान पनि गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप