महिला साफ च्याम्पियनसिप फुटबल : नेपालको पहिलो खेल भुटानसँग
काठमाडौं– विराटनगरमा आगामी फागुन २८ देखि चैत ८ गतेसम्म हुने पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको पहिलो खेल नेपालले भुटानसँग खेल्नेछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको तालिकाअनुसार नेपालको समूह चरणको पहिलो खेल फागुन २८ गते भुटानसँग परेको हो ।
नेपाल च्याम्यिनसिपको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान, बंगलादेश र पाकिस्तान छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका छन् । नेपालले दोस्रो खेल फागुन ३० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल चैत २ गते बंगलादेशसँग खेल्नेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताका पछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
सेमिफाइनल चैत ६ गते र फाइनल चैत ८ गते हुनेछ । च्याम्पियनसिपका लागि नेपाली महिला टोलीको प्रशिक्षण र तयारी सुरु भइसकेको छ । महिला खेलाडीलाई हरि खड्काले प्रशिक्षण दिएका छन् । भारत च्याम्पियनसिपको साविक विजेता हो । नेपालले अहिलेसम्म यस उपाधि जित्न सकेको छैन ।