केन्द्रीय संस्करण

आज रमिता छ तारुकामा

‘अराष्ट्रियतत्त्व’ गिरिजाप्रसादले कसरी हेर्न पाए ‘सेलिब्रेटी’ गोरु जुधाएको  ?

person explore access_timeमाघ १, २०७५ chat_bubble_outline2
'दार्खामा गिरिजाप्रसाद कोइराला र काँग्रेसका अन्य नेताहरु'

थारु र मगरको बिशेष चाड हो माघी  । उनीहरुको भान्सामा आज परम्परागत अनेक परिकार पाक्छन् ।

अन्य जातिका नेपालीको घर घरमा पनि उमंग छ,माघेसंक्रान्ति चाडको । पुसको पाक्य,माघमा खाक्यको । तयार छन् अनेक खाद्यपदार्थ । उसिनेका तरुल,पोलेका पिंडालु । घ्यु चाकु,तिलौरा । फुल्यौरा । मासको दाल र चामलमा बेसार हालेर पकाइने खिचडी । 

तारुकामा भने थप रमितासमेत छ,गोरु जुधाईको ।

नुवाकोटको तारकेश्वर गाउँपालिका३ तारुकाको चन्दनीमा एक सय ३० वर्षअघिदेखि प्रत्येक माघे संक्रान्तिमा गोरु जुधाउने प्रचलन छ । आज त्यहाँ २२ जोडी साँढे जुधाईंदैछ ।

जाने हो त आज, रमिता हेर्न तारुकामा ?

०००

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मानमा नामकरण गरिएको पृथ्वी राजमार्गमा पर्छ गल्छी,  काठमाडौँबाट ५० किलोमिटर पश्चिम र पोखराबाट एक सय ५० किलोमिटर पूर्वमा ।

गोगनपानीको पुछारको डाँडामा गल्छी काटेर महेश खोलाको धार परिवर्तन गरी त्रिशुली नदीमा मिसाइएकाले यो ठाउँको नाम गल्छी भएको हो ।

हेर्दा सामान्य लाग्ने गल्छी,एउटा व्यक्तिको साहस र लगनको प्रमाण अनि राणाकालीन सत्ताको शक्ति र षड्यन्त्रको साक्षीसमेत हो ।

धुनीबेशी उपत्यकाबाट बग्दै गएको महेश खोला गोगनपानीको पुछारमा पुगेपछि सानो डाँडाका कारण करिब तीन किलोमिटर तल मात्र त्रिशुली नदीमा मिसिदो रहेछ । मुखिया नन्दलाल खतिवडाले सय मिटरभन्दा अग्लो त्यो चट्टाने डाँडा काटेर महेश खोलालाई तीन किलोमिटर माथि नै त्रिशुलीमा खसालेछन् र पहिले खोला बगेको ठाउँमा खेत बिराएछन्,  जहाँ अहिले गल्छी र बैरेनी बजार बसेको छ ।

परम्परागत गल,  घन,  कुटो,  कोदालोको भरमा नौ बर्षको अथक प्रयासमा नन्दलालले त्यो गल्छी कटाएका हुन् रे । चट्टान काट्न सत्र मुरी गहतको झोल हालिएको थियो रे ।

पछि,  नन्दलालले बिराएको डेढसय रोपनी जग्गा राणा शासक श्री ३ महाराज बीर शमशेरका हजुरिया कर्णेल फौदसिंहले किनेछन् । बीर शमशेरका उत्तराधिकारी देव शमशेरलाई चार महिना पनि सत्तामा टिक्न नदिइ आफू श्री ३ महाराज बनेका चन्द्र शमशेरको कोप भाजनमा परी उपत्यकाबाट खेदिएका रहेछन् कर्णेल फौदसिंह पनि ।

नन्दलालले गल्छी काटेको ठाउँमा कर्णेल फौदसिंहले मानिसलाई आवतजावत गर्न सजिलो होस् भनी काठे साँघु हालेछन्,  जहाँ अहिले पक्की पुल बनाइएको छ । तारुका जान त्यही पुल तरेर त्रिशुली नदीको शीरतिर लाग्नुपर्छ ।

चार किलोमिटर अगाडि कोल्पुटार छ । साबिकको दुइ पिपल गाविस,  अहिले बेलकोटगढी नगरपालिकामा पर्छ यो ठाउँ ।

नेपाली साहित्यमा स्वच्छन्दतावादका प्रवर्तक महाकवि लक्ष्मीप्रसाद देवकोटाको विलक्षण प्रतिभासँग कायल नहुने को होला र ! तीन महिनामा शाकुन्तल महाकाव्य,  १० दिनमा सुलोचना महाकाव्य र एक रातमा कुन्जिनी खण्डकाव्य लेखेका थिए देवकोटाले ।

हो,  त्यही एक रातमा लेखेको कुन्जिनी खण्डकाव्यमा यहीँको परिवेश र प्रकृतिको अनुपम छटाको चित्रण अनि मर्मस्पर्शी र सन्देशमूलक कथा छ । झिल्टूङका नेपाल देवकोटाको मामा ससुराली । कोल्पुटारमाथि पर्छ झिल्टूङदेवकोटाले कुन्जिनी त्यहिँ लेखेका थिए ।

कोल्पुटारबाट त्रिशुली नदीको तिरैतिर तीन किलोमिटर अघि बढ्नुस्,  त्यहाँ छ तारुकाघाट । श्रुतिअनुसार समुद्र मन्थनबाट निस्केको कालकुट बिष लोक हितका लागि महादेवले खाइदिएका थिए । त्यही बिष समन गर्न महादेवले त्रिशुलले खोपेर गोसाइँकुण्ड बनाइ त्यसैमा डुबेर बसेका थिए रे । त्रिशुलले खोपेर बनाइएको गोसाइँकुण्डबाट बग्दै आएकाले यो नदीको नाम त्रिशुली रहेको रे ।

तारुकाघाटमा त्रिशुली पारीपट्टी तारकेश्वरको मन्दिर छ,  शिवको यही नामबाट नामकरण भएको हो,  तारकेश्वर गाउँपालिकाको ।

बिडम्बना नै हैन त,  महादेवकै नामबाट नामकरण भएको गाउँपालिकामा महादेवकै बाहन साँढे जुधाएर मनोरन्जन लिँदैछन् मान्छेहरु !

पशुलाई जुधाएर मनोरन्जन लिने कार्यलाई पशुअधिकारवादीहरु रुचाउँदैनन्,  विरोध गर्छन् । तर,  हामीकहाँ मात्र हैन,  अन्यत्र पनि पशुपन्छी भिडाएर मनोरन्जन लिने प्रचलन छ । त्यसैले तारुकामा गोरु जुधाएर मनोरन्जन गर्नु अपवाद वा अनर्थ दुवै हैन ।

मलाई मन पर्ने खेल फुटबल हो । फुटबल क्लब बार्सिलोनाको फ्यानभएकाले हो कि,  इंग्लिस प्रिमिएर लिगभन्दा पनि स्पेनको ला लिगा मन पर्छ । तर,  स्पेनकै राष्ट्रिय खेल चाहिं बुल फाइटिंगहो । हाम्रो गोरु जुधाइमा तुल्य तुल्य दुइ साँढे जुधाइन्छ,  स्पेनमा एउटा मत्त साँढेसँग मान्छे भिड्छ । मलाई स्पेनको बुल फाइटिंगको तुलनामा हाम्रै गोरु जुधाई मन पर्छ ।

मैले सानैदेखि चन्दनीमा गोरु जुधाईको मज्जा लुटेको छु ।

मेरो मामा घर चन्दनी मुन्तिरको आमचौर गाउँ । आमा घरकी जेठी बुहारी, धान भित्र्याइ सकेपछि हिउँदमा माइत जान पाउनु हुन्थ्यो । म पनि सानोमा आमासँगै दुइदिनको बाटो हिँडेर मामाली जान्थ्यें ।

मलाई मामाघर साह्रै रमाइलो लाग्थ्यो । केही काम गर्न नपर्ने, पढ्न पनि नपर्ने । मामाका छोराहरुसँग खेल्न पाइने । फेरि मामाली खलक अधिकारीले मात्र हैन, ढकालले पनि, सिग्देलले पनि, न्यौपानेले पनि, नेवारले पनि, घर्तीले पनि, ठकुरीले पनि, मगरले पनि, अर्थात् सबै जात थरकाले भान्जा भन्ने र औधी माया पनि गर्ने । घ्यु-चाकु, फुल्यौरा, खिचडी खान र चन्दनीमा गोरु जुधाएको हेर्न पाइने माघेसंक्रान्ति त झनै रमाइलो लाग्थ्यो । अहा !

०००

जयपृथ्वीबहादुर सिंहको नाम सुन्नु भएको छ ? नाम सुनेको मात्र हैन,  ती असल मान्छेको बारेमा तपाईंलाई धेरै कुरा थाहा होला । तैपनि कसैकसैलाई थाहा नहुन सक्छ,  त्यसैले यत्ति बताई दिइहालूं: जयपृथ्वी बझाङका ५६औँ राजा हुन् । उनी दुइपल्ट बझाङको राजा भए भने दुइपल्ट नै राजपाठ त्याग्न बाध्य पनि ।

उदारवादी र मानवतावादी थिए जयपृथ्वी । उनी राजा थिए तर महान् मानवतावादी । कतिपयले त उनलाई गौतम बुध्दपछिका ‘एशियाका तारा’ समेत भन्थ्ये । निरङ्कुश राणा प्रधानमन्त्री चन्द्र शमशेरका ज्वाईं थिए तर जयपृथ्वी थिए अत्यन्तै उदारवादी ।

सुदुर पश्चिमको बिकट राज्य बझाङको चैनपुरमा विसं १९३४ भदौ ७ मा जन्मिएका थिए जयपृथ्वी । पाँच बर्षको उमेरदेखि पढ्न थाले, काठमाडौँको दरबार हाइस्कूलमा पढे र कलकत्ता विश्वविद्यालयबाट विसं १९५१ सालमा म्याट्रिक उत्तीर्ण गरे । जयपृथ्वीको रुचि भने राजनीतिशास्त्र,  समाजशास्त्र,  विज्ञान,  कानून,  दर्शन,साहित्य,  व्याकरण,  पत्रकारिता जताततै थियो ।

पाठ्यपुस्तक लेख्ने र लेखाउने काममा पनि जयपृथ्वी सक्रिय थिए । जयपृथ्वीले लेखेका अक्षराङ्क शिक्षा,  व्यवहार माला,  पदार्थ तत्वविवेक,  भुगोलबिद्या,  प्राकृत व्याकरण,  स्रेस्ता बोध आदि गरी झन्डै दुइदर्जन पुस्तक प्रकाशित छन् ।

जयपृथ्वी गधापच्चिसे उमेर नकट्दै मुलुककै पहिलो समाचारपत्र साप्ताहिक गोर्खापत्रको सम्पादक भए । चन्द्र शमशेरको युरोप भ्रमण दलमा उनी सम्पादकका रुपमा सामेल थिए । पछि उनी रुस गए,  जापान गए,  अमेरिका गए,  अफ्रिकासमेत गएका थिए ।

युरोपको प्रजातान्त्रिक परिपाटिबाट प्रभावित जयपृथ्वीले नेपालमा पनि निरङ्कुश शासन हटाएर प्रजातन्त्र स्थापना गर्नुपर्छ भन्ने विचार राख्न थालेपछि उनको सम्पादक पद गुम्यो ।

उदारवादी राणा प्रधानमन्त्री देव शमशेरद्वारा विसं १९५८ बैशाख २४ मा गोर्खापत्रमा सम्पादक नियुक्त जयपृथ्वीलाई विसं १९७३ मा आफ्नै ससुरा चन्द्र शमशेरले वर्खास्त गरे । चन्द्र शमशेरद्वारा नै पदच्युत गरिएका देव शमशेर उपत्यकाबाट मात्र खेदिएका थिए,जयपृथ्वी त भारत प्रवासमै जानुप-यो ।

मानवतावादी विचारक जयपृथ्वी देशबाट निकालिएपछि भारतको बैंगलोर गएर बसे,  जहाँ उनले मानवतावादी सिध्दान्तको प्रचार गर्न मानवतावादी संघ खोले । विश्वशान्ति,  भातृत्व र मानवताको उत्थानमा उनी निरन्तर लागिरहे । जयपृथ्वीले मानवतावादी बिचार फैलाउन द हयुमानिष्टनामक मासिक पत्रिका चलाएका थिए भने बर्मामा समेत जेपी इन्स्टिच्युट खोलेका थिए ।

आफ्नै दाम्पत्य जीवन टुटे पनि र नि:सन्तान रहे पनि, वसुधैव कुटुम्बकम् उनको मूल मन्त्र थियो । जयपृथ्वीले बिश्वलाई एक घर भन्दै सबै देश र मानिसहरुलाई एक आपसमा मिलेर बस्न घच्घच्याइ रहे ।

नेपालमा जहानियाँ राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको हेर्न भने जयपृथ्वीले पाएनन् । नेपाली काँग्रेसको नेतृत्त्वमा भएको २००७ सालको क्रान्तिले राणा शासन हटाउनु १० बर्षअघि नै,  चार शहीदले शहादत प्राप्त गरेको बर्ष अर्थात् देवकोटाले कुन्जिनी लेखेको वर्ष,  १९९७ सालको असोज १ गते बैंग्लौरमा उनको निधन भयो ।

अनित्य चोला,  को नै अजम्बरी हुन्छ र ! तर जयपृथ्वीको नाम धेरै कुरामा पहिलो बनेर अमर छ । नेपालको पहिलो पत्रिका गोरखापत्रको पहिलो सम्पादक उनै । पहिलो नेपाली पाठ्यपुस्तक लेख्ने उनै । बझांगमा पहिलो बिद्यालय सत्यवादी पाठशाला र पहिलो अस्पताल खग आयुर्वेदिक औषधालय खोल्ने पनि उनै । बझांगमा जग्गाको व्यवस्थित नापी गराउने र भूमिसुधारको माध्यमबाट गरिब किसानहरुलाई पहिलोपल्ट मोहियानी हक दिलाउने उनै । विश्व भ्रमण गर्ने पहिलो नेपाली पनि उनै ।

यसरी धेरै कुरामा पहिलो बन्नु पहिले नै,  जयपृथ्वी नौ दस बर्षको हुँदा काठमाडौँको जाडो छल्न आमासँगै मामा घर (?) तारुका पुगेका थिए रे । उनी तारुकाको झोलीको देउतात थिए नै,  बझांगी राजा बिक्रमबहादुर सिंहको छोरा भएकाले विशिष्ट पाहुनासमेत थिए रे । त्यसैले माघेसंक्रान्तिका दिन गोरु जुधाएर उनलाई मनोरन्जन गराइएको थियो रे । त्यसयता,  तारुकामा प्रत्येक माघे संक्रान्तिमा गोरु जुधाउने चलन चल्दै आएको हो रे ।

गोरु जुधाई संरक्षण संस्थाका सल्लाहकार एवं तार्केश्वर-३ का वडाध्यक्ष समरबहादुर आलेमगरका अनुसार त्यही गोरु जुधाईको स्मरण जीवन्त राख्न २०६२ सालदेखि स्थानीय युवाको पहलमा मेला र पर्वकै रुपमा मनाउन थालिएको हो ।

गोरु जुधाई मेला व्यवस्थापनका लागि माघे सङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्था दुई वर्षअघि नुवाकोट जिल्ला प्रशासन कार्यालयमा दर्तासमेत गरिएको छ ।

त्यही संस्थाको अग्रसरतामा चन्दनीमा बारीको गरा खारेर ठूलो पाटा बनाइएको छ । गोरु जुधाई मेलास्थलमा पार्किङ,  खानेपानी,  खाना,  खाजाको सहज प्रबन्ध मिलाइएको हुन्छ ।

वान भर्सेज वानको आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमासमेत गरिएको हुन्छ ।

मैले सानैमा चन्दनीमा गोरु जुधाई हेर्दा यी कुनै कुरा थिएनन् । मोटर बाटो नै थिएन,  किन चाहियो पार्किंग ! मामाघरबाट ५/७ मिनेटमै गोरु जुधाइन्थ्यो,  किन चाहियो खाजा-खानाको प्रबन्ध ! यद्यपी,  त्यहाँ एउटा टुहुरे पसल भने थियो । मलाई त नेवार मामाले सित्तैमा पिपलमेठ खान दिनुहुन्थ्यो ।

त्यतिबेला,  यति धेरै गोरु पनि कहाँ जुधाइन्थ्यो र ! बढीमा दुइजोडी गोरु हुन्थ्ये भिड्ने । कहिले ढकाल मामाको गोरुले जित्थ्यो,  कहिले चन्दनीकै नेवार मामाको गोरुले । जित्ने गोरु धनीलाई अबिर दलिन्थ्यो,  त्यत्ति हो । अहिलेजस्तो कहाँ नगद पुरस्कार पाउँथे र तिनले ! अहिले त प्रतिस्पर्धामा विजेता गोरुधनीलाई छ हजार र उपविजेतालाई चार हजार रूपैयाँसहित प्रमाणपत्र दिइन्छ ।

तारुकाको सिको गरेर वा स्वत:स्फुर्त रुपमा गोरु जुधाई त धेरै ठाउँमा हुन्छ तर यी सबै प्रबन्धले गर्दा तारुकाको गोरु जुधाई बिशेष हुने गरेकोछ । त्यसैले तारुकाका किसानहरुमा जुधाउने गोरु पोस्ने प्रतिस्पर्धा नै हुने गर्छ । गोरु के जुध्दछन्,  उनीहरु त जसरी पनि आफ्नो प्रतिद्वन्दी गोरुलाई हराउन सक्दो बलबुध्दी लगाइरहेका हुन्छन् । खास जुधाई त गोरु धनीका अनुहारहरुमा भैरहेको हुन्छ । जुवाडे दिनमा दशपल्ट रुन्छ,  दशपल्ट हाँस्छ भनिन्छ । जुधिरहेका गोरु धनीका अनुहार त झन् छिनछिनमै हाँस्ने र रुने गरिरहेको हुन्छ ।

साँच्चैको रोमान्चक भिडन्त !

गोरु जुधाईको धेरैपटक दर्शक बनेको म, परिस्थितिबस आफ्नो गाउँमा एकपटक आयोजकसमेत बनेको थिएँ ।       

०००

प्रतिनिधि मण्डलका सदस्यहरुले परिचय दिंदै जाँदा केहीले आफ्नो थर सिम्खडा बताएपछि, नेपाली काँग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइरालाले बीचैमा भने रे, ‘धादिंगका सिम्खडाहरुमा जम्मा दुइजना केटा मात्र काँग्रेस थिए हैन र ?’

कांग्रेको नेतृत्त्वमा भएको २०४६ सालको जनआन्दोलनले निर्दलीय पन्चायती प्रणाली अन्त्य र बहुदलीय व्यवस्था पुनर्स्थापना गराएपछि पूर्व पन्चहरु काँग्रेसमा प्रवेश गर्ने लहरै चलेको थियो । तिनलाई त्यतिखेर ‘चैते’ भनिन्थ्यो । धादिंग काँग्रेसको त्यो प्रमण्डलमा पनि, त्यस्ता ‘चैते’हरु पनि थिएछन् ।

त्यो भेटमा सहभागी तत्कालीन तामांगखर्क माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण सिम्खडाले सुनाउनु भयो, ‘खै गोरु जुधाउने ती दुइ सिम्खडा केटा आएका छैनन् भनेर सोध्नु भयो गिरिजाबाबुले ।’

हो, २०३७ सालको हिउँदमा शैलेन्द्र सिम्खडा र मैले एउटा कार्यक्रम सफल पार्ने जुक्तिको रुपमा हाम्रो गाउँ दार्खामा गिरिजाबाबुलाई गोरु जुधाएर देखाएका थियौँ । तर, २०४७ सालको त्यो प्रमण्डलमा हामी सामेल थिएनौं । त्यतिखेर, शैलेन्द्र सिम्खडा कलाकारिता र म पत्रकारिता पेशामा लागिसकेका थियौँ ।

शैलेन्द्र सिम्खडा कान्छाको नाती, म जेठाको पनाती । नाताले काका भतिज तर जन्म केही महिनाको मात्र अन्तर । घर वल्लो र पल्लो । मामाघर पनि एकाघर, चन्दनी मुन्तिरको आमचौर गाउँको बाँकेघर, हाम्रो मामा घर । बाबु उहाँको मामा, छोरा मेरो मामा । उहाँको आमा फुपू, मेरी आमा भदै ।

हामी दुवै काँग्रेस कार्यकर्ताको परिवारको सदस्य । उहाँको दाइ तुलसीप्रसाद सिम्खडा र मेरो बुबा बाबुराम सिम्खडा दुवै २०१५ सालमा भएको आमचुनावमा नेपाली कांग्रेसको प्रचारक, चारतारे झन्डा बोकेर रुखलाई भोट माग्दै हिँड्नु भएको । तत्कालीन १०७ नम्बर निर्वाचन क्षेत्रमा काङ्ग्रेस उम्मेदवार जगतप्रकाशजङ्ग शाह (त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति नवीनप्रकाशजङ्ग शाहका पिता) र  अर्को शक्तिशाली पार्टी गोर्खा परिषद्का अध्यक्ष भरतशमशेर राणाको भिडन्त भएको रहेछ । चुनाव भरतशमशेरले जितेछन्, जो संसदमा प्रमुख प्रतिपक्षी नेतासमेत बने । त्यहाँ हारे पनि १०९ क्षेत्रमध्ये ७४ क्षेत्रमा जितेर कांग्रेसले सरकार बनाएछ ।

तर, हामी आफ्नै पार्टीको सरकार रहेको बेला भएको पश्चिम १ नम्बर काण्ड अर्थात् खनियाबास लुटपाटका पीडित । शिशुकालमै आन्तरिक शरणार्थी, एक डेढ वर्ष नपुग्दै वयस्कहरुसँगै कैदी बनाइएका । २०१७ साल पुस १ गते राजा महेन्द्रले सैन्यबलमा जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि हामी चैं जेलमुक्त ।

हामीले बाल्यकालका उपद्रवहरु सँगै ग-यौं । सँगै कांग्रेसलाई सराप्यौं, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ सँगसँगै पढ्यौं । हामी माध्यमिक शिक्षाका लागि काठमाडौँमा पनि सँगै आयौँ ।

राजनीति बुझिनसक्नुको हुन्छ । २०१८ सालमा भारत प्रवासबाट सशस्त्र क्रान्ति चलाउने सुवर्णशमशेर २०२५ सालमा ‘राजालाई सभक्ति सघाउने’ वक्तव्य निकालेर स्वदेश फर्केछन् । त्यही वक्तव्यको समर्थन गर्दै कारामुक्त भएका बीपी र गणेशमान सिंह चाँही भारत प्रवासमा गएछन् । र, प्रजातन्त्र पुनर्स्थापनाका लागि सशस्त्र क्रान्तिको नीति लिएछन् ।

त्यो नीति कार्यन्वयनको क्रममा, बिराटनगरबाट ३० लाख भारतीय रुपियाँ बोकेको प्लेन अपहरण गर्न सफल भएपनि ओखलढुंगा आक्रमणमा व्यापक क्षति व्यहोर्नुपरेछ भने दार्खा खनियाबासमा लुटपाट गर्ने योजना गर्भमै तुहिएछ ।

समग्रमा सशस्त्र संघर्ष असफल भएपछि, २०३३ साल पुस १६ गते बीपी र गणेशमान पटनाबाट ‘राष्ट्रिय एकता र मेलमिलाप नीति’ लिएर स्वदेश फर्किने भएछन् ।

स्याङ्जाका भूपति ढकाल ‘कमल’ काका र डिल्लीरमण ढकाल दाइ तथा संखुवासभाका सुनिल दाहाल दाइले निर्दलीय पंचायतको निन्दा र प्रजातन्त्रको प्रशंसामा अनेक तर्क र तथ्य सुनाएर हामीलाई ‘आस्था’बाट विचलित तुल्याउने प्रयास गरिरहनु भएको थियो । त्यो दिन पनि हामीलाई बीपी र गणेशमानको स्वागतमा जान उक्साउनु भयो । हामी स्कुले विद्यार्थी, त्रिभुवन विमानस्थल त गयौँ तर ‘वीर’ बीपी र गणेशमानको स्वागत गर्न हैन, ‘अराष्ट्रियतत्त्व’ बीपी र गणेशमानलाई कालो झन्डा देखाउन ।   

हामीले बीपी र गणेशमानलाई देख्न पाएनौँ, पर हवाईजहाज ल्याण्ड हुने बित्तिकै गिरफ्तार गरेर सुन्दरीजल जेलमा लागिएछ । तर, विमानस्थलमा बीपी र गणेशमानको स्वागतमा पुगेकामाथि पंचायतका मण्डलेहरुले गरेको लछारपछार र हातपात हामीलाई पन्चायती कित्ताबाट प्रजातान्त्रिक पक्षधर बनाउने प्रमुख कारक बन्यो । छ्या, कति घृणित थियो, भक्तपुरका दिनेश श्रेष्ठको मुक्का प्रहारबाट तनहुँका गोपाल पराजुलीको दाँत भाँचिएको र रगतको भल बगेको त्यो कुरूप दृश्य !

त्यो दिनबाट हामीले भूपति काका, रमण दाइ र सुनिल दाइका कुरा गम्भीरतापूर्वक लिन थाल्यौँ ।

खोजीनीति गर्दै जाँदा के पनि थाहा पायौँ भने पश्चिम १ नम्बर काण्डको नेतृत्त्व गरेको बेला दामन पाख्रिन स्वयम् काँग्रेस कार्यकर्ता हैन, छुट्टीमा घर आएको भारतीय गोर्खा सैनिक मात्र रहेछन् ।

सानो झिल्कोले डढेलो लगाउँछ भनेझैँ त्यो लुटपाट घटनाको निहुँ पनि सानै रहेछ ।

खनियाबासमा एकजना रिजालको खेतबाट धान चोरी भएछ । खेतबाट धान चोरेको अभियोग लगाउँदै एक निर्दोष तामांगलाई यातना दिइएछ, जुन हक्की स्वभावका दामनले सहन नसकेर प्रतिवाद गरेछन् । तर, खनियाबासका टाठाबाठाहरुले एउटा ‘लाहुरे ठिटो’लाई महत्व दिएनछन् । यही इखले दामन छुट्टी सकिए पनि जागिरमा फर्किएनछन् । र, आफ्ना समुदायका युवा सङ्गठित गरेर खनियाबासका रिजालहरूमाथि जाइ लागेछन् ।

रिजालहरूले प्रशासन गुहारे तर वास्ता गरिएनछ । काङ्ग्रेस सरकार, प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेरको निर्वाचन क्षेत्र भनेर तर्किने । भरतशमशेर थोरै सङ्ख्याका रिजालको पक्ष लागेर बहुसङ्ख्यक तामाङलाई चिढ्याउन नचाहने । यही स्थितिको फाइदा उठाएर दामन नेतृत्वको समूहले असारसम्ममा खनियाबासमा पूरै लुटपाट मच्चाएछ ।

त्यसपछि वनमा डढेलोको लप्का फैलिएझैँ खनियाबास लुटपाटको लपेटमा छिमेकी गाउँहरु दार्खा, गुम्दी, मार्पाक र टक्सारसम्म परेछन् । (गुम्दीमा भने लुटपाटको नेतृत्व प्रमुख प्रतिपक्षी दल गोरखा परिषद्का सक्रिय कार्यकर्ता ‘मिस्टर’ हरिबहादुर थापाले गरेका रहेछन् ।)

अन्तत: पश्चिम १ नम्बरको त्यो लुटपाट घटना राजा महेन्द्रका लागि संसदीय व्यवस्था खारेज गर्ने अनेक निहुँमध्ये एउटा प्रमुख निहुँ नै बन्न पुगेछ ।

२०१७ पुस १ को घटनापछि दामन पाख्रिन पक्राउ परेका र भेटिएजति काँग्रेसका नेता कार्यकर्ता पनि जेलमा कोचिएका । शत्रुको शत्रु मित्र भनेझैँ भएछ । काँग्रेसका नेता कार्यकर्ताको सङ्गतले उनी पनि काँग्रेस बनेछन् ।

हामीले पछि, पूर्व प्रधानमन्त्री बीपी कोइराला र उनको गृहमन्त्री सुर्यप्रसाद उपाध्यायलाई पनि भेटेर पश्चिम १ नम्बर काण्डको सत्य तथ्य के हो भनेर सोधखोज ग-यौं । उनीहरुको कुराले चित्त बुझेपछि हामी कांग्रेसमा आबध्द भयौँ ।

दार्खाका क्याप्टेन सुनबहादुर गुरुङ बा भन्नुहुन्थ्यो,  ‘कुकुरलाई कुनातिर बाँध्नु पर्छ, छोराहरुलाई ठूलो शहरतिर पठाउनु पर्छ ।’  उहाँले त्यत्तिकै अर्ति दिनु भएको हैन रहेछ ।

तर, यो घटना हाम्रो परिवारमा त अस्वाभाविक र अपाच्य थियो नै, सिङ्गै धादिंग जिल्लामा पनि अचम्मका रुपमा लिइयो । कुकुर भुक्दै गर्छ, हात्ती लस्किरहन्छ भने झैँ हामी पंचायतविरोधी आन्दोलनमा लागिरह्यौं । शैलेन्द्र काका सडक कविता क्रान्तिमा सक्रिय हुनुभयो भने म विद्यार्थी आन्दोलनमा ।

विद्यार्थी आन्दोलन चर्कँदै जाँदा २०३६ जेठ १० गते राजा बीरेन्द्र निर्दल कि बहुदल रोज्ने जनमत संग्रहको घोषणा गर्न बाध्य भए । उनले २०३७ बैशाख १ गते राजनीतिक नेता कार्यकर्तालाई आममाफीको घोषणा पनि गरे । त्यो घोषणापछि भारत प्रवासमा रहेका काँग्रेस नेता गिरिजाप्रसाद कोइराला, दामन पाख्रिनहरु स्वदेश फर्किएका थिए ।    

जनमत संग्रहमा दार्खामा हामीले बहुदललाई जितायौं । तर, समग्र मुलुकमा भने अनेकौं तिकडम गरेर बहुदल हारेको र निर्दलले जितेको नतिजा सुनाइयो ।

जनमत सङ्ग्रहको केही महिनापछि २०३७ साल हिउँदमा प्रतिबन्धित काङ्ग्रेसका महामन्त्री गिरिजाप्रसादलाई संगठन बिस्तारमा मद्दत पुग्छ भनेर दार्खा डाक्यौं । नुवाकोटको त्रिशूलीबाट पैदलयात्रा गर्दै आएका कोइरालाले दार्खामा एउटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम राख्यौँ ।

तर, पञ्चहरूले आफुहरुले जनमत संग्रहमा जितिसकेकाले अब अराष्ट्रियतत्त्व काङ्ग्रेसको आमसभामा जानेलाई पछि पुलिसले दु:ख दिन्छ, पक्रन्छ भन्ने अफवाह फैलाएछन् ।

हामी तारुकेका भान्जाहरु शैलेन्द्र काका र मैले त्यो अफवाह चिर्ने जुक्ति निकाल्यौँ– गोरु जुधाउने । लौ है, आज माझगाउँमा फलानो–फलानोको गोरु जुधाइन्छ भनेर हल्ला फिँजाएपछि त्यो रमिता हेर्न सारा गाउँले उर्लिए ।

दुईवटा साँढे दुईतिर बाँधेर राख्यौं र बीचमा गिरिजाप्रसाद प्रमुख अतिथि बनाएर आमसभा गरायौं ! सभा समापनमा गोरु जुधायौं । गिरिजाबाबु र उनको भ्रमण दलमा सम्मिलित सुशील कोइराला, मच्छिन्द्र पाठक, दलसिं कामी, वीरेन्द्र दाहाल, शरद उप्रेती, दामन पाख्रिन आदिले पनि साँढे जुधाइएको रमाइलो मानेर हेरे ।

काँग्रेस महामन्त्री गिरिजाप्रसाद दार्खाबाट फर्केको ६ महिना बित्दानबित्दै काँग्रेसका अर्का महामन्त्री परशुनारायण चौधरी ‘सही बाटो’ भन्दै २०३८ सालको बर्खामा निर्दलीय पन्चायतमा हेलिए । परशुनारायणलाई पछ्याउँदै दामन पाख्रिन पनि पंचायतमा पसे ।

म २०३९सालको बर्खामा खेतीपातीमा सघाउन दार्खामै पुगेको थिएँ । साउन ६ गते पूर्व प्रधानमन्त्री एवम् प्रतिबन्धित नेपाली काँग्रेसका नेता बीपी कोइरालाको निधन भएछ । रेडियो नेपालले सानो समाचार दियो । राजा बीरेन्द्रले ‘समवेदना’ नदिएको भए, त्यो समाचार पनि रेडियो नेपालले दिन्थ्यो कि नाइँ, थाहा छैन ।

नेपाली राजनीतिका मुर्धन्य व्यक्तित्त्व बीपी कोइरालाको निधन भएको समाचार बीबीसी रेडियोले भने राम्रै ‘कभरेज’ ग-यो ।

कुनै बेला जुध्न नाम कमाएको हाम्रो गोठे गोरुलाई सुमारेर साँच्चै गोरु बनाइ सकेका थियौँ । सेर्लांग गोरुसँग उसको राम्रो हल जमेको थियो । म तिनै गोरुलाई घाँस हाल्दै थिएँ, काठमाडौँबाट शैलेन्द्र काकाको चिठ्ठी आइपुग्यो । निकै लामो त्यो चिठ्ठीमा बीपीको मलाममा काठमाडौँमा उर्लेको जनसागरको बर्णन पनि थियो । चिठ्ठी पढेर म निक्कै भावुक भएँ, उफ् अब के कस्ता खिचडी पाक्ने हुन् नेपाली राजनीतिमा भनेर ।

आज म साँच्चैको घ्यु खिचडी खाँदैछु । यसपटकको माघेसंक्रान्तिमा मामाघर जान सकिएन । मन भने पुगेको छ तारुकामै । चन्दनीमा हुने गोरु जुधाईको रौनक सम्झेर रोमान्चित भैरहेको छु म ।

सम्भव हुन्छ भने जानुस् तारुकामा, रमाइलो हुन्छ गोरु जुधाएको हेर्न । तारुका जान अनुकुल मिल्दैन भने पनि खिचडी चैं पक्कै खानु होला, त्यो स्वास्थ्यवर्धक हुन्छ । 

000

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 15, 2019, 6:26 p.m. Dilli Raman Dhakal
    यो आलेखले जिवेन्द्र सिम्खडाको ( जिवेन्द्र भाई) आफ्नो जिवनका संघर्ष पूर्णपानाहरुमध्ये एक सुक्ष्म पाटो मात्र उद्घाटित गरेको छ/ आलेखमा संस्मरणात्मक पाराले आफ्नो जिवनमा भए-घटेका घटना समेत जोडेर कैयौं ऐतिहासिक तथ्यहरु उद्घाटित गरिएकोछ/ आम पाठकले मात्रै होइन, भाषिक तथा प्राज्ञिक जगतले पनि यस्ता गहन लेखहरुबाट भरपुर फाईदा लिन सक्ने छन्/ कुनै जमनामा कांग्रेश समर्थक अर्थात प्रजातन्त्र पुनर्स्थपनाका लागि समर्पित १-२ जना कार्यकर्ता समेत नभएको धदिङ जिल्लाको उत्तरि भेगमा जिवेन्द्र र शैलेन्द्र सिम्खडा जस्ता दुई होनहार किशोरहरु प्रजातान्त्रिक आन्दोलनको शिखर चढि सकेका थिए भन्ने कुरा अहिलेका चैते अनि लुटाहाहरुको पोल्टामा पुगेको पार्टिका नेताहरुले थाहा पाउने वा सम्झिने कुरै भएन/ अनि निस्काम भावबाट समर्पित जिवेन्द्र जस्ता ब्यक्तिलाई तेस्तो स्वार्थले कुनै असर पार्ने कुरै छैन// बिद्यार्थिकाल उप्रान्त, देशमा प्रजान्त्रको पुनर्स्थापना प्रष्चात जिवेन्द्र्ले राजनिति भन्दा पर आफुलाई पत्रकारितामा प्रबेश गरेर पेशागत धर्मको निष्ठावान पूजारिको रुपमा प्रतिस्थापित गराएका छन् / आफुलाई पेशागत क्षेत्रमा मात्र होईन, ब्यक्तिगत आचरण,मर्यादा, र ईमानको निष्ठामा पनि तेत्तिकै अनुपम र अब्बल प्रमाणित गर्न सक्ने उन्को जस्तो खुबि बिरलै पत्रकारहरुसंग पाइन्छ/ तेसैले होला मैले उनको आजिवन प्रशंसक हुने सौभाग्य पाएको छु/ रगतले नाता भित्र नपरे पनि हाम्रो संबन्ध त्यो भन्दा धेरै गाढा र अटुट छ/ सानै झिल्कोको रुपमा भए पनि जिवेन्द्र भाईको प्रारम्भिक जिवन-कालमा सहयात्रि र सहभागि हुन पाएकोमा आफुलाई धन्य सम्झेको छु/ लेख आद्योपान्त पढि दिनु भए थुप्रै ओझेमा परेका तथ्यहरु समेत ज्ञात हुन सक्ने छन/
  2.  0 Reply
  3. Jan. 15, 2019, 12:11 p.m. Binod Neupane
    Informative and interesting article. Thank you very much Jibendra sir.
  4.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.