केन्द्रीय संस्करण

योग दिवस र मानसाग्नि मिसन

person explore access_timeमाघ १, २०७५ chat_bubble_outline0
फाइल तस्बिर

नेपालमा यही माघ १ गते ‘शान्ति र समृद्धिका लागि योग, योगी बनौँ र योग सिकाऔँ” भन्ने नाराका साथ राष्ट्रिय योग दिवस मनाइँदै छ । योग दिवसको अवसरमा प्रत्येक वर्ष मनाउँदै आइरहेको योग दिवसको इतिहास के कस्तो छ र त्यसमा ककसको मुख्य योगदान रहेको छ भन्ने सन्दर्भमा चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

कुनै पनि महान् व्यक्तित्वको साधना, तपस्या र निरन्तर सङ्घर्षका फलस्वरूप कुनै पनि दीर्घकालीन सामाजिक सेवा हुने गर्छ । यस्ता सेवाबाट लाखौँ करोडौँ व्यक्तिले सेवा प्राप्त गर्छन् तर ती सेवा त्यस स्तरसम्म पुर्याउन कस कसको महत्त्वपूर्ण हात रहेको छ भन्ने कुरा इतिहासमा मात्र होइन, सन्ततिहरूलाई समेत हस्तान्तरण गर्नुपर्ने हुन्छ । नेपालमा मनाइने राष्ट्रिय योग दिवस हाल आएर एउटा पर्वका रूपमा स्थापित भएको छ र योग दिवसलाई विश्वमा विश्व योग दिवस भनेर जुलाई १ तारिखका दिन विगत ४ वर्षदेखि मनाउने गरिएको पनि छ । योग र योगदर्शन के हो, योगको प्रारम्भ कहिलेदेखि भएको हो ? यसको विकास र प्रगतिका लागि केकस्ता प्रयास भएका छन् र नेपालमा योग दिवसको सन्दर्भ यस आलेखमा चर्चा गरिनेछ ।

योग र योगदर्शन

योगको अर्थ जोड्नु भन्ने लाग्छ । वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । पतञ्जलीको योग दर्शनमा भएअनुसार योग त्यो प्रयत्न हो, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो भनिन्छ । शरीर, इन्द्रिय, मन, बुद्धि र अहंकारमाथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरूप पाउन सकिन्छ र त्यही शुद्ध स्वरूप प्राप्त गर्ने माध्यम नै योग हो ।

वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख पाइनुले योग प्राचीन ऋषिमुनिहरूको अनवरत तपस्या र साधनाबाट विकसित भएको हो भन्न सकिन्छ । त्यस्तै बुद्ध धर्मका पालित्रिपिटकहरूमा र प्राचीन संस्कृत ग्रन्थहरूमा पनि योगका चर्चा भएका छन् । जैनधर्ममा पनि महावीर स्वामी आफै योगी थिए र उनको समयमा योगको विवेचना बढी भएको पाइन्छ । गोरखनाथको नाथ सम्प्रदायमा पनि योगको यति आदर गरिन्छ कि त्यस सम्प्रदायलाई योगी सम्प्रदाय भनिन्छ । यसरी योग हरेक धर्म र सम्प्रदायमा लोकप्रिय नै रहेको पाइन्छ । योगका चार प्रकार छन् । ती हुन्— मन्त्रयोग, लययोग, हठयोग र राजयोग । तीमध्ये पतञ्जलीले राजयोगलाई अघि बढाएका छन् । त्यसकारण आज हामी योग भन्नासाथ पतञ्जलीको राजयोग भनी बुझ्छौँ । पतञ्जली योगसूत्रका रचयिता र व्याकरण भाष्यका निर्माता हुन्, जसको रचना विक्रमपूर्व दोस्रो शताब्दीमा भएको पाइन्छ ।

योगदर्शनका प्रतिपादक ऋषि पतञ्जली हुन् । त्यसैले योग दर्शनलाई पतञ्जली योग पनि भनिएको हो । भारतीय तथा पश्चिमाहरूले योगलाई योगा भन्ने गर्छन् । योगदर्शन भारतीय दर्शनशास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो, जसलाई व्यवस्थित रूप दिने काम ऋषि पतञ्जलीले गरेका हुन् । हाल स्वामी रामदेवले पतञ्जलीकै नामबाट योगलाई बढी लोकप्रिय गराउने काम गरेका छन् । त्यस्तै नेपालमा पनि विभिन्न योग गुरुहरूले विभिन्न सङ्घ संस्थामार्फत योग कक्षा सञ्चालन गरिरहेका छन् । जति जति समाजको विकासको गति बढ्दै गइरहेको छ, त्यति त्यति नै योगको आवश्यकता पनि महशुस् हुँदै गइरहेको पाइन्छ । ५, १० वर्षअघिसम्म पश्चिमा विकसित देशहरूमा योगतर्फ थोरै मानिसको मात्र संलग्नता थियो जबकि आजको अवस्थामा धेरै विकसित देशका अधिकांश मानिसहरूले पनि योगलाई अपनाउन थालेका छन् ।

योग दर्शनमा धर्म कर्मका लागि यज्ञ यज्ञादि र पूजापाठको कुनै गुञ्जायस छैन । केवल यस दर्शनमा शारीरिक तथा मानसिक शक्तिको उचित प्रयोग गर्ने प्रेरणा पाइन्छ । यस दर्शनले स्वअध्ययनका लागि प्रेरणा दिन्छ भने ईश्वरको ध्यान ईश्वर वाचक ॐ (ओउम्) को उच्चारण गरी चित्त एकाग्र गराउन भन्छ । योग भारतीय मनिषीहरूको आध्यात्मिक चिन्तनको सारभूत तत्व हो भए पनि यो दर्शनले पूर्व तथा पश्चिमका सारा जगतहरूलाई जोड्ने काम गरेको छ । सबै किसिमका धर्म तथा सम्प्रदायले यसको अभ्यास गरेका हुनाले योगलाई सार्वभौम अभ्यास पनि भन्ने गरिन्छ । लगभग सबै खालका धर्म तथा दर्शनहरूमा योगाभ्यासको महत्त्व दिइएको हुनाले योगदर्शनको महत्त्व बढी छ । यस दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामहरूको माध्यमबाट आध्यात्मिक उपलब्धि पाउन सकिन्छ भन्ने कुराहरू दर्शाइएको छ ।

योग दर्शनले मुक्ति प्राप्तिका लागि ८ वटा मार्गहरू (अष्टाङ्ग योग) उल्लेख गरेको छ । ती हुन्

– यम: हिंसा, चोरी, लोभ आदि नगर्नु अर्थात अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह ।

– नियम: ५ नियमहरूको पालना गर्नु जस्तै–शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रति विश्वास गर्नु ।

– आसन: मन एकाग्र गरी आनन्दको अनुभूति गर्नु ।

– प्राणायाम: श्वास प्रश्वास नियन्त्रण गरी मनलाई एकाग्र राख्नु ।

– प्रत्याहार: इन्द्रियको कुप्रभाव मनमा पर्न नदिनु ।

– धारण: अन्तरनिहित वस्तुको पहिचानमा मन लगाउनु ।

– ध्यान: निश्चित विषयमा एकाग्रतापूर्वक सोंचविचार गर्नु ।

– समाधि: सम्पूर्ण चेतनालाई खिचेर आत्मामा लिन गराउनु । उल्लेखित यस्ता उपायहरूद्वारा मुक्ति मिल्दछ भन्नु योगदर्शनको मुख्य मर्म हो ।

मानसाग्नि र मानसाग्नि मिसन 

नेपालमा योगको चर्चा गर्दा मानसाग्निको मुख्य चर्चा हुने गर्छ । यसको बारेमा आम पाठकहरू अनभिज्ञसमेत हुनसक्ने भएकाले योग दिवसको पूर्वसन्ध्यामा मानसाग्निको बारेमा चर्चा गर्नु उत्तम र सम्मान समेत हुनेछ । शैव दार्शनिक विचार र साधनाबाट योगले विज्ञानको रूप लिएको र यस्तो दर्शनका प्रतिपादक महादेव अर्थात् शिवलाई मानिन्छ । नेपालमा मुख्य शिव सभ्यता, बुद्ध सभ्यता र जनक सभ्यताबाट विभिन्न दर्शनहरू आएका हुन् । यिनै दर्शनमा टेकेर आफूलाई साधक बनाई निरन्तर रूपमा यसै क्षेत्रमा लागि नेपालमा प्राकृतिक चिकित्सासँग जोडेर अघि बढाउने योग, आयुर्वेद र प्राकृतिक चिकित्साका विशेषज्ञ व्यक्तित्व मानसाग्नि हुनुहुन्छ । साधनाको नामबाट मानसाग्नि नामकरण गर्नुभएका नेपालका प्राकृतिक चिकित्साका जनक तथा योग र आयुर्वेदका प्रणेता डा. हरिप्रसाद पोखरेलको भिजन वा मिसन नै मानसाग्नि मिसनको नामबाट प्रचलित छ । 

आबाल ब्रह्माचारीका रूपमा रहनुभएका पाल्पाको मदनपोखरामा वि.सं. २०२० सालमा जन्मनुभएका मानसाग्नि सोह्र वर्षको उमेरमै हरिप्रसाद पोखरेलबाट मानसाग्नि बन्नुभएको हो । मानसाग्निले नै वि.सं. २०३६ साल माघ १ गते अर्थात् मकर सङ्क्रान्तिका दिन नेपालमा योग संवत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी उद्घोष गर्दै नेपालमा योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गर्नुभएको हो । योगमा शारीरिक शुद्धताभन्दा मानसिक शुद्धता धेरै गुणा उत्तम मानिने हुँदा यस्तो बहुउपयोगितापूर्ण योगलाई प्राकृतिक चिकित्सासँग जोडेर अतुलनिय योगदान मानसाग्निले दिइरहनुभएको छ ।

२०३६ सालदेखि हालसम्मको निरन्तर उहाँको यात्राले चार दशक पूरा गर्न लाग्दा नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको छ । यसैगरी मानसाग्नि मिसनका परिकल्पनाकार मानसाग्निकै पहल र सङ्घर्षबाट प्रत्येक वर्ष असार २० गते राष्ट्रिय प्राकृतिक चिकित्सा दिवससमेत मनाउन सुरु गरिएको छ । 

यसका साथै आयुर्वेद, योग र प्राकृतिक चिकित्साको क्षेत्रमा मानसाग्निको अथक प्रयासबाट शिक्षा क्षेत्रमा समेत पाठ्यक्रममा यी विषय समेट्ने काम भएका छन् । हाल त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा योग र प्राकृतिक चिकित्सा प्राध्यापन गर्ने पहिलो व्यक्तिको रूपमा समेत मानसाग्नि स्थापित हुनुभएको छ । आफूबाटै स्थापना गरेको काठमाडौँको भिमसेनगोलामा अवस्थित प्राकृतिक चिकित्सालयमा योग र प्राकृतिक चिकित्साको प्रयोगात्मक कक्षासमेत निःशुल्क सञ्चालन गर्दै आउनुभएको छ । यसरी गुरुकुल पद्धतिमा मात्र चलिरहेको योग र प्राकृतिक चिकित्सा शिक्षालाई विद्यालय र विश्वविद्यालयको ढाँचामा लगि औपचारिक शिक्षाका रूपमा नेपालमा पठनपाठन गराउने पद्धतिको सुरुवात गर्नु मानसाग्निको निकै ऐतिहासिक कदम हो, जसले गर्दा उहाँलाई निरन्तर स्मरण गराइरहने सुनिश्चित छ ।

अहिले उहाँकै संयोजकत्व वा अध्यक्षतामा क्याम्पस स्तरका बीएड् तथा एमए तहमा र प्राकृतिक चिकित्सकका लागि पाठ्यक्रमसमेत निर्माण भई कार्यान्वयनमा आएको छ । यसरी प्रकृतिप्रेमी मानसाग्निको बाल्यकालदेखिको यात्रा हाल साधना, शिक्षा, वाङ्मय, साहित्य र प्राकृतिक चिकित्सकका रूपमा उदाएको छ । दर्जनौँ पुस्तक र ग्रन्थहरू प्रकाशित गरिसक्नुभएका र ‘राष्ट्रयोगी’लगायत दर्जनौँ सम्मानबाट सम्मानित मानसाग्निको बहुप्रतिभाशाली व्यक्तित्वको जतिसुकै वर्णन गरे पनि सकिँदै नसकिने सामाजिक योगदानहरू छन् ।

अत्यन्तै सरल, सरस स्वभावका धनी र योग, प्राकृतिक चिकित्सा तथा आयुर्वेदका पर्याय आकर्षक व्यक्तित्व मानसाग्निको समीपमा मात्र जाने हो भने पनि उहाँको तेजस्वी नेत्र, मधुर मुस्कान एवम् मधुरो आवाजले जो कोहीलाई पनि आकर्षित गर्दछ ।

‘जस्तो चिन्तन त्यस्तै चरित्र’ को विलक्षण मेल देख्न मानसाग्निकै समीपमा जानुपर्छ र उहाँको ‘स्वधर्म’लगायतका दार्शनिक विचारको प्रचार प्रसारमा जुट्नसके आम नेपाली मात्र होइन, विश्वभरका मानव समुदायलाई प्रेरणा मिल्न जाने देखिन्छ ।

हाल मानसाग्नि वा डा. हरिप्रसाद पोखरेल शिक्षामन्त्रीको अध्यक्षतामा गठित योग दिवस मूल समारोह समितिका सदस्यको हैसियतमा व्यस्त हुनुहुन्छ । मानसाग्निकै विचारमार्फत योग दिवस मनाई ‘योग गरौँ, योगी बनौँ’ भन्ने मूल मन्त्र साकार पार्नु हामी सबैको कर्तव्य पनि रहेको छ । मानसाग्निको यो अथक प्रयास अझै जारी रहोस् भन्ने कामना छ । यसरी नेपालमा राष्ट्रिय योग दिवस र मानसाग्नि एक अर्काका परिपूरक छन् भन्नेकुराको सहजै पुष्टि गर्न सकिन्छ । 

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.