शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिंहदरबारको ३ भागमा धमाधम रेट्रोफिटिङ : पश्चिम मोहोडामा अझै काम सुरु भएन (फोटो/भिडियो)

बुधबार, ०२ माघ २०७५, ११ : १४
बुधबार, ०२ माघ २०७५

विक्रम संवत् १९६० मा तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले नेपाल सरकारलाई २ करोडमा बिक्री गरेको सिंहदरबारको एउटा भाग अझै बाँकी छ । २०३० साल असार २५ गते सिंहदरबारमा भीषण आगलागी भयो । दरबारको ३ भाग आगलागीमा परेर ३ भाग ध्वस्त भए पनि सेनाले यसको अगाडिको भाग जोगाउन सफल भएको थियो । 

सिंहदरबारको पश्चिम मोहोडास्थित सिंहदरबारको त्यही भाग २०७२ वैशाख १२ को भूकम्पको चपेटामा पर्यो । 

भूकम्पले सामान्य क्षति पुगेको दरबारको अघिल्लो खण्डलाई अहिले फलामको टेकोले घेरिएको छ । भूकम्प गएको झन्डै ४ वर्ष बितिसक्दा पनि यो भवनको मर्मत सम्भार सुरु हुन सकेको छैन । तर यअघि यो भवनलाई भत्काउने वा मर्मत गरेर प्रयोग गर्ने भन्ने सन्दर्भमा पटक पटक अध्ययन भएको छ । यसरी अध्ययनका लागि मात्रै २ करोडभन्दा बढी खर्च भइसकेको छ । 

अध्ययनका लागि इन्फ्राइस्ट्रक्चर इन्जिनियरिङ रिसर्च एन्ड कन्सल्ट्यान्ट प्रालिलाई प्राधिकरणले जिम्मेवारी दिइएको थियो । यो कम्पनीसँग प्राधिकरणले १ करोड ७० लाखमा सम्झौता गरेको थियो । असारमा काम गरेर भदौमा प्रतिवेदन बुझाउन यो कम्पनीले समयसीमा पाए पनि ढिलागरी प्रतिवेदन दिएको थियो । यो कम्पनीको प्रारम्भिक प्रतिवेदनअनुसार सिंहदरबारलाई रेट्रोफिट गर्न सकिने प्राधिकरणको भनाइ छ । पुरानो सिंहदरबारको भागलाई टेको लगाएर र प्लास्टिक ओड्याइएको छ । 

यो भवनमा गरिएको अध्ययन अनुसार रेट्रोफिट गर्न सकिने प्रतिवेदन आएको छ । प्राधिकरणको सीईओ ज्ञवालीले रातोपाटीसँग भने– ‘प्रधानमन्त्रीज्यूको चाहना, हामी सबैको चाहना, सम्भव भएसम्म संरक्षण गरौँ, सम्भव हुँदैन भने त्यसलाई त्यतिकै राखेर रेट्रोफिटिङ पनि नगर्ने, रेट्रोफिटिङ पनि नगर्ने गरेर राख्नु हुँदैन भन्ने हामी सबैको दृष्टिकोण हो । यो बीचमा हामीले अध्ययनको कामलाई सिध्यायौँ, विज्ञहरूसँग पटकौँ पटक हामीले छलफल अघि बढायौँ र अहिले अहिले एउटा निष्कर्षमा पुगेका छौँ कि सिंहदरबारलाई प्रारम्भिक प्रतिवेदनका आधारमा यसलाई रेट्रोफिटिङ गर्न सकिन्छ, यसलाई सुरक्षित बनाउन सकिन्छ र त्यहाँको स्टेट हललाई सञ्चालन गर्न सकिन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ ।’

अहिले यो भवनको मर्मतका विषयमा यसको डीपीआर र इन्जिनियरिङको काम सुरु भइसकेको उनले बताए । 

उनले भने– ‘सिंहदरबार एउटा सबैको चासोको विषय, एउटा ऐतिहासिक धरोहर, यसलाई बचाउन सकिने अवस्था हामीले देख्यौँ ।’ डिटेल डिजाइनको प्रतिवेदन आएपछि मात्रै यो भवनको रेट्रोफिटिङका लागि लागत आउने उनको भनाइ छ । 

भूकम्पपछि सिंहदरबारको पुरानो भवन अध्ययनका लागि जापानी संस्थाले पनि अध्ययन गरेको थियो । सो संस्थाले पनि सिंहदरबारलाई रेट्रोफिटिङ गरेर जोगाउन सकिने प्रतिवेदन दिएको थियो । 

२०७३ सालमा प्राधिकरणका तत्कालीन सीईओ डा. गोविन्दराज पोखरेल संयोजकत्वमा सिंहदरबार प्रबलीकरण सल्लाहाकार समिति बनाइएको थियो । विभिन्न क्षेत्रका व्यक्तित्वहरू रहेको प्रबलीकरण समितिको बैठकमा पनि सिंहदरबारको पुनर्निर्माण किन रोकेको भनेर दबाब सिर्जना भएको थियो । 

सिंहदरबारको चर्किएको यो भवनको अवस्थाबारे जापानी प्राविधिक टोलीले पनि अध्ययन गरेको थियो । उक्त टोलीले भौतिक संरचनाको स्क्यान गर्ने यन्त्र प्रयोेग गरेर ४ महिनाअघि अध्ययन गरेको थियो । तर उक्त अध्ययन पर्याप्त नभएको भन्दै प्राधिकरणले विज्ञ समूहसहितको परामर्शदाता कम्पनीमार्फत अध्ययन गराइएको थियो । 

सिंहदरबारको ३ भागको रेट्रोफिटिङ :

सिंहदरबारको उत्तर, पूर्व र दक्षिणको भागमा ‘रेट्रोफिटिङ’को काम भइरहेको छ । तर पश्चिम मोहोडाको दरबारको अगाडिको भाग अझै के गर्ने भन्नेमा अन्योलता कायमै छ । प्राधिकरणले २२ करोड लागतमा रेट्रोफिटिङ थालेको हो । शर्मा न्यु टेक्नोलोजी जेभी निर्माण व्यवसायीले रेट्रोफिटिङको काम गरिरहेको छ । 

ग्यालरी बैठक भवन : के हुन्छ पहिलो संसद भवन ?

सिंहदरबारस्थित ग्यालेरी बैठक भवन भत्काउने कि मर्मत सम्भार गरेर प्रयोग गर्ने भन्ने विषयमा अझै पनि विवाद छ । नेपालको पहिलो जननिर्वाचित संसद बैठक बसेको यो भवनमा २०६३ अघिसम्म संसदीय अभ्यास हुने गरेका थिए । 

यो भवनलाई संसद सचिवालयले संसदीय सङ्ग्रहालयका रूपमा विस्तार गर्न खोजेको छ भने प्राधिकरणले भत्काउन मिल्ने भए यसलाई भत्काएर विदेशी पाहुना बस्ने आवास निर्माण गर्न खोजेको छ ।  

प्राधिकरणका सीईओ ज्ञवालीले भने– ‘पहिले यसलाई भत्काउनुपर्ने भन्ने रिपोर्ट रहेछ । सकेसम्म बचाउन पाए हुन्थ्यो भन्ने धारणा रहेको छ । प्रशासनिक हिसाबले अध्ययनको काम अघि बढिसकेको छ । त्यो छिट्टै अगाडि बढ्छ ।’

ज्ञवालीले थपे– ‘विदेशी राष्ट्रप्रमुख आउँदा पनि बाहिर कार्यक्रम गर्नुपर्ने अवस्था छ । बिमस्टेकको कार्यक्रम हँुदा सोल्टीमा र गोकर्णमा राख्नेभन्दा सुरक्षाको बारेमा चिन्ता भयो । सिंहदरबारको यो भागमा बनाउने हो भने सुरक्षित हुन्छ । हामीले केही कार्यक्रम गर्नुपर्यो भने बाहिर जानुपर्छ । यहाँ ठूलो खालको हल खोज्यो भने त्यस्तो हल पनि छैन । परराष्ट्र मन्त्रालयले एउटा अनुरोध गरिरहेको छ । एउटा त्यस्तो खालको बिल्डिङ बन्दा ठीक हुन्छ भन्ने उहाँहरूको आग्रह छ । त्यसलाई पनि विचार गरिरहेका छौँ ।’

उनले ग्यालेरी बैठकलाई कसरी संरक्षण गर्न सकिने भए संरक्षण गर्ने र संरक्षण गर्न नसकिने भए भत्काउने उनले बताए । 

यता संसद सचिवालयका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भवन भत्काउने खर्चबापत ठूलै कमिसन आउने भएर भत्कानुपर्छ भन्ने पक्ष पनि सक्रिय रहेको बताए । उनले भने– ‘यो भवन भत्काउनुपर्ने कुनै आवश्यकता नै छैन । भित्र गएर हेर्न सक्नुहुन्छ धेरै क्षति भएको छैन । भत्काएर यसलाई पन्छाउन ठूलो खर्च लाग्छ । कतिपयले त्यसको पनि कमिसन आउने देखेका छन् । यसलाई अत्याधुनिक संसदीय सङ्ग्रहालय बनाउँदा राम्रो हुन्छ ।’

प्राधिकरणले भूकम्पपछि नेपालको पहिलो ऐतिहासिक भवनको रूपमा समेत रहेको ग्यालेरी बैठक भवनको अवस्थाबारे कुनै अध्ययन गरेको छैन । 

 हेर्नुहोस् भिडियो 

यो पनि हेर्नुहोस् :

पुरानो सिंहदरबार अब भत्काउन नपर्ने

सिंहदरबारको रेट्रोफिटिङ सुरु : पुरातात्विक महत्वको मुख्य भाग भत्काउने कि बनाउने अन्यौल कायमै

पुरानो सिंहदरबार : भत्काउने कि बनाउने भन्ने अध्ययनमै करोडौँ स्वाहा

सिंहदरबारको मुख्य भवनमा फलाम ठड्याउन मात्रै डेढ करोड खर्च : ‘रेट्रोफिटिङ’को टुङ्गो छैन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप