बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भूकम्प पूर्वसचेतना प्रविधि : चीनमा भूकम्पको झट्का आउनभन्दा अघि नै सूचना !

२० सेकेन्डअघि मात्र सूचना पाए हताहतीमा ६३% कमी हुने
बुधबार, ०२ माघ २०७५, १२ : ४१
बुधबार, ०२ माघ २०७५

चीनले भूकम्प आउनुअघि नै सुचित गर्ने प्रणाली विकास गरेको छ । उसको दक्षिण–पश्चिम प्रान्त सिचुवानको राजधानी चेङदुमा यो आविष्कारको एक वर्षअघि परीक्षण पनि गरिसकिएको छ । 

यसका लागि रेडियो, टिभी, मोबाइलजस्ता धेरैवटा प्रसारण प्रणालीहरूको उपभोग गरेर भूकम्प धक्का आउनु केही सेकेन्डअघि नागरिकहरूलाई भूकम्प आउन लागेको चेतावनी दिन्छ । 

“भूकम्प आउनुअघि दिइने चेतावनी भूकम्पको भविष्यवाणी होइन,” ‘सिचुवान प्रोभिन्सकी ल्याब्रोटरी’ तथा ‘चेङ्दु उच्च–प्रविधि प्रकोप न्यूनीकरण इन्स्टिच्युट’का प्रमुख वाङ टुनले भने ।

यसबारे थप बताउँदै वाङ्ले भने, “रेडियो तरङ्ग सिस्मिक (भूकम्पीय) तरङ्गभन्दा छिटो प्रसारण हुन्छ भन्ने सिद्धान्त प्रयोग गरेर यसले भूकम्पको धक्का आउनुअघि नै मानिसहरूलाई सुरक्षित हुन केही सेकेन्ड समय दिन्छ । यो प्रविधिमा भूकम्पको केन्द्रबाट तपाईं बस्ने क्षेत्र जति टाढा छ, तपाईंसँग उति नै बढी समय हुन्छ ।”

भूकम्पको पूर्व जानकारीले हुने फाइदा

अनुसन्धानहरूले भूकम्प आउनु ३ सेकेन्ड अघि थाहा पाइएमा हताहती सङ्ख्या १४ प्रतिशतले घटाउन सकिन्छ भन्ने देखाएको छ । त्यस्तै १० सेकेन्डअघि थाहा हुँदा ३९ प्रतिशत घट्छ भने २० सेकेन्डअघि थाहा हुँदा हताहती सङ्ख्या ६३ प्रतिशतले घटाउन सहयोग गर्छ । 

रासायनिक, आणविक उद्योगदेखि तीव्र गतिको रेलमार्ग र सहरी भूमिगत रेल सञ्जालजस्ता अत्यन्त संवेदनशील क्षेत्रमा भूकम्प आउनुअघिको चेतावनीले उल्लेख्य जीवन बचाउँछ र सहायक प्रकोप रोक्न सहयोग गर्छ । 

भिडियो : पिपल्स डेली चाइना

उनका अनुसार हाल चेङ्दुको चेतावनी प्रणालीले २२ लाख वर्ग किमि समेटेको छ । त्यति क्षेत्रमा ६६ करोड मानिसहरूको बसोबास छ । 

७१ सकेण्ड अघिनै दिइयो ७ रेक्टर स्केलको भूकम्पको पूर्व चेतावनी

यो प्रणाली चीनमा नै आविष्कार भएको भने होइन । यो प्रणाली प्रयोगमा ल्याउने चीन जापान र मेक्सिकोपछि तेस्रो मुलुक हो ।

सन् २०१७ अगस्ट ८ मा सिचुवानको जिउझाइगोउ काउन्टीमा ७ रेक्टर स्केलको भूकम्प गएको थियो । यही प्रणाली प्रयोग गरेर उक्त भूकम्प आउनु ७१ सेकेन्डअघि नै भूकम्पको पूर्व चेतावनी नागरिकहरुलाई पठाइएको थियो । 

उक्त समय भूकम्पको इपिसेन्टरबाट ३०० किमि टाढा रहेको चेङ्दुका नागरिकहरूका प्रसारण माध्यमहरूमा अचानक ‘७१ सेकेन्डभित्र भूकम्प आउँदैछ’ भनेर काउन्ट–डाउन सुरु हुन थालेको थियो । 

चेङ्दुकी बासिन्दा याङ लिविङले भूकम्प आउनुअघिको अवस्था स्मरण गर्दै भनिन्, “म काम गरिरहेको थिएँ, एक्कासि हवाई प्रतिरक्षा चेतावनीजस्तो आवाज आउन थाल्यो । त्यसपछि महिलाको स्वरको तीखो आवाजले भूकम्प सुरु हुने समयको काउन्ट–डाउन सुरु गर्न थाल्यो ।” 

उनका अनुसार त्यसको १० सेकेन्डपछि पूरा भवन हल्लिन थाल्यो ।

सोही दिन भूकम्पको एपिसेन्टरबाट २०० किमि टाढा रहेको बेन्चुआनमा मानिसहरूलाई भूकम्प आउन ४० सेकेन्ड रहेको सूचना आएको थियो ।

चीनले सिचुवान र छिमेकी युन्नान प्रोभिन्समा २,००० वटा निगरानी केन्द्रहरू निर्माण गर्न सुरु भइसकेको छ । 

चाइना अर्थक्वेक एडमिनिस्ट्रेसनले सन् २०२० सम्म चीनको भूकम्प प्रभावित सिचुआन, गेन्सु र युन्ना प्रोभिन्समा यस्ता १५,००० केन्द्र बनाउने लक्ष लिएको छ ।

यिनले जमिनमुनि ८ देखि २० किमि तलसम्मका खिचाव र ऊर्जाको तथ्याङ्कहरू सङ्कलन गर्छ । 

यसले अनुसन्धानकर्ताहरूलाई अझ राम्ररी भूकम्पीय गतिविधिहरुको निगरानी गर्न सक्षम बनाउँछ र भूकम्पबारे भविष्यवाणीलाई सम्भव बनाउँछ । 

चाइना अर्थक्वेक एडमिनिस्टे«सनले भूकम्पको पूर्व चेतावनी दिने प्रणालीमा ३० करोड अमेरिकी डलर खर्च गरिसकेको छ । यस प्रणालीले भूकम्पले पैदा गर्ने पी–तरङ्गलाई पक्रिन्छ ।

यो भूकम्प ल्याउने एस–तरङ्ग आउनु केहीअघि नै सतहमा आइसक्ने हानि नगर्ने तीव्र गतिको तरङ्ग हो । एस–तरङ्ग पी–तरङ्गभन्दा केही सुस्त गतिमा प्रसार हुने भएकाले केही पछिमात्र जमिन हल्लाउन आइपुग्छ । 

यो प्रविधि आफैमा सन् २००८ मा सिचुवानमा आएको ७.९ रेक्टर स्केलको भूकम्पबाट भएको ठूलो हताहतीपछि विकास गर्न थालिएको थियो । उक्त समय आएको विशाल भूकम्पमा परेर ८०,००० मानिसहरूको ज्यान गएको थियो । 

यो प्रणालीको प्रभावकारिता आकष्मिक अवस्थामा मानिसहरूले के गर्नुपर्छ भन्ने जानकारीमा निर्भर हुने हङ्कङ पोलिटेक्निक युनिभर्सिटीमा भूकम्प खतरा व्यवस्थापनका सहायक प्राध्यापक डा. टिमोथी सिम बून–वीले भने ।

“त्यसको अर्थ त्यो थाहा दिइएको थोरै सेकेन्डमा मानिसहरूले सही निर्णय लिन्छन् कि लिँदैनन् भन्ने हो । मानिसलाई यति सेकेन्डपछि भूकम्प आउँछ भन्ने थाहा दिँइदा उनीहरु भवनहरुबाट हामफाल्न थाले भने त यसले उल्टो असर गर्नथाल्छ । त्यसैले सर्वसाधरणहरूलाई उचित तालिम र शिक्षाको जरुरी पर्छ,” टिमोथीले भने ।

अगस्टमा आएको भूकम्पबारे गरिएको पूर्व चेतावनीले कतिको ज्यान बच्यो भन्ने विवरण प्राप्त भइसकेको त छैन । तर यो प्रविधि सन् २००८ को भूकम्प आउनु अघि हुन्थ्यो भने २०,००० देखि ३०,००० मानिसहरु बचाउन सकिने कुरा वाङ टुनले गरेको एक अनुसन्धानको रिपोर्टले देखाएको छ ।

“हामीले भूकम्प आउनुअघिको पूर्वचेतावनीमा थप परिष्कार गर्दै लानुपर्छ र यसलाई अझ छिटो बनाउने र सटिक बनाउनुपर्छ,” डा. टिमोथीले भने ।

तर पूर्वचेतावनीले मात्र मानिसहरुलाई बचाउन नसक्ने टिमोथीले बताए । उनका अनुसार मुख्य ध्यान संरचना बलियो बनाउनमा नै दिनुपर्छ ।

“भूकम्प आफैले मार्दैन, संरचना र भवनहरुले मार्ने हो, ” उनले भने ।

स्रोत : सिन्ह्वा र साउथ चाइना मोर्निङ पोष्ट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप