केन्द्रीय संस्करण

महाभारतकालीन शिक्षाको स्वरूप

person explore access_timeमाघ ८, २०७५ chat_bubble_outline0

वैदिक कालदेखि नै आर्यावर्तमा शिक्षाको महत्त्वलाई प्रमुखता दिइएको पाइन्छ । शिक्षालाई जीवनको महत्त्वपूर्ण पक्ष र ज्ञानको आधारसमेत मानिएको पाइन्छ । आर्यावर्त नै संसारको शिक्षामा र सभ्यताको अग्रणी स्थान थियो र बाल्मीकि नै यो विश्वको आदि कवि हुन् भन्ने मान्यता छ । आजभन्दा करिब ६ हजार वर्षअघि अर्थात् द्वापरको अन्त्य र कली युगको सुरुमा यस आर्यावर्तमा शिक्षाको, शिल्पको प्रचूर विकास भएको थियो भन्ने कुरा श्री कृष्ण द्वैपायन ‘व्यास’ रचित महाभारत महाकाव्य, श्री मद्भागवतसहितका अठार महापुराण, पुराणहरूका उपपुराण तथा विभिन्न उपनिषद्हरूले बताउँछन् । 

वैदिक कालमा शिक्षालाई शुद्ध उच्चारण र आचरणका लागि दिइने ज्ञानको आधार मानिएको थियो र शिक्षाको प्रमुख काम शुद्ध उच्चारणद्वारा वेदको सारस्वरसहित मन्त्र साधना थियो । हाम्रा पात्रोले पत्ता लगाउन नसक्ने समयमा पनि सर्व प्रचलित नियम कानुन भनेको वेदमा व्यक्त मन्त्रहरू नै थिए । आज पनि वेदको उचित प्रयोग गरी दैनिक जीवनमा प्रयोग गर्ने हो भने जीवन शान्तिमय र सुखमय हुनसक्छ भन्ने धारणा यथावत छँदैछ । 

वैदिक कालमा प्रयुक्त सामाजिक जीवनमा यजमान र पुरोहितको कार्य सिद्धिका लागि वेद नै उचित मार्ग दर्शक उपाय थियो र वेदका वाक्यहरूलाई सूत्रबद्ध गरी व्याख्याद्वारा समाज सञ्चालन गरिएको थियो । तपस्या अर्थात् कठोर परिश्रमद्वारा प्रयोगसिद्ध परिणामलाई नै वेदमा स्थान दिइएको पाइन्छ ।

जीवन, सङ्गीत, शिक्षा, कृषि, चिकित्सा, शस्त्रास्त्र, तप, ध्यान, प्रकृति पूजा र खगोल अध्ययन नै वैदिक कालका महान उपलब्धिहरू थिए र तिनैलाई संवरण गर्दै कल्पित महान सुख भोगका लागि धर्मबाट मात्र प्राप्त हुनसक्ने स्थापित मान्यताका आधारमा मृत्युपश्चातको स्वर्गसमेत ऋषिहरूको ज्ञानको नियन्त्रणमा रहेको पाइन्छ । तर ऋषिहरू स्वर्गीय सुखको प्रयोग गर्दैनथे र अरूको सुखका लागि आफ्नो जीवनलाई सदैव कष्टकर र खतरामा राखी प्राप्त सकारात्मक परिणामबाट अरूको सुखी जीवनलाई अनुभूत गरी त्यसैबाट आफूलाई धन्य धन्य सम्झन्थे । 

अहिलेको प्रसङ्ग— महाभारतकालीन शिक्षाको स्वरूप

महाभारत महाकाव्यमा २४ हजार श्लोक थिए या १ लाख श्लोक थिए वा सवा लाख श्लोक थिए भन्ने कुरामा विवाद हुनसक्दछ तर महाभारत एक ऐतिहासिक तथा अपूर्व सार सङ्ग्रह हो र यो एक सत्यकथामा आधारित यथार्थ र तत्कालीन राज्य प्रणालीको दिग्दर्शन हो । आर्यावर्तले विश्वलाई दर्शन, साहित्य, व्याकरण, राजनीति, कूटनीति, प्राणी शास्त्र, चिकित्सा शास्त्र, वास्तु शास्त्र, शिक्षा शास्त्र, ज्योतिर्शास्त्र, वनस्पति शास्त्र, शस्त्रास्त्र विद्याका विकसित रूप र मोक्ष प्राप्तिका सहज राजमार्गको कठोर प्रयोगलाई सहजताका साथ उपलब्ध गराउन सकेको पहिलो लेख्य सामग्री दिएको रहेछ । 

राजनीति, धर्मनीति, कूटनीति र व्यवहारवादी दर्शनका लागि श्री कृष्णको मुखबाट अर्जुनलाई शिक्षा दिए जस्तो गरी महाभारतभित्रै गीतामार्फत् जीवनलाई जीवनका रूपमा बाँच्न र जीवनपछि पनि जीवनलाई अमर बनाउनका लागि व्यक्त भावना नै आजको पूर्वीय दर्शनको आधारशीला बन्न पुगेको छ । महाभारतभित्र धेरै गीताहरु छन् तर युद्धभूमिमा भनिएको जीवनसारलाई नै श्रीभद्भगवत गीता भनेर प्रशंसा गरिएको र विश्वभर प्रचारित छ । वास्तवमा त्यो गीता पनि महाभारतको एक अङ्ग हो ।

वैदिक काल, पौराणिक काल र ऐतिहासिक काल (जसलाई हामी महाभारत काल पनि भन्न सक्छौँ)मा शिक्षालाई आवश्यक वेदाध्ययन,शस्त्र—शास्त्र अध्ययन, राजनीति, कूटनीति, व्यापार नीति, कृषिकार्य, आयुर्वेद अध्ययन, भूमि अध्ययन, ज्योतिष विद्याध्ययन,वातावरण या पर्यायवरण अध्ययन, वनस्पति अध्ययन, मौसम अध्ययन, रणकौशल नीति, धर्मनीति सिकाउने विधाको रूपमा लिइएको पाइन्छ । शिक्षा प्रयोगधर्मबाट प्रमाणित भएपछिमात्र पारङ्गत भएको मानिन्थ्यो भन्ने कुरा महाभारत काव्यमा वर्णित विभिन्न समयमा द्रोणाचार्यले लिएका परीक्षा र हस्तिनापुरमा हुने  शैक्षिक प्रयोगशालाको प्रमाणपत्र प्राप्तिका लागि हुने प्रतिस्पर्धाले पुष्टि गरेका छन् । 

महाभारत कालमा शिक्षा लिन र दिनका लागि केही मानकहरू थिए । पाण्डवहरूको क्षमता, कौरबहरूको बाहुबल, कर्णको दानवीरता र धनुर्वेदको ज्ञान, भीष्मको चातुर्यता र महान क्षमता, द्रोणाचार्यको शैक्षिक क्षमता आदि र श्री कृष्णको चोसट्ठी कलाको पूर्ण शिक्षा त्यस बेलाको शिक्षाको विकासको एउटा नमुना मान्न सकिन्छ । परशुरामको वीरता र क्षमता अनि त्यसबेलामा राजा महाराजाहरू राज्य सञ्चालन प्रक्रिया र रणकौशलतालाई हाम्रो पूर्वको गौरवलायक समयको रूपमा लिन सकिने रहेछ । 

ब्राह्मण, क्षत्री तथा राजकुलका वालकहरू त्यो शिक्षाका हकदार मानिन्थे । कहिलेकाहीँ ब्राह्मणलाई मात्र, कहिले क्षत्रीलाई मात्र शिक्षा दिने पनि प्रचलन देखिन्छ । तर त्यो चाहिँ विशेष कारणवशमात्र व्यवहारमा ल्याइएको हो भन्ने कारणहरू पनि पाइएको छ । महिलाहरूलाई खुला शिक्षालयमा भर्ना गरेको वर्णन कतै नपाइए पनि महिलाहरूको चेतनास्तर अतयन्तै उच्चस्तरीय देखिन्छ । गङ्गाको सोचाइ, सत्यवतीको भविष्य प्रतिको धारणा, कुन्तीको संयमता, द्रौपदीको आचार तथा सहनशीलता, गान्धारीको पवित्र सोचाइ तथा कर्णकी वामाङ्गी वृषालीको बुद्धिमत्तापूर्ण व्यवहारले त्यही पुष्टि गरेको छ । उपाख्याननका रूपमा भनिएको भए पनि विदुलाको उदाहरण जुन कुन्तीले श्रीकृष्णलाई सुनाइन्, 

त्यसले पनि नारी शिक्षा स्पष्टरूपमा नभए पनि दिइने ज्ञानको सङ्केत भने पाइन्छ । कुन्तीमा देखिएको वशीकरण मन्त्रहरूको सिद्धि र कुन्ती, गान्धारी—द्रौपदी आदिमा वरदान—श्राप दिनसक्ने सिद्धियुक्त क्षमता हुनुमा शिक्षाको तागत हुनुपर्दछ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

महाभारतलाई एक प्रकारले विश्व कोष माने हुन्छ । यसमा द्वापर कली युगको संक्रमणकालको ऐतिहासिक वर्णन छ । द्वापरको समाप्ति र कलीको उषा कालमा समाजमा नाना किसिमको विकृति देखिन लाग्यो । रीस, राग, मद, मात्सर्य जस्ता दुर्गुणहरुले शिर उठाउन लागे । भाइ–भाइमा झगडा, सतित्वको हरण, लोभ लालच बढेर जिउँदै मानिसहरुलाई डराउने जस्ता घृणित कार्य हुन थाले । जुवा खेलाएर राज्य हरण हुने जस्ता काम हुन लागे । यी सबै कुरामा सुधार ल्याउन महाभारत जस्तो महाकाव्यको रचना भयो । तत्कालिन सामाजिक, राजनीतिक, राष्ट्रियता, कूटनीतिक, आर्थिक तथा राज्य सञ्चालनका लागि आवश्यक विविध पक्षमा देखिएका कुरीतिहरुको विश्लेषण गरेर तिनको निराकरणका लागि महाभारतमा व्यासले उपयुक्त समाधान गरिदिनु भएको छ । स्वयं व्यासले यसबारेमा भन्नु भएको छ ः यन्नेहास्ति न तत् क्वचित् । अर्थात् जुन विषयको चर्चा महाभारतमा भएको छैन, त्यसको चर्चा अन्य कहीँ पनि उपलब्ध छैन । श्रीमद्भागवत गीता जस्तो अमूल्य ज्ञान रत्न पनि यसै महाभारतको महासागर भित्र परेको छ । महाभारतको आर्यावर्तको बाङ्मयमा बहुतै उच्चकोटीको स्थान छ । यसलाई पाँचौँ वेद पनि भन्दछन् । यसमा ज्ञानको भण्डार छ । वेद महिला र शूद्रले पढ्न र अध्ययन गर्न नहुने भएकाले सबैका लागि यो पठनीय र मननीय भनेर मानिएको छ ।

महाभारतकालमा शिक्षाको स्रोत 

महाभारतकालमा शिक्षाको श्रोत प्रकृति देखिन्छ । प्रकृतिमा भएका अद्भूत तर रहस्यमय विशेषतालाई व्यावहारिकरूपमा कसरी सम्भव भएको होला भन्ने प्रमाणीकरण गर्ने प्रयोगधर्मी ज्ञान नै शिक्षाको रूपमा ग्रहण गरेको देखिन्छ । सिद्धान्त तयार गरी त्यसलाई प्रयोगद्वारा सिद्ध गर्ने व्यक्ति नै गुरुको रूपमा पुजिएको पाइन्छ । 
शिक्षा प्राप्त गर्ने उपाय भनेको गुरुको आश्रममा चेलाहरू गई ज्ञान आर्जन गर्ने वा गुरुलाई राजाको दरबारमा ससम्मान बोलाई ज्ञान उपलब्ध गराउन अनुरोध गर्ने गरेको पाइन्छ । पहिलो उदाहरणका लागि उपनयनपश्चात् श्रीकृष्ण र बलरामजी गुरु गर्गको सल्लाहमा काश्यपगोत्रीय विद्वान सान्दीपनिका आश्रममा गएर चौसठ्ठ अहोरात्रमा चौसठ्ठीकलाको शिक्षा ग्रहण गरेको प्रसङ्ग महापुराण श्रीमद्भागवतको दशमस्कन्धको ४५ अध्यायमा वर्णित छ । 

ती चौसठ्ठीकलाको नाम यस प्रकार दिइएको छ ः १) गान विद्या, २) वाद्य ३) नृत्य ४)नाट्य ५) चित्रकारी ६) बेलबुटा भर्ने ७)चामल तथा फूलहरूबाट पूजाको उपहारको रचना गर्ने,८) फूलहरूको शैया बनाउने, ९) दाँत, वस्त्र तथा अङ्ग रङ्ग्याउने, १०) मणिमाणिक्यले घर आँगन सजाउने, ११) खाट बनाउने, १२) खोला वा नदी वा समुद्रमा पानीको लागि बाँध बाँध्ने, १३) विचित्र सिद्धि देखाउने, १४) हार माला आदि बनाउने, १५) कानमा लगाउन  तथा चुल्ठोमा बाँध्नका लागि फूलको गहना बनाउने, १६) अत्तर तथा अन्य सुगन्ध तेल निर्माण गर्ने, १७) फूलका गहनालाई विभिन्न अङ्गमा सजाउने वा लगाउने, १८) कानका पत्तीको रचना गर्ने, १९) कपडा तथा गहना बनाउने, २०) इन्द्रजाल वा जादुगरी गर्ने, २१) चाहेको जस्तो भेष धारण गर्न जान्ने, २२) हातका सफाइ गर्न जान्ने, २३) सबै प्रकारका खाना बनाउन जान्ने, २४) सबै प्रकारका पिउने पदार्थ बनाउन जान्ने,  २५) सिलाइ, कटाइ तथा बुनाइ गर्ने, २६) कठपुतली बनाउने र नचाउने, २७) पहेली—अड्को थाप्ने, ज्ञान बुद्धि बढाउने खालका कविता तथा कथाहरू तत्काल बनाउने, २८) प्रतिमा बनाउने, २९) कूटनीति, ३०) ग्रन्थ पढ्ने र पढाउने चातुर्य, ३१) नाटक तथा कथाको रचना गर्ने, ३२) समस्यापूर्ति गर्ने, ३३) पिरा, आसनी, कुर्सी, पलङ, काठ, बेत र वाण बनाउने, ३४) गलैँचा, दरी आदि बनाउने, ३५) खेती गर्ने, ३६) घर बनाउने, ३७) सुन चाँदी आदि धातु तथा हीरा पन्ना आदि रत्नहरूको परीक्षा गर्ने, ३८) सुन चाँदी बनाउन जान्ने, ३९) मणि माणिक्यको सक्कली र नक्कलीको रङ चिन्ने, ४०) खानीको पहिचान गर्ने, ४१) वनस्पतिको चिकित्सा, ४२) भेडा, कुखुरा, बटेर आदि लडाउने तरिका,४३) सुगा, मैना तथा अन्य चराचुरुङ्गीको बोली बोल्ने, ४४) उच्चारण विधि, ४५) कपालको विभिन्न साजसज्जा गर्ने, ४६) मुठ्ठीमा लुकाएको  चीज तथा मनको कुरा भन्ने, ४७) म्लेच्छ काव्य पढ्ने र बुझ्ने, ४८) विदेशी भाषाहरू जान्ने, ४९) शकुन अपशकुन जान्ने, प्रश्नको आधारमा शुभाशुभ भन्नसक्ने, ५०) विभिन्न प्रकारका मातृका यन्त्रहरू बनाउन जान्ने, ५१) रत्नलाई विभिन्न आकारमा काट्न जान्ने, ५२) साङ्केतिक भाषा बनाउन जान्ने, ५३) मनमा नयाँ नयाँ कल्पनाद्वारा रचना गर्ने, ५४) नयाँ नयाँ कुरा निकाल्ने, ५५) छलद्वारा काम गर्ने गराउने, ५६) सवै कोशको ज्ञान, ५७) सबै छन्दको ज्ञान, ५८) लुगा लुकाउने वा तत्काल लुगा बदल्ने, ५९) द्यूतक्रीडा, ६०) टाढाका मानिस वा वस्तुलाई आकर्षण गर्ने विद्या, ६१) केटाकेटीका खेलहरू खेल्न जान्ने, ६२) मन्त्रविद्या, ६३) विजय प्राप्त गर्ने विद्या र ६४) भूतप्रेतपिसाचलाई वशमा राख्ने विद्या  ।
यसैका आधारमा पछि गएर विभिन्न विधामा समेत   ६४ कलाको विस्तारित स्वरूप पाइन्छ । यस ६४ कलामा ज्योतिष विद्याको खासै प्रामाणिक विकासको विधा पहिल्याइएको देखिँदैन जबकि वातावरण विज्ञानको रूपमा ज्योतिष शास्त्रलाई अत्यधिक मान्यता महाभारतमा दिइएको छ । 

महाभारतकालमा शिक्षा प्राप्तिका प्रसङ्ग धेरै आउँदैनन् । शकुन्तलाले ऋषि कण्वका आश्रममा सङ्गतले शिक्षा प्राप्त गरेको, उनको तथा दुष्यन्तपुत्र भरतले शकुन्तलाबाट जन्म भएपछि वनमा ऋषि कण्वका आश्रममा सम्पूर्ण शिक्षा बालककालमा नै प्राप्त गरेको प्रसङ्ग आउँछ । भीष्म पितामह देवव्रतका रूपमा गुरु परशुरामका आश्रममा गएर शिक्षा प्राप्त गरेको प्रसङ्ग छ । उनै भीष्मव्रती देवव्रतसँग अम्बाको विषयमा लडाइँ हुँदा परशुरामले पराजय बेहोर्नु परेको पनि थियो । तिनै परशुरामसँग महादानी राधेय कर्णले महेन्द्र पर्वतस्थित गुरुकुलमा गई व्रह्मास्त्र सिकेका थिए तर ब्राह्मणलाई मात्र सिकाउने उनको शपथसँग कर्णले झुठो बोली छलद्वारा  सिकेकाले आवश्यक परेको बेलामा उनले त्यो शिक्षाबाट उपलब्धि पाउन नसक्ने श्राप पाएका थिए । 

पराशरले आफ्ना छोरा श्रीकृष्ण द्वैपायन वेदव्यासलाई जन्मँदै सम्पूर्ण शिक्षा प्रदान गरे, व्यासले पनि आफ्ना पुत्र शुकदेवलाई जन्मने बित्तिकै सम्पूर्ण शिक्षा प्रदान गरे । कौरव र पाण्डवलाई शिक्षा दिन भीष्म पितामहले कृपाचार्यलाई आफ्नै दरबारमा नियुक्त गरे र पछि आचार्य द्रोणलाई राजपरिवार र अन्य राजा रजौटाका छोराहरूलाई शिक्षा दिनका लागि नियुक्त गरेको प्रसङ्ग छ । त्यति मात्र होइन, त्यसबेलामा आचार्य द्रोण बराबरका अन्य कुनै गुरु धनुर्वेद र राजनीतिका लागि योग्य नभएकाले द्रोणका बाल्यसखा तथा चिरशत्रु राजा द्रुपदले द्रोणलाई मार्नसक्ने छोरोको आशीर्वाद पाएका थिए धृष्टद्युम्नको रूपमा यज्ञबाट द्रौपदी वा कृष्णासँगै । शिखण्डीको यो जन्म भएको पनि द्रुपद राजाका दरबारमा भीष्मको अन्त्यका लागि थियो । द्रोणाचार्यलाई र भीष्म पितामह दुवैलाई यो कुरा थाहा थियो र पनि ती दुवै राजकुमारका रूपमा अतिथिजस्तै भई द्रोणको पाठशालामा शिक्षा प्राप्त गरेका थिए । 

नैतिक शिक्षामार्फत् पूर्वीय ज्ञान विज्ञानको प्रस्फुटन 
पूर्वीय शिक्षा भनेको ज्ञान विज्ञान दुवै हो । पश्चिमाहरूले वेद, पुराण, उपनिषद, महाभारतबाट नै आफ्नो ज्ञानको भण्डार पूरा गरे र विज्ञानको रूपमा त्यही ज्ञानलाई प्रस्फुटन गराए । आधुनिक युगमा शिक्षा, राजनीति, कूटनीति तथा चिकित्सा शास्त्र, अभियन्तीय शास्त्र, खगोल शास्त्र तथा कृषि शास्त्रलाई आधुनिकरूपमा प्रस्तुत गरी विश्वको आवश्यकता पूरा गर्नसक्ने भएका हुन् । नैतिक शिक्षा भनेको जीवनको व्यवहारलाई जीवन्त बनाउने शिक्षा हो, जसलाई आज हामी नागरिक शिक्षा पनि भन्न सक्छौँ र सरलरूपमा नैतिक शिक्षाको रूपमा नै ग्रहण गर्न सक्छौँ  । महाभारतमा वर्णित जीवनभन्दा हामी धेरैपछि पो छौँ कि ? त्यहाँ वर्णन गरिएका जीवनका पक्षहरूमा हामीले यातायात र सञ्चारमा मात्र केही विकास गरेका हुनसक्छौँ तर सुखमय जीवन र जीवन दर्शनको नयाँ बाटो भने पहिल्याउनु भन्दा झन झन अन्यौलपूर्ण अवस्था गुज्रँदै छौँ । 

अहिले विश्वभर संयुक्त राष्ट्रसंघले दिगो विकासका लागि शिक्षा भनेको नै नैतिक शिक्षामा आधारित जीवन शिक्षा हो, जसले जीवनलाई सहज र पूर्णता दिन शिक्षाको भूमिका निर्धारण गरिनु पर्दछ भन्ने मान्यता राख्दछ । यसलाई नैतिक शिक्षाको अर्को पाटोको रूपमा पनि लिन सकिन्छ । 

हामीले पनि नैतिक शिक्षाको रूपमा र व्यावहारिक शिक्षाको रूपमा पूर्वीय शिक्षाभण्डारलाई आजका बालबालिकाको आवश्यकता पूरा गर्न सक्नुपर्छ । महाभारतकालीन अनुभव सबैभन्दा महत्त्वपूर्ण शिक्षाको आधार हुनसक्छ । यसका लागि अनुसन्धान जरुरी छ । भारतमा त केही हदमा शिक्षालाई आधुनिकीकरणको पदचापमा लैजाँदा पूर्वीय मान्यता र आधुनिकतालाई संयोजन गरिएको छ तर हाम्रो देशमा पश्चिमी अन्धानुकरण गरिएको र आफ्ना मूलभूत मान्यतामाथि कुनै अनुसन्धान नै गरिएको छैन । वेदसहित सबै ज्ञान विज्ञानको स्रोत हिमालय हो भनी शास्त्रमा वर्णन गरे पनि हामी हिमालयवासी हुँदाहुँदै पनि हामीले केही गर्न सकेका छैनौँ । खासगरी महाभारतमा वर्णित शैक्षिक अवस्थालाई हामीले आधुनिकतासँग अन्तर्घुलन गर्न सक्याँै भने यसबाट नेपाली शिक्षा प्रणालीले नयाँ मोड लिन सक्ने थियो, जुन कुरो हालैको शिक्षा आयोगको प्रतिवेदनले पनि इङ्गित गर्न सकेन । 

निष्कर्ष
महाभारतकालीन शिक्षा उच्चस्तरीय ज्ञानको, विज्ञानको सम्मिश्रण थियो । त्यसको अध्ययन र अनुसन्धानका लागि महाभारतको शिक्षासम्बन्धी अनुसन्धान मात्र पनि प्रशस्त छ । हामीले महाभारतकालीन शिक्षामा आजको आवश्यकतालाई परिपूर्ति गर्नेखालको आवश्यक तत्वको खोजी गर्ने हो भने आजको हाम्रो शिक्षामा देखिएको अन्धानुकरण र अन्यौलको अन्त्य हुने थियो । आफूसँग भएको पूर्वीय क्षमतालाई खोजी गर्नु आजको जरुरत हो र शिक्षासँग सम्बन्धित सवैको कर्तव्य के हुन जान्छ भने आजको शिक्षालाई मानवोचित बनाउनुपर्छ । आजको शिक्षासम्बन्धी  उत्तरआधुनिक धारणालाई वैदिक, पौराणिक, ऐतिहासिक तथा आधुनिक शिक्षा प्रणालीको संयोजित स्वरूपमा ग्रहणयोग्य बनाउनुपर्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.