शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थुप्तेन दोङाक क्षोलिङ गुम्बा– एक धार्मिक पर्यटकीय केन्द्र

बिहीबार, २४ माघ २०७५, ११ : १३
बिहीबार, २४ माघ २०७५

बौद्ध धर्मका प्रमुख धर्मगुरु शरण्यरत्न ठुल्सिक रिन्पोछे (ङवाङ छोकी लोटो) ञिङ्मापा सम्प्रदायको ३१औं निर्माणकाय (अवतार) को रूपमा वि.सं. १९८०÷०६÷२५ गते तिब्बतको यम्डोक ल्हो ताक्लुङ भन्ने ठाउँमा जन्मिएका थिए । क्याप्जे (शरण्यरत्न) ठुल्सिक रिन्पोछेको पिता लिच्छवी वंशका तेन्जिन छोदर र माता ज्याम्याङ वाङ्मो चाङ्पा न्यारेप्पा हुन् । तिब्बती  बौद्ध धर्मगुरु ओनरेपाले साधना गरेको गुफाभित्र ठुल्सिक रिन्पोछेको जन्म भएको थियो । 

क्याप्जे ठुल्सिक रिन्पोछे चार वर्षको हुँदा जाटुल रिन्पोछेको निमन्त्रणामा तिब्बतस्थित ला तो सेल्कार जिल्लाको जारोङफु भन्ने स्थानमा पुगी जाटुल रिन्पोछेलाई भेटेर पूर्वजन्मबारे भन्न थालिसकेपछि ठुल्सिक दोङालिङपाका शिष्य जाटुल रिन्पोछेले आफ्नै गुरुको अवतार हो भन्ने पहिचान गरे । ठुल्सिक रिन्पोछे चार वर्षको हुँदा नै जाटुल रिम्पोछेद्वारा उनलाई अवतारीको रूपमा लिई ङवाङ दोङग तेन्जिन पालसाङपो नामकरण गरियो । बाह्र वर्षको उमेरमा क्याप्जे ठुल्सिक रिन्पोछेलाई धर्म गद्दी आरोहण गराउनुका साथै   जाटुल रिन्पोछेबाट प्रतिमोक्ष बोधिसत्व र मन्त्रसम्बन्धी विशेष शिक्षा दिइयो । त्यसपछिलगतै तिब्बतस्थित जारोङ दोङ क्ष्योलिङ गुम्बाको उपाध्याय (खेन्पो) मा नियुक्त गरियो । 

ञिङमापा सम्प्रदायको सुरुदेखिको अवतारहरूमा १, महावैरोचन २, धर्मबज्र ३, शाक्यमुनी बुद्धको पाश्र्वती आनन्द ४, धर्मराज इन्द्रभुती ५, आर्यदेव ६, महासिद्ध कृष्णचर्या ७, थोन्मिसम्भोट ८, शान्तिगर्भ ९, शान्तरक्षिता १०, महादोभाषी वैरोचना ११, ञ्याक ज्ञानकुमार १२, श्री वज्र १३, शुक्र्षेन शाक्यकार १४, टङोन इश्वर ज्वाला १५, रोङसोभ महापण्डित १६, फम्थिङ अभयकीर्ति १७, विज्ञ विजय ख्युङ्पो १८, अतिश दिपङ्कर १९, रेछुङ वज्र २०, च्यादुल वीर्य ज्वाला २१, आनन्दध्वज २२, आदर्श वज्र  २३, सर्वज्ञ लोङछेन विमलप्रभा २४, महासिद्ध कर्मवज्र २५, मङ्गल मञ्जुश्री २६, श्यदेउ अभ्रान्ति आनान्द २७, ज्योनाङ आनान्द गर्भ २८, महानिधिपति अक्षर वज्र २९, गुयाङ लोदेचाल ३०, समन्तभद्र दर्शनविभुक्ति वज्र ३१, निर्माणकाय पर्दछन् । 

सन् १९९३ तदनुसार विक्रम संवत् २०१६ सालमा तिब्बतको आफ्नै गुम्बा जारोङ दोङग क्षोलिङ बुद्ध विहारमा रहिरहेकै अवस्थामा चीनमा सांस्कृतिक क्रान्ति चलिरहेको बेलामा विक्रम संवत् २०१६ को अन्त्यतिर ठुल्सिक रिन्पोछे  सोलुखुम्बुको नाङपाला घाँटी पार गरी आफ्ना चेलाहरूसहित थामेको देक्षेन क्षोखोरलिङ गुम्बामा आई दुई वर्ष बसे । वि.स. २०१८ सालमा सोलुको चिवाङ गुम्बा क्षाङक्षुप क्षोलिङमा आई पाँच वर्ष बसिसकेपछि फुङमुक्षे र सेङगेफुकमा करिब दुई वर्ष विताए । वि.स. २०२४ सालमा सोलुदूधकुण्ड नगरपालिका वडा नं २ स्थित ठुल्सिक रिन्पोछेले थुप्तेन दोङाक क्षोलिङ  गुम्बा आफैले स्थापना गरी धार्मिक शिक्षादीक्षा दिँदै आउने क्रममा ८८ वर्षको उमेरमा मिति २०६८ भाद्र १६ गते बिहान ८ बजे काठमाडौँको स्वयम्भू सितापाइलास्थित डाँडागाउँको जरोङ थुप्तेन मिन्ड्रोल दोङाक क्षोलिङ बौद्ध विहारमा उनको देहान्त भएको थियो । 

हाल ठुल्सिक रिन्पोछेको पार्थिव शरीर सोलुदूधकुण्ड न.पा. वडा नं. २ स्थित थुप्तेन दोङाक क्षोलिङ गुम्बामा सुरक्षित राखिएको छ । 
ठुल्सिक रिन्पोछेको देहान्तपछि थुप्तेन दोङाक क्षोलिङ गुम्बा समितिले ठुल्सिक रिन्पोछेको निर्माणकाय (अवतार) ३२औँ  रिन्पोछेको पहिचानका लागि तेङतेवुचे गुरु, जटुल रिन्पोछे, रब्जेयन रिन्पोछे, साङसाङ रिन्पोछे, खेन्जे याङसी रिन्पोछेलाई अनुरोध गरियो तर उहाँहरूबाट केही पनि निचोड आउन नसकेपछि ती पाँचै जना धर्मगुरुहरूको रायसहित सिक्किम भारतमा बस्ने ञिङमापा सम्प्रदायका बयोवृद्ध गुरु क्याप्जे दोठुस्चेन रिन्पोछेलाई पुनः अनुरोध गरियो । अनुरोध गरिएको १ वर्षपछि पहिचान (जोखाना हेरी सङ्केत प्राप्त गर्ने कार्य) भयो । पहिचान अनुसार निर्माणकाय ३२औँ (अवतारको) रूपमा सोलुखुम्बु जिल्ला माहाकुलुङ गा.पा. वडा नं. १ बस्ने बुबा कर्मा वाङछु शेर्पा र आमा डोमा शेर्पा को कोखबाट मिति २०७१÷१०÷०८ मा जन्मिएका ङवाङ जिग्मे ठिन्ले कुनख्याप हुन् । उनको मुख्य गुम्बा पनि थुप्तेन दोङाक क्षोलिङ गुम्बा नै हो ।

थुप्तेन दोङाक क्षोलिङ गुम्बा आजभन्दा ५१ वर्ष अगाडि निर्माण भएको हो । यो हालको सोलुखुधकुण्ड न.पा. २ मा पर्छ । सडक मार्ग समेत पुगिसकेको यो ठाउँमा पुग्न सल्लेरी सदरमुकामबाट सवारी साधनमार्फत करिब १ घण्टा लाग्दछ भने पैदल यात्राबाट ५ घण्टा जति लाग्छ । यस ठाउँको दृश्य अत्यन्त मनमोहक रहेको छ । यहाँ धूपको सुगन्धले हाम्रो मन मस्तिष्कलाई नै एक प्रकारको आनन्द दिने गर्छ । विगतमा यहाँ एक हजारभन्दा बढी चेला र भक्तजनहरू बसोबास गर्थे तर अहिले घटेर यो सङ्ख्या पाँच सयमा पुगेको छ । नयाँ र पुरानो गरी दुईवटा ठूला गुम्बाहरू तिब्बती शैलीमा निर्माण गरी स्थापना कालदेखि नै बौद्ध शिक्षा सञ्चालन हुँदै आएको छ । यहाँबाट धेरै बौद्ध अनुयायीहरूले उच्च शिक्षा हासिल गरे भने योगीहरू पनि भए । विगतमा ङोन्डोबाट ज्योक्छेन वा माहासन्धिसम्म पढाइ हुने यस गुम्बामा शास्त्रीय र आधुनिक बौद्ध शिक्षा दुवै अध्ययन अध्यापन गराइन्छ । ञिङमापा सम्प्रदायको जिल्लाकै सबैभन्दा ठूलो र प्रमुख मानिने यस गुम्बाको विशेषता भनेको जिल्लाका सम्पूर्ण गुम्बाहरूमध्ये श्रमाणेरिका र भिक्षु यस गुम्बाबाट मात्र उत्पादन गरिन्छ ।

थुप्तेन दोङाक क्षोलिङ गुम्बामा हरेक वर्ष आफ्नै रीतिअनुसार पूजा गर्ने गरिन्छ । पूजा तथा धार्मिक, सांस्कृतिक कार्यक्रमहरूमा बुद्ध जयन्ती, हरेक महिनाको दशमीमा क्षेचु ङेरङा पूजा, टुक्पा छेसी (क्ष्योकोर थुचेन पूजा), ल्हावक थुचेन (बुद्ध देवलोकबाट मनुश्य लोकमा आएको पर्व) पूजा, क्ष्योठुल थुचेन (बुद्धले धार्मिक प्रतिस्पर्धामा विजय प्राप्त गरेको पर्व ) पूजालगायत विभिन्न तान्त्रिक पूजाआजाहरू विशेष धार्मिक महत्त्वका छन् । हरेक वर्ष जिल्ला र अन्य विभिन्न क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरू अवतारी रिन्पोछेको दर्शन गर्न र गुम्बामा हुने विभिन्न पूजाआजाहरूमा सरिक हुन हजारौँ भिक्षुलगायतका आउने जाने गर्छन ।

थुप्तेन दोङाक क्षोलिङ गुम्बाको अर्को महत्त्व भनेको यहाँको पुरातात्विक सामग्रीहरू हुन् । साना तथा मझौला किसिमका धलौट धातुबाट निर्मित मूर्तिहरू जुन तिब्बतबाटै ल्याइएको पुरानो शैलीको गौतम बुद्ध, पद्मसम्भव, मञ्जुश्री आदि मूर्तिहरू छन् । तामा धातु र चाँदीबाट निर्मित साना तथा मझौला किसिमका चैत्यहरू पनि छन् । तिब्बतमा नै परम्परागत ढङ्गले छापिएको धेरै पुरानो कग्युर ग्रन्थ १०० ठेली पनि सो गुम्बामा रहेको छ । पौराणिक समयमा नै निर्मित मानिने छ्याम्खो (रिन्पोछे स्वयमले तान्त्रिक पूजा गर्दा लगाउने विशेष पोशाक) पनि गुम्बामा सुरक्षित राखिएको छ । यस्ता पुरातात्विक महत्वका सामाग्रीहरू के कती छन र ती कति पुराना हुन भन्ने कुरा थप अनुसन्धानकै विषय छ ।

[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हिमाल गिरी
हिमाल गिरी
लेखकबाट थप