शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालको एकमात्र कम्युनिष्ट कम्युन आधारशिलाः

एउटै भान्छामा खान्छन् शिक्षा मन्त्री पोखरेलका ४५ परिवार (फोटो/भिडियो)

मङ्गलबार, २९ माघ २०७५, ०९ : ५४
मङ्गलबार, २९ माघ २०७५

धेरैलाई लाग्ला झन्डावाल चिल्लो गाडीमा हुइँकिने शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलको पनि आलिसान बंगला होला । घरको गेटमा सुरक्षा गार्ड, दुई चार वटा कुकुर, नोकरचाकर, मोटरगाडी, श्रीमती, छोराछोरी, सुन चाँदी, जग्गाजमिन सान सौकतको जिन्दगी । धेरैलाई थाहा नहुन सक्छ, मन्त्री पद सम्हालेपछि पुल्चोकस्थित मन्त्रीक्वाटरमा बस्दै आएका पोखरेलको अघिपछिको स्थायी बसोबास भने महोत्तरीको बर्दिबासमा रहेको आधारशिला कम्युनमा हुने गरेको छ, जुन कम्युनसमेत ऐलानी जग्गामा छ ।

आधारशिलामा पोखरेल एउटा सामान्य र सानो कोठामा बस्छन्  २०५९ सालदेखि सुरु गरिएको आधारशिलाको १६ औं बार्षिकोत्सव विशेष समारोहका लागि बर्दिबास पुगेका बेला पत्रकारहरुलाई उनले आफ्नो कोठामा स्वागत गरे र आफ्नो स्थायी बासस्थानको परिचय गराए । मन्त्रीको कोठामा एउटा कम्युटर, टेवल, कुर्सी, टिभी, कार्पेट, एउटा दराज र खाट छ ।

आधारशिलामा मन्त्री पोखरेलसँगै अन्य १५ परिवारका ४५ सदस्य एउटै परिवार बनेर बसेका छन् । उनीहरु सबै एउटै भान्छामा खान्छन् । आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा अन्य विविध आवश्यकता पूर्तिका लागि सामुहिक रुपमा काम गर्छन् । आवश्यक अन्न उत्पादनका गर्न भाडामा जग्गा लिएर खेती गरेका छन् । परिवारमा मन्त्री पोखरेल अभिभावकका रुपमा छन् । आधारशिलाको संस्थापक अध्यक्षसमेत रहेका उनलाई परिवारका सबै सदस्यले आफ्नो अभिभावक मानेका छन् ।

अविवाहित रहेका पोखरेलले आधारशिलामा रहेका बालबालिकाहरुलाई आफ्ना छोराछोरी मानेका छन् । उनीहरुको पठनपाठनको जिम्मेवारी पनि लिएका छन् ।  परिवारका अन्य सदस्य दाजुभाई र दिदीबहिनीका रुपमा छन् ।

के हो आधारशिला ?

आधारशिलालाई विश्वका विभिन्न देशमा कम्युनिष्टहरुले अभ्यास गर्दै आएको कम्युनको एउटा अवशेषको रुपमा लिन सकिन्छ । कम्युनिष्ट पार्टीको शासन रहेका देशहरुमा सामुहिक रुपमा बसोबास गर्ने, आवश्यकता पूर्तिका लागि सामुहिक काम गर्ने कम्युनहरुको अभ्यास गरिन्थ्यो ।

नेपालमा पनि जनयुद्धका क्रममा तत्कालीन माओवादीले आफ्ना आधार इलाका रुकुम रोल्पा लगायतका ठाँउका कम्युनको अभ्यास गरेको थियो तर ती कम्युनहरु अहिले विघठन भइसकेको छ । तर, तत्कालीन एकता केन्द्रको नीति अनुसार २०५९ सालमा सिरहाको गोलबजारमा आधारशिलाको सुरुवात गरिएको थियो । पूर्णकालीन कार्यकर्ता र सहिद परिवारका १८ जना छोराछोरीबाट आधारशिलाको सुरुवात गरिएको थियो ।

तत्कालीन एकता केन्द्रको 0५४ सालमा भएको सम्मेलनले एउटा कार्यदिशा तय ग-यो । महासचिव नारायणकाजी श्रेष्ठ प्रकास भए । खुला पार्टीको रुपमा जनमोर्चा रहेको थियो ।

पोखरेल त्यतिबेला मेची, कोसी र सगरमाथाको क्षेत्रीय व्यूरो इन्चार्ज थिए । ठूलो मात्रामा पूर्णकालीन कार्यकर्ता बनाईएको थियो । पूर्णकालीन कार्यकर्ताहरुले आफ्ना बालबालिकाको पठन पाठन कसरी गर्ने समस्या देखाएका थिए । सिरहाको गोलबजारमा रहेको सामुदायिक विद्यालयमा अध्ययन गराउने भनेर १८ जनाबाट सुरु गरिएको थियो ।

सहिदका बालबालिका, पूर्णकालीन कार्यकर्ताका बालबच्चा राख्न होस्टेल खोलेर मात्र हैन, उनीहरुलाई मातृत्वपूर्ण र पितृत्वपूर्ण प्रेम पनि चाहिन्छ, स्नेहपूर्ण वातावरण पनि चाहिन्छ भनेर सामुहिकतामा गएको उनको भनाई छ । निजी सम्पति नराख्ने र एउटा नयाँ सामुहिकतामा जाने मोडेल बनाउने भनेर अघि बढेको पोखरेलले बताए ।

मन्त्री पोखरेलले भने,‘हामीले एउटा घर भाडामा लिएर सुरु गरेका थियौं । पछि सामुहिकतामा जान कसैको पैसा मागेर नभई आफ्नै कार्यकर्ताबाट चन्दा लिएर र पैतृक सम्पतिलाई एकठाँउमा राखेर कोष बनाउथ्यौँ र हरेक जिल्लाबाट सहिद र पूर्णकालीन कार्यकर्ताका बालबालिका संकलन गर्ने भन्यौं ।

जनयुद्धसँगको हाम्रो सहकार्य चलिरहेको थियो । हाम्रा ४ दर्जन जति साथी मारिनु पनि भएको थियो । त्यो कोणबाट यसलाई पार्टी कम्युन भन्छु म, कम्युन उन्मुख सामुहिकता । पार्टी र सत्ता छ । जनकम्युन भनेको चाही सत्तासँग गासिएका भए । यो चाही सत्तासँग गासिएको हुदैन । नयाँ ढंगको पार्टी नभई क्रान्ति हुदैन । क्रान्ति सफल हुन सहि कार्यदिशा हुनुपर्छ । त्यस्तो खालको अभियानलाई सहयोग गर्नका लागि यस्तो सामुहिकता खोल्नुप-यो हामीले आह्वान गरेका थियौं । १५ परिवार यसमा सामेल हुनुभयो । हामी ४८ सदस्यसम्म भयौं र अलि ठूलो परिवारको रुपमा यसको डिजाइन ग-यौं ।

आधारशिला स्थापना गर्नुको पहिलो उद्धेश्य पूर्णकालीन कार्यकर्ताको रक्षा गर्नु, दोश्रो सहिद परिवारका छोराछोरीका पठन पाठन व्यवस्थित बनाउनु, तेश्रो नयाँ ढंगको पार्टी निर्माणका लागि सहयोग गर्नु रहेको उनले सुनाए ।  यसका लागि उनले घरपरिवारले दिएको पैतृक सम्पति आधारशिलामा सामेल गरेका छन् ।

मन्त्री पोखरेलले भने, ‘हाम्रो भान्छा एउटै छ, हामी संगै खान्छौँ । विभिन्न जातजातीका छौं हामी । यहाँ थारु हुनुहुन्छ, यादव हुनुहुन्छ, महतो हुनुहुन्छ, जनजाती हुनुहुन्छ । हामी मिक्स खालको छौँ ।

सिरहामा २ कठ्ठामा सुरु गरेकोमा अहिले १३ कठ्ठा ऐलानी जमिनमा आधारशिला रहेको छ । २०६५ मा माओवादीसँग पार्टी एकता गरेपछि सिरहाबाट बर्दिबासमा सारिएको थियो ।

आधारशिला बिचारधारात्मक बहसको केन्द्रको रुपमा रहेको र हरेक मुद्धामा छलफल हुने गरेको छ । अक्टोबर क्रान्ति, सुशासन, संस्कृति, भाषा लगायत विभिन्न मुद्धामा छलफल गर्ने गरेको मन्त्री पोखरेलले सुनाए ।

हिजो १८ जना बालबालिकाबाट सुरु गरेको आधारशिलाका विद्यार्थीले अहिले एमए सम्मको अध्ययन गरेका छन् । अहिले भने ६ जना मात्र बालबालिका रहेका छन् ।

आधारशिलामा संरक्षक, निर्देशक समिति र आवश्यक विभागहरु बनाईएको छ । स्कुल विभाग, पठनपाठन विभाग, मेसको छुट्टै, स्वागत सत्कार विभाग आवश्यकतामा आधारमा काम गर्ने बताए । आधारशिला कुनै दर्तावाल संगठन नभएर स्वेच्छिक रुपमा आएको संगठन रहेको मन्त्री पोखरेल बताउँछन् ।

आधारशिलाका सदस्य शिव फुयाँलले भने, ‘राजनीतिक आन्दोलनकै कारण यसलाई अगाडि बढाउने हो । राजनीतिक आन्दोलनलाई अघि लैजानका लागि सामुहिक रुपान्तरण सहित आफ्नो जीवन अघि बढाउनुपर्छ भन्ने आधारमा यसमा बसेर हामीले काम गरिरहेका छौं ।

आधारशिलाका संरक्षक नेकपाका नेता नारायणकाजी श्रेष्ठ हुन् भने गिरिराजमणी पोखरेल संस्थापक अध्यक्ष रहेका छन् । पेशल खतिवडा, दीपबहादुर योञ्जन, माधव कोइराला लगायतका नेताहरुको पनि यसमा भूमिका छ ।

यसरी सञ्चालन भइरहेको छ आधारशिला

आधारशिला सञ्चालनका लागि सुरुका बेला मसला उद्योग चलाइएको थियो । पछिल्लो समय उद्योगको काम रोकिएको छ । आधारशिलामा रहेका व्यक्तिहरु विभिन्न क्षेत्रमा काम गर्छन र उनीहरुले कमाएको रकम आधारशिलामा खर्च हुने फुयालले बताए ।

उनले भने, ‘विज्ञान र प्रविधिमा आधारित आजको दृष्टिकोणको आधारमा समुदाय नै मुल कुरा हो र समुदायको आधारमा जानुपर्छ भन्ने मुल उदेश्य सहित चलेको हो । यहाँ मेरो निजी राखेर मैले प्रतिशतमा गर्ने भन्ने चाही हुँदैन । यो सहकारी भन्दा माथि कम्युन नभइसकेको कम्युन उन्मुख समुदायमा आधारित सामाजिक संस्था हो ।

बालबालिकाको पठनपाठन, लताकपडा लागि आधारशिलाले नै खर्च गर्ने गरेको छ । आधारशिलामा आफुले गरेको कमाई र खर्च सार्वजनिक गरिन्छ । दुई बर्षदेखि आधारशिलामा बसोबास गरिरहेका शिव फुयाल अधारशिलालाई समाजवाद उन्मुख कामका लागि प्रारम्भ विन्दुको रुपमा लिन्छन् ।

आर्थिक रुपमा टिकाउनका लागि सुरुमा गोलबजारमा सामानहरु बिक्री गरेको, होटेल चलाएको मन्त्री पोखरेलले स्मरण गरे । कम्प्युटर सिकाउने केन्द्र खोलेको र बर्दिबास आएपछि मसला उद्योग पनि सञ्चालन गरेको उनले बताए । उनले भने, ‘हामीले यहाँ आएपछि रुची मसला उद्योग चलायौँ, फेरी हामीले सहकारी स्थापना ग-यौँ । जनमुखी तथा विकास सहकारी चलाएका छौं त्यसमा ७ सय जति सदस्य हुुनुहुन्छ । भाडामा जग्गा लिएर चामल र दाल उत्पादन ग-यौं । अहिलेसम्म खानेकुराको हामीले हल गरेका छौँ । दालचामलको समस्या छैन तर अरु खर्च चाही गाह्रो पर्छ हामीलाई ।

आधारशिलाले महोत्तरीमा दर्पण एफएम पनि चलाएको थियो तर पछि बन्द भयो । स्कुल रुपान्तरणमा चाही सर्वाधिक सफलता पाएको र सो क्षेत्रमा साक्षरता अभियानसमेत सञ्चालन गरेको उनले बताए । काठमाडौंमा दुईवटा होस्टेल पनि चलाइएको थियो । भूइचालोपछि काठमाडौंमा बन्द भएको होस्टेल अहिले बर्दिबासमा सञ्चालन भइरहेको छ।

आधारशिलाको स्थापनाकालदेखि नै आमाको रुपमा पुष्पलता घिमिरेले आफ्नो भूमिका निर्वाह गरेकी थिइन । उनका श्रीमान र उनी दुबै पार्टीका पूर्णकालीन कार्यकता थिए । पूर्णकालीन कार्यकर्ताका बालबालिकालाई पढाउन तथा संरुक्षणका लागि पार्टीको नीति अनुसार यसको सुरुवात भएको उनले बताइन् ।

उनले भनिन्, ‘ज्ञानेन्द्रको शासनकालका बेला दुःख कष्टले यसको सुरुवात गरेका थियौं , सुरुमा महिला संगठनको व्यानर राखेर छात्राबासको नामबाट यसको सुरुवात गरिएको थियो । पछि आएर सम्पत्ति सामाजिकीकरण गर्ने कम्युनको रुपमा बस्ने भन्ने निर्णय भयो ।

यस्तो हुन्छ आधारशिलाको भान्छा

आधारशिलामा सबैले एकैखाले खाना खान्छन् भने विरामीका लागि भने फरक खालको खाना बनाइने गरिएको छ । खानामा दालभात तरकारी अचार दैनिक हुने गरेको छ, हप्तामा एकपटक मासु पाक्छ । सामान्य निजी घरमा हुने भन्दा राम्रो खाना खाने गरेको घिमिरेले बताईन् । एकजनालाई किचेन व्यवस्थापनको जिम्मेवारी दिइएको छ भने सबैजना मिलेर खानेकुरा पकाउने गरेका छन् ।

परिवारमा १० बर्ष मुनीका बालबालिका र ५० बर्ष माथिका लागि प्रत्येक दिन दुधको पनि व्यवस्था गरिन्छ । कोही बिरामी प-यो भने छुट्टै खाना बनाउने गरिन्छ । परिवारमा रहेका आधा संख्याका सदस्य भने घर बाहिर बस्ने गरेका छन् । खाना खाने समयमा दैनिक पन्ध्र बिस जना हुने गरेका छन् । एकछाकमा ५ गिलास चामलले पुग्ने घिमिरेले बताइन् ।

परिवारका लागि भाडामा लिएको खेतीबाट बर्षभरीलाई चामल पुग्ने, किन्न नपर्ने र पोहोरको धान अझै खाइनसकेको उनले बताइन् । पानी लाग्ने ठाँउमा २२ कठ्ठाजति जमिन भाडामा लिइएको छ ।

उनले भनिन्, 'हाम्रोमा कलेज पढाउने पनि हुनुहुन्छ उहाँको आयस्रोत आँउछ, मैले कमाएको यहाँ बृद्ध र बच्चाहरुको लागि पनि खर्च गर्नुपर्छ । राजनीतिक क्षेत्रमा जानेहरुको पनि त्यस्तै छ । निजी जीवनमा पनि कसैलाई त पाल्नुपर्छ भने सामुहिक परिवारमा पनि त पाल्नुप-यो नी । खोटाङमा दुर्गा जयन्ती राई हुनुहुन्छ, उहाँले तरकारी खेती गरेर घरखर्च दिनुहुन्छ । पेशल खतिवडा दाई हुनुहुन्छ उहाँले पनि काम गर्नुहुन्छ ।

जातिय विविधता: झगडा परालको आगो

परिवारमा कहिलेकाही सामान्य ठाकठुक पनि पर्ने हुन्छ । त्यस्तो भयो भने तत्काल मिटिङ बसेर हल गरिने चलन छ । तर, घर परिवारमा जस्तो झगडा भने नहुने पुष्पलता बताउँछिन् । उनी भन्छिन्, ‘हामी त बिचार बोकेका मान्छे हौ, कहिलेकाही ठाकठुक त पर्छ तर हामी हल गरिहाल्छौ ।

आधारशिलामा क्षेत्री बाहुन, जनजाती र मधेसी समुदाय छन् । जनजातीमा तामाङ, चौधरी, मधेसीमा यादव छन् ।

बेलाबेलामा समसामयीक राजनीतिक विषयमा पनि छलफल हुने गरेको छ । यस्तै दशैतिहारका बेला विभिन्न विषयमा छलफल गरेर मनाउने गरिएको छ । तर टिका लगाउने काम भने हुदैन । बाहिरबाट अरुलाई बोलाएर पनि छलफल गर्ने चलन छ ।

आधारशिलामा बिहे अरुतिर हुनेभन्दा अलि फरक ढंगले हुने गरेको छ । घिमिरेले भनिन्, ‘हाम्रो यो परिवारमा जग्गे राखेर चामल डढाएर हैन, सामान्य माला लगाएर बिहे हुन्छ । अलिअलि भाषण गरेर, सामान्य खानपिन गरेर बिहे गरिन्छ ।

पुनम महतो ७० सालदेखि आधारशिलामा बस्न थालेकी हुन् । उनका ३ बच्चा र श्रीमान छन् । उनले त्यहाँ खेतीपातीदेखि आवश्यक पर्ने काम गर्छिन । पहिले घरमा बस्दा बाहिर जान समस्या हुन्थ्यो । आफ्ना बच्चालाई पनि आफु नहुँदा आफ्नै बच्चा जस्तै सबैले माया गर्ने उनले बताइन् । पहिला बसेको जीवनशैलीभन्दा आधारशिलाको जीवनशैली सरल भएको उनी बताउँछिन् ।

ऐलानी जग्गामा आधारशिला 

१३ कठ्ठा जमिनमा रहेको आधारशिला ऐलानी जग्गामा रहेको मन्त्री पोखरेलले सुनाए । केहीदिन पहिले भूमिसुधार मन्त्री पद्मा अर्याल आएका बेला आफ्नो र आफ्नोजस्तै जग्गाको समस्या भएकाहरुको एकैचोटी हल गर्नका अनुरोध गरेको सुनाए । उनले भने, ‘पहिले हामीले बाबुराम भट्टराईजी प्रधानमन्त्री भएको बेला भन्यौं । बालुवाटारमा गएर उहाँलाई भेट्यौं, उहाँले एउटा टोली बनाईदिनुभयो । कर्मचारीको नेतृत्वको टोली थियो तर त्यसले रिर्पोट बुझाउन सकेन । अस्ति भुमिसुधार मन्त्री आउनुभएको थियो । हामीले यहाँ ल्यायौं, छलफल ग-यौँ । हाम्रोसंगै अरुको पनि समस्या समाधान गर्न हामी चाहन्छौँ ।

मन्त्री पोखरेलले आधारशिला चेतनाका दृष्टिकोणले खोलेको र अब जीवनको दृष्टिकोणले यसलाई अघि बढाउन आवश्यक रहेको बताए । उनले भने, ‘म के भन्छु भने धुर्मुस सुन्तली फान्डेसनले हाम्रोभन्दा राम्रो घर छ, अहिले त्यहाँका मुसहर जुन घरमा बसेका छन्, म बसेकोभन्दा राम्रोमा बसेका छन्  उनीहरु। राज्यले त्यो ढंगले ब्यापक बिस्तार गर्नुपर्छ, त्यो राज्यको जिम्मेवारीभित्र पर्छ, पार्टीमा लागेकाहरुले पनि यसरी बिचारधारात्मक रुपमा समानतापूर्वक एउटा बाटोमा जान सकिन्छ ।

उनले धार्मिक संस्थाहरु पनि कम्युनका रुपमा खुलेको भन्दै राजनीतिक रुपमा पनि सामुहिकतामा आधारित कम्युनहरु खुल्नुपर्ने र यसबारेमा नयाँ बहस हुनुपर्ने बताए ।

आधारशिला कम्युनका संस्थापक पोखरेलको सम्पति

मन्त्रीपरिषदमा बुझाएको सम्पति विवरण हेर्दा बर्तमान सरकारका सबैभन्दा गरिब मन्त्रीका रुपमा पोखरेल देखिन्छन् । पुख्यौली घर खोटाङमा बुवा चन्द्रमणी पोखरेलको नाममा रहेको १२ रोपनी र १० रोपनीको दुईवटा जग्गाबाट पाएको अंश सामाजिक संस्थालाई दान गरेका छन् । उनले भरेको सम्पति विवरण अनुसार एभरेष्ट बैंकमा उनको ३ लाख ६७ हजार रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकमा १३ हजार ९ सय ९३  रुपैयाँ छ । यस्तै खोटाङमा रहेको रुपाकोट रेडियोमा उनको ५ हजार रुपैयाँको शेयर रहेको छ ।

कम्युनिष्ट पार्टीको मूल आर्दश साम्यवादको एक नमुनाको रुपमा रहेको आधारशिलालाई निरन्तरता दिने र सो मोडेलबारे अहिलेको ठूलो कम्युनिष्ट पार्टीमा पनि बहस हुनुपर्ने मन्त्री पोखरेलको आकांक्षा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप