शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मृत्यु संस्कारलाई समयसापेक्ष बनाउनुपर्छ: मुख्यमन्त्री पोख्रेल

शुक्रबार, २७ वैशाख २०७६, १३ : २८
शुक्रबार, २७ वैशाख २०७६

परासी– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मृत्यु संस्कारलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका छन् । 

मृत्यु संस्कारको बारेमा पछिल्लो समय बहस चलिरहेका बेला उहाँले बदलिँदो समयसँगै मृत्यु संस्कारलाई पनि रुपान्तरण गर्न नसकिए त्यसप्रतिको विश्वास गुम्ने विचार व्यक्त गरे । 

तत्कालीन नेकपा एमाले स्कुल विभागका केन्द्रीय सदस्य बद्री खनालकी आमा कमलादेवी खनालको सातौँ दिनको पुण्य तिथिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बर्दघाट नगर कमिटीले आज बिहान आयोजना गरेको श्रद्धाञ्जलिसभामा मुख्यमन्त्री पोखरेलले भने– ‘पुरानो समयमा पीडा भूल्ने उपाय नहुँदा त्यसबेला एक किसिमको संस्कार निर्माण भएको थियो, त्यसलाई समय सापेक्ष रुपमा रुपान्तरण गर्दै जानुपर्छ, त्यसो गर्न नसकिए संस्कृतिप्रति नै विश्वास टुट्दै जाने र यसले समाज नै कमजोर हुन्छ ।’

उनले संस्कृति बलियो भएमा मात्र समाज बलियो हुने भन्दै समय अनुसारको संस्कार र संस्कृति भएमा संरक्षण पनि हुने र राष्ट्रलाई पनि सवल बनाउन सकिने बताए । 

पर्दा पछाडि रहेर कमलादेवी जस्ता हजारौँ आमाले देश र पार्टीप्रति जिम्मेवार योद्धाहरुलाई प्रेरणा दिने काम गरेको मुख्यमन्त्री पोखरेलले बताए । 

भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले कमलादेवी खनालको निधनले पार्टी र कम्युनिष्ट आन्दोलनलाई नै अतुलनीय क्षति पुगेको बताए । सो अवसरमा परिवारका तर्फबाट स्व कमलादेवीका छोरा बद्री खनालले उनको योगदान र जीवनीबारे प्रकाश पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप