बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘सरकारका राम्रा काम ढाकछोप गर्न चौतर्फी घेराबन्दी’

सोमबार, ०२ असार २०७६, १९ : ०८
सोमबार, ०२ असार २०७६

हेटौंडा– प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताएका छन् । 

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको क्षेत्रीय अधिवेशन समारोहमा उनले सरकारले गरेका राम्रा कामको ढाकछोप गर्न चौतर्फी घेराबन्दी गरिएको बताएका हुन् । उनले भने, ‘हामीले गुठी बचाउनका लागि ल्याएको गुठी विधेयक हामीले संसद्मा लगेर परिमार्जन गरेर जनताको पक्षमा बनाई गुठी संरक्षण गर्न सक्छौँ, तर यसलाई समेत हाउगुजी बनाएर अरूलाई भड्काएर सरकारको विरोध गर्ने कार्य भएको छ ।’

मुलुकमा स्थायी सरकार आएको, सङ्घीयता आएको र जनताले शान्तिको महसुस गरिरहेको बेला केही तत्वहरुले सरकारलाई विफल पार्न सरकारलाई घेराबन्दीमा राखेकोे मन्त्री जम्मकट्टेलको आरोप छ । उहाँले सरकारका राम्रा कामको सबैले खुलेर समर्थन गर्नुपर्ने र कमीकमजोरी भए सुधार्न सुझाव दिनुपर्ने तर्क राखे ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका अध्यक्ष मुनु सिग्देलले पेशागत हकहितमा जुट्न सबै कर्मचारीलाई आग्रह गरे । उनले कर्मचारीलाई यो वा ऊभन्दा पनि क्षमताका आधारमा नेतृत्व चयन गर्न सुझाव दिए । 

औद्योगिक क्षेत्रमा धर्ना
मजदूरलाई बिनाजानकारी एकाएक उद्योग बन्द गरी आफूहरुको रोजिरोटी खोसेको भन्दै आन्दोलनरत् हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको गङ्गा सोपका मजदूरले आज युनिलिभर बसामाडीमा धर्ना दिएका छन् । बिहानदेखि धर्नामा बसेका मजदूरलाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पुनः उद्योग सञ्चालन तथा आफूहरुको रोजगारीको ग्यारेन्टी हुनुपर्ने मागसहित आन्दोलन गरिरहेका मजदूरले उद्योग प्रशासनले बिनाक्षतिपूर्ति जागिरविहीन बनाएको बताएका छन् । नेपाली काँग्रेस मकवानपुरका सभापति तथा प्रदेश नं ३ प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका इन्द्रबहादुर बाँनियाको लगानी रहेको उद्योगले युनिलिभरका लागि सेम्पु उत्पादन गर्दै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप