मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघले पठायो सीडीओमार्फत प्रधानमन्त्रीलाई तरकारी उपहार ! (फोटोफिचर)

मङ्गलबार, २४ असार २०७६, १६ : १३
मङ्गलबार, २४ असार २०७६

काठमाडौं–भारतबाट आयात हुने तरकारी तथा फलफूल बिना परीक्षण आयात गर्ने सरकारी निर्णयको विरोध गर्दै नेपाल विद्यार्थी संघले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषादीयुक्त फलफूल तथा तरकारी उपहार पठाएको छ । 

सरकारी निर्णयको विरोधमा चरणवद्ध आन्दोलनको घोषणा गरेको नेविसंघले पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत विषादीयुक्त तरकारी तथा फलफूल प्रधानमन्त्री ओलीलाई उपहार पठाएको हो । 

यसैबीच नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्ले, निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टलगायतका नेविसंघका नेता कार्यकर्ताले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी उपहार पठाएको छ । 

नेविसंघका पूर्वकेन्द्रीय सदस्य भट्टले तरकारी तथा फलफूल सरकारी निर्णय खारेज गरिनेपर्ने माग गर्दै साे माग पूरा नगरे थप संघर्षको कार्यक्रम चेतावनी दिए । 

आइतबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ पूर्वमहामन्त्री काफ्लेले भारतीय तरकारी बिना जाँच आयात गर्ने सरकारी निर्णय विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए । 

जसअनुसार सोमबार देशभरका क्याम्पस अगाडि तरकारीसहित विरोध प्रदर्शन गर्ने तय भएको थियो । यस्तै मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट प्रधनमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल प्रमलाई उपहार पठाउने तय भएको थियो । 

यस्तै  असार २५ गते विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । 

सरकारले असार १९ गते विहिबार मन्त्रिपरिषद् बैठकबाट भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको  विरोध हुदै आएको छ । 

यसअघि सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो । सो आदेशमा नेपाल आयात गरिने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ ।

सरकारले भने तत्कालका लागि प्रयोगशाला चुस्त नभएको र कर्मचारी अभाव भएको भन्दै ६ महिनाका लागि परीक्षण नगर्ने निर्णय गरिएको बताएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप