शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रिकेट विश्वकप फाइनलमा इङ्ल्याण्डलाई अनावश्यक एक रन बढी दिएर जिताउन सघाएको आरोप

बुधबार, ०१ साउन २०७६, १० : ५१
बुधबार, ०१ साउन २०७६

एजेन्सी । पूर्व अन्तर्राष्ट्रिय अम्पार साइमन टफेल र के। हरिहरनले क्रिकेट विश्वकप फाइनलमा अम्पायरले इङ्ल्याण्डलाई ‘ओवरथ्रो’को लागि पाँच रन दिनु पर्नेमा ६ रन दिएर गलत फैसला गरेको बताएका छन् ।

यो घटना फाइनल खेलको अन्तिम ओभरमा भएको थियो । अन्तिम ओभरमा इङ्ल्याण्डलाई १५ रन चाहिएको थियो । आदिल राशिद र बेन स्टोक्स क्रिजमा थिए ।

यस ओभरको चौथो बलमा दुई रन लिने क्रममा न्युजिल्याण्डका खेलाडी मार्टिन गुप्टिलको ओभरथ्रोमा बल स्टोक्सको ब्याटमा लागेर बाउन्ड्री पुग्यो ।

दुई खेलाडीले दुई रन पुरा गर्नुभन्दा अघि नै बल स्टोक्सको ब्याटमा लागेर बाउण्ड्री गएको थियो । यस हिसाबमा मैदानमा रहेका अम्पायरले इङ्ल्याण्डलाई ६ रन दिए ।

हाल आएर सो रनमा पूर्व अम्पायरहरुले प्रश्न उठाएका छन् ।

दुवै पूर्व–अम्पायरले गुप्टिलले थ्रो गर्दा, आदिल राशिद र स्टोक्सले दोस्रो रन पूरा गर्न बाँकी रहेको कुरा औँलाएका छन् ।

तर मैदानमा रहेका अम्पायरद्वय कुमार धर्मसेना र मारियम इरासमुनले इङ्ल्याण्डलाई ६ रन प्रदान गरे । चार रन बाउन्ड्री छोएकोमा र दुई रन ब्याटम्यानले दौडेर लिएको मानेर ६ रन दिइएको थियो ।

ग्राउन्डमा रहेका दुवै अम्पायर श्रीलंकाका नागरिक हुन् ।

आईसीसीले पाँच पटक वर्षका सर्वश्रेष्ठ अम्पायर चुनेको टफेलले भने ,‘यो स्पष्ट रुपमा गल्ती थियो । यो निक्कै खराब फैसला थियो । इङ्ल्याण्डलाई ६ रन होइन, पाँच रन दिनुपथ्र्यो । त्यस अनावश्यक रन दिदाँ खेलमा इङ्ल्याण्डलाई फाइदा भयो ।’

पूर्व भारतीय अम्पायर्स के। हरिहरनले टफेलको कुरामा सहमति जनाउँदै भने ,‘कुमार धर्मसेनाले न्युजिल्याण्डको विश्वकपको सपना तोडिदिए । यो ६ नभएर पाँच रन हुनुपथ्र्यो ।’

दुई जना पूर्व अम्पायरको टिप्पणीप्रति विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

यसबारे बोल्ने क्रममा आइसीसीका प्रवक्ताले भनेका छन्, ‘ मैदानमा रहेका अम्पायरले नियमलाई ख्याल गरेर निर्णय गर्छन् । नीतिगत मुद्दामा हामी कुनै पनि टिप्पणी गर्न चाहदैनौँ ।’

अस्ट्रेलियाली नागरिक टफेल आईसीसीको नियम बनाउने उप–समितिका सदस्य पनि हुन् । 

चौका–छक्का गनेर विजयी बनाएकोमा पनि विरोध

यस अघि विश्वका कयैन क्रिकेट खेलाडीले सुपर ओभरपछि पनि खेल बराबर भएको अवस्थामा चौका छक्का गनेर विजेता निर्धारण गर्ने आईसीसीको निर्णयप्रति विरोध जनाएका थिए ।

भारतका पूर्व क्रिकेटर गौतम गम्भीर, युवराज सिंह, न्युजिल्याण्डका स्कट स्टायरिस, अष्ट्रेलियाका पूर्व ब्याटम्यान डीन जोन्स तथा वर्तमान भारतीय टिमका ब्याटम्यान रोहित शर्माले उक्त निर्णयप्रति प्रश्न उठाएका थिए ।

न्युजिल्याण्डका प्रशिक्षकले पनि उक्त नियमको पनुरावलोकन हुनुपर्ने माग गरेका छन् ।

कोच ग्यारी स्टीडले भनेका छन्, ‘यो नियम लेखिँदै गर्दा विश्वकपको फाइनलमा यस्तो पनि हुन सक्छ भनेर कसैले सोचेको थिएन होला । यसको समीक्षा हुनुपर्छ र कयैन विकल्प खोजिनुपर्छ ।’

उता, न्युजिल्याण्ड टिमका कप्तानले फाइनल खेलमा कसैले नहारेको बताए । विलियमसनले न्युजटक जेडबीसँगको कुराकानीमा भने, ‘खासमा कसैले पनि फाइनल हारेनन् तर अवार्ड त दुवैलाई दिन सकिँदैन थियो, एउटा न एउटा टिमलाई दिनु नै थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप