बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा यी नेताले पाउँदैछन् विभागको जिम्मेवारी

आइतबार, १२ साउन २०७६, १७ : ३६
आइतबार, १२ साउन २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकीकरणका वाँकी सबै काम टुङ्गाउने तयारी गरेको छ । नेकपामा यसअघिनै भएको सहमति अनुसार तत्कालिन एमालेका (सम्पर्क समन्वय कमिटी सहित) १९ र तत्कालिन माओवादीको कोटामा परेका १४ विभाग प्रमुखको नाममा करिव–करिव सहमति जुटेको छ । यस्तै उपप्रमुखको नाममा पनि सहमति जुटेको छ । 

तर, स्कूल विभाग कसले लिने भन्नेमा विवाद कायमनै छ । स्कूल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दावी रहँदै आएको छ । स्कूल विभागबाहेक अन्य विभागका प्रमुख र उपप्रमुखको प्रस्तावित नाम तत्कालिन दुवै पार्टीले तयार गरेका छन् । यिनै प्रस्तावित नाममा सहमति जुटाउने प्रयास अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।

आईतबार बिहान अध्ययक्षद्वयबीच भएको छलफलमा स्कूल विभागमा सहमति जुट्न नसकेपनि अन्य विभागका प्रमुख र उपप्रमुखमा भने करिब करिब सहमति जुटेको एक नेताले बताए । ती नेताका अनुसार यदि नाटकिए हिसाबले निर्णय बदलिएनन् भने भोलि (सोमबार) बस्ने सचिवालय बैठकले दुवै पार्टीले तयार गरेका प्रस्तावित नाम अनुमोदन गर्ने भएको छ ।

‘तत्कालिन दुवै पार्टीका नेताहरुको छुट्टाछुट्टै बैठकले आफ्नो भागमा परेका विभाग, आयोगका प्रमुख र उपप्रमुखको नाम यसअघिनै टुङ्गाइसकेका छन्,’ ती नेताले भने, ‘अब सोमबार बस्ने सचिवालय बैठकमा तत्कालिन दुवै पार्टीले ती नाम प्रस्ताव गर्छन् । त्यसमा छलफल हुन्छ । यदि तिनै नाममा सहमति जुट्यो भने अनुमोदन गर्ने, सहमति जुट्न नसके केही विभाग र नाम परिवर्तन गरेर भएपनि टुंगाउने भन्ने सहमति दुई अध्यक्षमा भएको छ ।’

रातोपाटीलाई प्राप्त तत्कालिन एमाले र माओवादीले सचिवालयमा पेश गर्न तयार पारेको विभाग प्रमुख र उपप्रमुखको प्रस्तावित नामावली यस्तो छ–

कुन आयोग कसको भागमा ?

अध्यक्षद्वयबीचको सहमति अनुसार तत्कालिन एमालेको भागमा लेखा आयोग र निर्वाचन आयोग परेका छन् । तत्कालिन माओवादीको भागमा अनुशासन आयोग परेको छ । तर, अनुशासन आयोग तत्कालिन माओवादीको भागमा परेपनि तत्कालिन निर्वाचन आयोग दिएर अनुशासन आयोग माग्ने छलफल तत्कालिन एमालेका शिर्ष नेताहरुबीच भएको एक नेताले बताए । तत्कालिन एमालेका केही नेता अनुशासन आयोगको प्रमुखमा अमृत बोहरा र लेखा आयोगको प्रमुखमा पुष्प कँडेललाई बनाउन चाहेको भएपनि सहमति जुटिनसकेको ति नेताले बताए ।

सोमबार बस्ने सचिवालय बैठकमा यसबारे छलफल हुने भएको छ । यदि अनुशासन आयोग तत्कालिन एमालेले लिएको खण्डमा तत्कालिन माओवादीले निर्वाचन आयोग प्रमुख अमिक शेरचनलाई बनाउने सहमति गरेको छ । यस्तै सल्लाहकार परिषदको अध्यक्षमा तत्कालिन एमालेका नेता केशव बडाल र जेष्ठ कम्युनिष्ट मञ्चमा तत्कालिन माओवादीका नन्दकुमार प्रसाइको नाम प्रस्ताव हुने भएको छ ।

स्कूल विभागमा विवाद कायमनै

अन्य विभागमा सहमति जुटेपनि स्कूल विभाग तत्कालिन कुन पार्टीले लिने भन्ने विवाद कायमनै छ । स्रोतका अनुसार बिहिबार वालुवाटारमा बसेको तत्कालिन एमालेका नेताहरुको बैठकले सकेसम्म स्कूल विभाग लिनेगरी प्रयास गर्ने निर्णय गरेका छन् । बैठकमा सहभागि एक नेताका अनुसार उक्त बैठकमा अध्यक्ष ओलीले नेता पोख्रेललाई स्कूल विभाग प्रमुख बनाउन ६ नेताको एकमत हुनुपर्ने प्रस्ताव राखेका थिए । तर, बैठकमा सहभागि नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र नेता वामदेव गौतमले स्कूल विभागको विवाद अध्यक्षद्वयलेनै मिलाउन भन्दै पन्छिएको ति नेताले बताए ।

यस्तै साउन ५ गते प्रचण्ड निवास खुमलटारमा बसेको तत्कालिन माओवादीका शिर्ष नेताहरुको बैठकले स्कूल विभागमा आफ्नो अडान नछाड्ने निर्णय गरेको थियो । शनिबार फेरी बसेको बैठकले पनि सोही निर्णय दोहोराहएको छ । तत्कालिन माओवादीको तर्फबाट स्कूल विभागमा नेता नारायणकाजी श्रेष्ठको दावी रहँदै आएको छ ।

आईतबार वालुवाटारमा भएको अध्यक्षद्वयको भेटमा नेता श्रेष्ठ र पोख्रेलले दावी नछाडे तत्कालका लागि स्कूल विभाग दुई अध्यक्षलेनै राख्ने र उपप्रमुख एक नेतालाई दिने गरी छलफल भएको छ । यद्यपि यसबारे सचिवालयमा पनि छलफल हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप