शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नगरपालिकामा काठमाडौँको जस्तै रिङरोड बनाउने सपना छ : नगर प्रमुख अमरसिंह धामी

बिहीबार, १६ साउन २०७६, ११ : १४
बिहीबार, १६ साउन २०७६

शैल्यशिखर नगरपालिका प्रदेश नं ७ मा अवस्थित नगरपालिका हो । राष्ट्रिय जनगणना अनुसार २२ हजार ६० जनसङ्ख्या रहेको यस नगरपालिकाबाट स्थानीय निर्वाचन २०७४ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएर विजयी भएका थिए, अमर सिंह धामी । उनले ४ हजार मत प्राप्त गरेका थिए ।

नगरप्रमुख भएको २ वर्षदेखि जिम्मेवारी सम्हाल्दै आएका धामीले सुदूरपश्चिममा अवस्थित जिल्लाको विकट वडाहरु भएका नगरपालिकाको विकास र समृद्धिका लागि विभिन्न कार्यक्रम र योजनासँगै विकास निर्माणका काम गरिरहेका छन् ।

उनले नगरप्रमुखको रूपमा रहेर नगर र जनताको गुनासाका विषयमा गरेका काम र भावी योजनाका विषयमा रातोपाटी अनलाइनको ‘जनप्रतिनिधि संवाद’ लागि गरिएको कुराकानी ।

जनप्रनिधिका रूपमा निर्वाचित भएर काम गरिरहँदा कस्तो अनुभूति भइरहेको छ ?

जनप्रतिनिधि भइसकेपछि लामो समयदेखि नगरमा नेतृत्व गर्ने प्रतिनिधिको अभावमा आत्तिएका स्थानीय स्तरका जनताहरुका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न पहल गरिरहेका छौँ । अत्यावश्यक आवश्यकता जस्तैः बाटोघाटो, पुलपुलेसा, खानेपानी, गाँस, बासका सवालमा थुप्रै योजना ल्याएका छौँ ।

व्यक्तिगत रूपमा भन्ने हो भने, स्थानीय तहमा निर्वाचित भइसकेपछि यहाँ साधन र स्रोतको अभावले लक्षित कार्यक्रम गर्न अप्ठ्यारो भइरहेको छ । जनताको जनआकाङ्क्षा धेरै भएको तर स्रोत र साधन कम भएको हुँदा त्यसलाई पूरा गर्न असहज वातारवरण सिर्जना भएको छ । किनभने हामीसँग न्यून मात्रामा मात्रै बजेट विनियोजन भएको छ । सङ्घीय सरकारले स्थानीय तहका लागि जति बजेट दिनुपर्ने त्यो बजेट पनि दिन नसकेकाले पनि न्यून बजेट विनियोजन भएको हो । त्यसैले जुनसुकै तह केन्द्र र प्रदेश विकास, निर्माणका योजना लिएर जाँदा स्थानीय सरकारसँग नै जानुस् भनेर फर्काइदिने प्रवृत्ति रहेको छ । जसले गर्दा जिल्ला विकास समितिले बनाएका अधुरा योजना पनि पूरा गर्न स्थानीय सरकारले नै पूरा गर्छ भनेर फर्काइदिने गरिन्छ । त्यसैगरी, कुनै पनि कर्मचारीलाई दरबन्दी दिइएको छैन । त्यसैले कर्मचारीको अभावले गर्दा पनि जनअपेक्षा अनुरूपमा काम हुन सकिरहेका छैनन् ।

निर्वाचित भएयता जनताले महसुस गर्ने किसिमका के–के काम गर्नुभयो ?

शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा गरिएका विभिन्न कार्यक्रमले जनतालाई प्रत्यक्ष सहायता पुगिरहेको छ ।

स्वास्थ्य सुधारका लागि बर्थिङ सेन्टरहरु खोलिएका छन् । विकट वडाहरु भएकाले सिटामोलको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको ठाउँमा चार पाँचवटा स्वास्थ्य इकाई केन्द्र गठन गरिएको छ ।

यसैगरी दुर्गम क्षेत्र भएकाले यहाँको शिक्षाको अवस्था पनि कहालिलाग्दो छ । त्यसैले शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाबाट नगरशिक्षकका रूपमा अनुदान दिएर शिक्षक नियुक्त गरेको छ । लामो समयदेखि निजी स्रोतमा रहेका विद्यालयमा शिक्षकहरुलाई पनि हामीले सहयोग गरिरहेका छौँ । एक दुई घण्टा हिँडेर विद्यालय जानुपर्ने ठाउँमा साना बालबालिकाको लागि बालविकास केन्द्रहरुको स्थापना गरेका छौँ । यो नगरपालिकाभित्र रहेका २७ वटा बाल विकास केन्द्रहरु स्थापना गरिएका छन् ।

त्यहाँको कृषि प्रवद्र्धन र विकासका लागि नगरपालिकाले केकस्ता योजना र बजेटका व्यवस्था गरेको छ ?

कृषिको सन्दर्भमा हामीसँग केन्द्रले दिएको एकदमै न्यून बजेट छ । जुन ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ कार्यक्रम अन्तर्गत रहेको छ । यसको बजेट न्यून भएकाले कुनै ठूलो परियोजना गर्न सम्भव छैन । त्यसैले, बालीनालीमा लागेका किटनाशक औषधिहरु, गाईवस्तुमा लागेका विभिन्न रोगहरु निदान गर्नका लागि पनि कर्मचारीको अभाव भएकाले नगरपालिकाले प्रत्येक वडामा कृषि भेटनरी खोलेको छ । गाईवस्तुमा देखिने ससाना समस्या जस्तै, बाख्रालाई जुका पर्दा, भैँसीमा खोर लाग्दा टाढा पुगेर औषधि गर्नुपर्ने झन्झट थियो । त्यसको समाधानका लागि वडाभित्र नै भेटनरी हुँदा सहज गराइएको छ ।

त्यस्तै, कुन ठाउँमा कुन बाली लगाउँदा उत्पादन बढी हुन्छ ? कुन क्षेत्रमा कुन तरकारी बढी फल्छ ? तरकारी खती, अन्नबाली उत्पादनदेखि मौरीपालनसम्मका योजनाहरु केन्द्र र प्रदेश सरकारलाई बुझाएका छौँ । यसैगरी, तरकारी, अन्न र फलफूलको भण्डारको पनि अत्यन्तै आवश्यकता भएकाले भण्डारणको माग पनि गरेका छौँ ।

तीनवटा कृषि नीति डिप्लोमा तहका लागि क्याम्पसहरु सञ्चालन गरेका छौँ । बाँकी तीनवटा प्राविधिक शिक्षाका लागि विद्यालयको सूची प्राप्त भएको छ ।  

यो नगरपालिकाको विकास बजेट १३ करोड १६ लाख मात्रै निकास भएकाले २५, ३० हजार जनसङ्ख्या भएको यस क्षेत्रमध्ये कतिपय वडालाई बाटोले छोएको पनि छैन । त्यसैले अति दुर्गम क्षेत्रमा निकासाका भएको न्यून बजेटको आधारमा काम गर्नुपर्ने अवस्था छ ।

सिंहदरबार गाउँ गाउँमा पुग्यो, निम्छरो वर्गले पनि सहजै सेवा पाउन थाले भनिएको छ, तर जनताले त्यसको महसुस गर्न पाएनन् भन्ने गुनासो सुनिन्छ नि ?

वास्तवमा, सङ्घीय सरकारले आफूलाई बचाउ गर्नका लागि जुन अधिकार स्थानीय तहमा दिनुपर्ने हो त्यो अधिकार दिएको छैन । प्रदेश र केन्द्र सरकारले आआफ्नै ढङ्गले योजना दिने चलन बढ्दै गएको छ । स्थानीय सरकारले नगर, बस्ती र गाउँस्तरमा योजनालाई छनोट गरी सिफारिस गर्ने नभई आफ्नै ढङ्गले नजिकका व्यक्ति, आफ्नै ठाउँहरु भन्ने, नगरपालिका र गाउँपालिकालाई थाहा नै नदिई योजनाहरु दिने प्रवृत्ति, माननीयहरुले आफैले सिफारिस गरेर विभिन्न समिति गठन गर्ने कार्य भएको छ । यस्तो कार्य वडाध्यक्ष, वडासदस्यले गर्नुपर्ने हो । यस्तो कार्यले गर्दा सङ्घीयताको मर्म र भावनाअनुरूप काम भएका छैनन् । यसरी नै सङ्घीयताको भावना अनुरूप काम भएनन् भने सङ्घीयता नै खारेज हुने अवस्था नआउला भन्न सकिन्न ।

प्रतिनिधिको हैसियतले तीनै केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यमा जानुपर्ने सल्लाह दिन चाहान्छु ।

युवा लक्षित र वृद्धवृद्धा लक्षित कार्यक्रम के के छन् ?

युवामैत्री कार्यक्रम अन्तर्गत ९ वटै वडामा बाल सञ्जाल गठन गरिएको छ । सञ्जालमार्फत कसरी कार्यक्रम बनाउने भनेर छलफल गरिरहेका छौँ । २ वर्षदेखि नै वृद्ध र बाल सञ्जाल गठन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ । महिला, युवा, बालबालिका र वृद्धहरुको आवश्यकता केके हुन्, त्यसमा आधारित भएर वडास्तरबाट नै योजना आउनुपर्छ र नगरसभाबाट त्यसको कार्यान्वयन हुनुपर्छ भनेर कार्यविधि निर्माण गरेका छौँ । यसैगरी, दलित र गैरदलितबाट सबैभन्दा ज्येष्ठ नागरिकलाई वार्षिक रूपमा सम्मान गर्दै आइरहेका छौँ ।

नगरवासी कस्ता समस्या लिएर आउँछन् ?

समस्याहरु थुप्रै हुँदाहुँदै पनि प्रमुख समस्या सुधारिएको चुलो भएन, पाइप भएन, शौचालय भएन जस्ता समस्याहरु लिएर आउँछन् ।

आफ्नो कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने सपना छ ?

नगरपालिकालाई नमुना बनाउन थुप्रै सपना देखेको छु । सपना हुँदाहुँदै पनि आर्थिक, भौतिक र सामाजिक कुरा मिले मात्रै हाम्रो सपना पूरा हुन सक्छन् । मेरो कार्यकालमा यो नगरपालिकालाई काठमाडौँमा जस्तै रिङरोड बनाउने सपना देखेको छु । त्यसका लािग डीपीआर तयार भइसकेको छ । पर्यटनको क्षेत्रमा समेत विभिन्न योजनाहरु बनाएको छु ।

तपाईंले मेयर/अध्यक्षपछिको राजनीतिक सपना कहाँसम्मको हो ?

राजनीतिक सपना जनतामा भर पर्ने कुरा हो । जनताले नगरप्रमुख भइसक्नुभयो अब राजनीतिलाई बिट मार्नुस् भनेको खण्डमा बिट मार्नुपर्ने हुन्छ । अझै माथि जानुस् भनेमा माथि जाने बाटोमा लाग्नेछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप