बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यसरी बन्दैछ बुटवलमा थारु संग्रहालय

आइतबार, १९ साउन २०७६, १९ : ५९
आइतबार, १९ साउन २०७६

बुटवल– बुटवलमा थारु बस्ती निकै कम छ । तर बुटवलमा आसपासका नगरपालिका थाको बस्ती सहज रुपमा भेट्टाउन सकिन्छ । बुटवल उपमहानगरपालिकाले थारु समुदायको संस्कृति झल्किने संग्रहालय बनाउने भएको छ  । देशका विभिन्न ठाउँमा थारु संस्कृति संरक्षणको लागि अभियान चलिरहेका बेला बुटवलमा संग्रहालय बनाउने तयारी भएको हो ।

उपमहानगरले मोतिपुरको सौरहीया नजिकैको नदी उकास जग्गामा रहेको करिब पाँच बिगाहा क्षेत्रफलमा गुरुयोजना बनाएर जग्गामा यस्तो संग्रहालय बनाउने तयारी गरिरहेको प्रमुख शिवराज सुवेदीले बताए ।

अहिले संग्रहालयका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम भइरहेको छ । थारू जातिको इतिहास तथा संस्कृति बचाउने र नयाँ पुस्ताका लागि थारु संस्कृतिको पहिचान जोगाइ राख्ने उद्देश्यले संग्रहालय निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख सुवेदीले बताए ।

संग्रहालयमा थारू संस्कृतिका अनेक रूपका चित्र, मूर्ति, नक्सा, पोसाक, गहना र परम्परागत सामग्रीहरु राखिने छ । रुपन्देहीको धेरै थारु समुदाय रहेको क्षेत्रका रुपमा मोतिपुरलाई पनि लिइन्छ ।

डीपीआर बनाइरहेको परामर्शदाता कम्पनी रिप्पल ट्रेनिङ एण्ड कन्सल्टेन्ट सर्भिसेस प्रालि काठमाडौंका प्राविधिक र बुटवल उपमहानगरपालिकाका प्राविधिकलाई लिएर मोतिपुरमा पुगेका प्रमुख, उपप्रमुखसहितको टोलीले समुदायको सुझाव संकलन गरेको छ ।

डीपीआरको पहिलो चरणको काम सकेर मस्यौंदासहित प्रस्तावित स्थलमै पुगेर समुदायको सुझाव संकलन गरिएको र महत्वपूर्ण सुझावहरुले संग्रहालयको डीपीआरलाई अन्तिम रुप दिन सहयोग पुग्ने प्रमुख सुवेदीले बताए । थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजाउने, थारू गाउँको झल्को दिने परम्परागत घरहरु बनाइने, कोठा र देउता राख्ने ठाउँ पनि तयार पारिने छ ।

थारू समुदायका पुराना गहना र कपडा पनि संकलन गरेर त्यहाँ राखिने उपप्रमुख गुमादेवी आचार्यले बताइन् । संग्रहालयमा बडघर, इनार, डिउहार, बगैंचा, माछा पोखरी, कृषिका परम्परागत उपकरण, सांस्कृतिक झल्को दिने प्रदर्शनी कक्षसमेत राख्नेगरी डिजाइन बनाउन प्राविधिकलाई सुझाव दिइएको उपप्रमुख आचार्यले बताईन् ।

प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा, सहरी पूर्वाधार विकास महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठ, इन्जिनियर रुक्माङ्गत अर्याल, परामर्शदाता कम्पनीका वास्तुविद् तथा शहरी योजनाकार मधुसुधन बराल र इन्जिनियर आयुष भण्डारीलगायतले संग्रहालयका बारेमा समुदायको सुझाव लिएका थिए । सुझावहरु समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिइने र संग्रहालयको लागत समेत अनुमान गरिने भएको छ ।

पुरानो र नयाँ पुस्ताबीच ठूलो अन्तर रहेकाले पुरानो लोकसंस्कृति पुस्तान्तरण हुन नसकेको अवस्थामा बुटवलले उदाहरणीय कामको थालनी गरेको थारू समुदायका अगुवाहरुले गोविन्द चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप