मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा उथलपुथल : दुई बैठकका रणनीतिक निर्णयहरु जसले गर्दैछ शक्ति सन्तुलनमै फेरबदल !

सोमबार, ०२ भदौ २०७६, ०९ : ३३
सोमबार, ०२ भदौ २०७६

काठमाडौँ । शुक्रबार र आइतबार बसेको नेकपाको सचिवालय बैठकले पार्टीका संगठनात्मक एकताका धेरै काम टुङ्गाएको छ । तर, विगतमा भन्दा यसपालीका नेकपाका निर्णयहरु निकै नै रणनीतिक देखिन्छन् । पछिल्ला निर्णयले नेकपाको शक्ति सन्तुलनमा फेरबदल नै ल्याइदिएको छ । एकतापछि लेनदेनमै विवाद र प्रतिस्पर्धा गरेका नेकपाका शीर्ष नेताहरुले शुक्रबारको सचिवालय बैठकबाट विभिन्न ३३ केन्द्रीय विभागका प्रमुख तोके । यसमा सहमति थियो । तर, शुक्रबारका केही प्रस्ताव चाहिँ आश्चर्यजनक देखिएका थिए ।

यसैगरी आइतबार बसेको सचिवालय बैठकले पनि केही महत्त्वपूर्ण निर्णय लियो, तर त्यसमा सर्वसम्मति भएन । वरियता विवादमा नेता माधवकुमार नेपालको फरक मत आयो  । किनभने नेकपा नेताहरुले बैठकमा पेश गरेका प्रस्ताव र निर्णय चाहिँ नेकपाको आन्तरिक जीवनका लागि धेरै नै रणनीतिक थिए । सम्भवतः शुक्रबार र शनिबारको निर्णयले नेकपाको शक्ति सन्तुलनसँगै दीर्धकालीन प्रभाव पार्ने निश्चित छ । शुक्रबारकै बैठकले पार्टीका दुई अध्यक्ष र महासचिवबाहेक सचिवालयका सबै नेताहरुको जिम्मेवारी तोकेको छ ।

र, निर्णय हुन नसकेको केही यस्ता प्रस्ताव बैठकमा पेश भएका छन्, जसले नेकपाभित्र ठूलै राजनीतिक फेरबदलको प्रष्टै सङ्केत गर्छ । यसबाहेक केही शीर्ष नेताहरुबीच अन्तरविरोध पनि बढाउन सक्छ ।


विधानविपरित गौतम उपाध्यक्ष

नेकपाको पाँचौ वरियतामा रहेका नेता वामदेव गौतमलाई शुक्रबारको सचिवालय बैठकले विधान विपरित पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव गर्यो । अब सचिवालयको प्रस्तावलाई स्थायी कमिटीले अनुमोदन गरेपछि नेता गौतम नेकपाको उपाध्यक्ष बन्ने छन् ।

तर, पार्टी विधानमा नै नभएको पद सिर्जजा हुनु र पछिल्लो समय त्यस्तो पदको भागबन्डाको प्रशङ्गनै नभएको बेलामा अचानक उपाध्यक्षमा नेता गौतमलाई किन भित्र्याइयो ? भन्ने प्रश्न उठेको छ । पार्टीमा शक्तिशाली मानिने संगठन विभाग प्रमुखको जिम्मेवारी, किसान महासंघ इन्चार्जको जिम्मेवारी पाएका नेता गौतम प्रति अध्यक्षद्वय र अन्य नेताहरु एकाएक किन लचिलो भए ?

यी प्रश्नसँगै पछिल्लो समय पार्टी अध्यक्ष केपी ओलीसँगको बढ्दो निकटा र मंसिरमा हुनगैरहेको कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई पनि जोडेर हेर्न थालिएको छ । यसले पनि नेकपाको आन्तरिक जीवनमा अर्थ र प्रभाव दुवै राख्ने देखिएको छ ।

माधव नेपाल घटुवामा

नेता गौतममाथि अध्यक्षद्वयको ‘कृपा’ बर्सिरहँदा तेस्रो वरियतामा रहेका नेता माधवकुमार नेपालको भने वरियता घटाइयो । शुक्रबारको सचिवालय बैठकमा प्रवेश पाएको यो विषयमा आइतबारको बैठकले निर्णय गरेको छ । तर, यो निर्णयमा नेता नेपालको फरक मत छ ।

पार्टी एकताको १५ महिना बित्दा साम्य भएको वरियताको विषय अचानक यो समयमा आउनु योजनाबद्ध थियो वा संयोग ? यो प्रश्न पनि नेकपा भित्रै उठेको छ । अर्थात् पार्टी एकीकरणले पूर्णता पाउनै लाग्दा अन्तिम समयमा आएर चौँथो वरियतामा रहेका झलनाथ खनाललाई अगाडि सार्दा विवाद हुन्छ भन्ने जान्दाजान्दै वरियताको निर्णय अहिले किन भयो ? भन्ने दोस्रो प्रश्न पनि छ । अर्कोतर्फ अध्यक्षद्वय (खासगरी प्रचण्ड) ओली र प्रचण्ड यसमा सहमत हुनुले नेता नेपाल समूहलाई कमजोर बनाउने कदम चालिएको महसुस नेपाल समुहले गरेको छ । नेता नेपालले सोचे विपरित अचानक आएको यस्तो प्रस्ताव र निर्णयपछि उनी असन्तुष्ट बनेका छन् ।

हुनत नेता खनालले एकीकृत पार्टीको तेस्रो वरियतामा आफू हुनुपर्ने माग राख्दै आएका थिए । पार्टी एकीकरण घोषणा हुँदा चीन भ्रमणमा रहेका नेता खनाललाई चौथो वरियतामा नेताहरुले राखेका थिए । चीनबाट फर्के लगत्तै उनले त्यतिबेला अध्यक्षद्वय र सचिवालयमा आफ्नो असन्तुष्टि राख्दै उक्त निर्णयलाई पुर्नविचार गर्न माग गरेका थिए । तर, नेता खनालको मागमा कोही नेता सकारात्मक देखिएनन् । अर्थात् खनालको कुरा न त अध्यक्षद्वयलेनै सुने न अन्य नेताहरुले । त्यसपछि खनाल र ओलीको सम्बन्ध पनि चिसिएको थियो । त्यसयता खनालले यो प्रशङ्ग भने बैठकमा उठाएका थिएनन् । वरियतामा आश मारिसकेको जस्तै अवस्थामा पुगेका नेता खनालको माग झण्डै १४ महिनापछि पुरा भएको छ । तर, एकाएक उनलाई तेस्रो वरियतामा ल्याउने प्रस्ताव पनि अध्यक्ष ओलीले नै गरेको नेकपाकै नेताहरुको दाबी छ । मतलब वरियतामा साम्य भैसकेको विषय पछिल्लो समयमा अचानक आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पोखरेलको बोली ‘सफ्ट’

विवादका कारण लामो समय टुङ्गिन नसकेको स्कुल विभागलाई लिएर विभिन्न टिकाटिप्पणी भए । यो विभागमा पूर्व एमाले समुहका नेता ईश्वर पोखरेलबाहेक पूर्व माओवादी समूहका नेता नारायणकाजी श्रेष्ठको दावी कायमै रहँदा अन्ततः शुक्रबारको सचिवालय बैठकले सर्वसम्मत रुपमा पोखरेललाई दिने निर्णय गर्यो ।

पूर्व एमालेले मान्दै आएको कार्यदिशा ‘जनताको बहुदलीय जनवाद’ नै नेकपाको आगामी कार्यदिशा हुनु पर्ने अभिव्यक्ति दिँदै आएका नेता पोखरेलले स्कुल विभागको जिम्मेवारी पाएसँगै उनको बोली सफ्ट भएको छ । शुक्रबार केही मिडियालाई प्रतिक्रिया दिँदा नेता पोखरेलले आफूले विभागीय जिम्मेवारी पाएपनि पार्टीको निर्णय अनुसार नै अगाडि बढ्ने बताएर केही आन्तरिक सहमति भएको संकेत गरेका छन् । पार्टी एकता विपरित र सहमति विपरित अभिव्यक्ति दिँदै आएका पोखरेल प्रति असन्तुष्ट बनेका पूर्व माओवादी समूहका नेताहरु कुनै पनि हालतमा स्कुल विभाग उनलाई दिन नहुने अडान राख्दै आएका थिए । यदि नेता श्रेष्ठको हकमा सहमति नभए स्कुल विभाग अध्यक्षद्वयकै मातहत राख्नुपर्ने अडान प्रचण्डले लिएका थिए ।

तर, शुक्रबारको सचिवालय बैठकको बस्नु पूर्व स्कुल विभागको प्रमुख पोखरेललाई दिन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहमत भए । आफ्नो अडानबाट एकाएक प्रचण्ड र श्रेष्ठपछाडि हट्नु पनि असामान्य परिघटना जस्तै देखिएको छ ।

एक कदम पछाडी हटे श्रेष्ठ

नेता पोखरेलले स्कुल विभागको जिम्मेवारी लिए लगत्तै उनको बोली सफ्ट हुनु र प्रवक्तासमेत रहेका नेता श्रेष्ठ शुक्रबारको बैठक अघिनै आफ्नो दावीबाट एक कदम पछाडि हटे । तिनै नेता श्रेष्ठ थिए जो स्कुल विभागको जिम्मेवारी नपाए कुनैपनि हालतमा प्रचार विभाग नलिने आफू निकट नेताहरुलाई बताउँदै आएका थिए । बरु सचिवालय सदस्यमात्रै भएर बस्ने अडान राखेका उनी एकाएक लचिलो भए । र, प्रचार विभागको प्रमुखमा सहमत भए । तर, नेता श्रेष्ठ आफ्नो अडानबाट पछाडि हट्नुको रहस्य अध्यक्ष ओली वा प्रचण्डले कुनै आश्वासन दिएको हुन सक्ने बुझाइ केही नेताहरुको छ ।

प्रचण्डलाई ओलीको ‘सर्प्राइज’ प्रस्ताव

सवैभन्दा महत्त्वपूर्ण अध्यक्ष ओलीले पहिलो पटक अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्ष हुन प्रस्ताव अगाडि सारेका छन् । यसलाई प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको स्वास्थ्यसँग पनि जोडेर हेरिएको छ । र, नेतृत्वको विषयमा र जिम्मेवारी वाँडफाँडको विषयमा लामो समयदेखि तनाव थियो ।

र, गौतमलाई चुनाव लड्न प्रस्ताव

यति मात्र होइन, नेकपा अध्यष ओलीले नेता गौतमलाई कास्की–२ बाट उपचुनाव लड्न प्रस्ताव गरेका छन्, यो पनि नेकपाभित्र रणनीतिक विषय हो । विगतमा पटकपटक उपचुनाव लड्न खोज्दा अवरोध गरेका ओलीले यसपटक आफै अगाडि सारेर गौतमलाई उपचुनाव लड्न प्रस्ताव गरेका छन् । कास्की–२ मा मंसिरमा उपचुनाव हुँदैछ । अब नेकपाले औपचारिक रुपमा यदि गौतम उपचुनाव लड्ने निर्णय गर्यो भने अनौठो हुने छैन । योसँगै गौतमको संसद प्रवेशको बाटोमात्र होइन, भावी प्रधानमन्त्रीको बाटो पनि खुला हुनेछ । त्यसैले गौतमको उपचुनाव लड्ने ओलीको प्रस्ताव पनि रणनीतिक नै देखिन्छ । यस्तोबेलामा अध्यक्ष ओलीले ल्याएको प्रस्ताव र भएका निर्णयहरु नेकपाभित्र धेरै अर्थपूर्ण मानिएको छ ।

यसरी हेर्दा शुक्रबार र आइतबारको बैठकका निर्णयहरु रणनीतिक छन् । तर, भावी दिनमा यसको दीर्घकालिन असर र गठजोड कस्तो देखिने हो त्यो भने विस्तारै खुल्दै जाला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप