मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको ऋणबाट आत्तिनु पर्दैन, यस्तो छ अन्य मुलुकको ऋणको अवस्था, कुन देश कति ऋणमा ?

मङ्गलबार, ०३ भदौ २०७६, १६ : १४
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं–नेपालीको थाप्लोमा ऋणको भार बढेको तथ्यांक प्रत्येक वर्ष सार्वजनिक हुन्छ । सरकारको ऋण बढेपछि नेपालीको ऋण स्वत्तः बढ्छ । हाल एक नेपालीको थाप्लोमा ३९ हजार ३ सय १६ रुपैयाँ ऋण पर्न आउँछ । देश अहिले १० खर्ब ४१ अर्ब रुपैयाँ ऋणमा छ । 

गत वर्ष (२०७५–०७६) नेपाललाई साढे १३ प्रतिशतले ऋण थपिएको छ । हाल कुल ग्राहस्र्थ उत्पादनको ३०.०६ प्रतिशत सरकारी ऋण रहेको महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा छ । तर विश्वको अभ्यास हेर्दा विकसित मुलुकमा १००–२५० प्रतिशतसम्म ऋण हुने गरेको छ । 

अर्थविदहरु ऋण हुनु भनेको असाध्यै खराब अवस्था नभएर विकासका लागि पनि ऋण आवश्यक रहेको औल्याउँछन् । देशमा अनुदान र ऋण गरेर वैदेशिक सहायता आउँछ । वैदेशिक ऋण राष्ट्रिय नीति र दाताहरुको आफ्नो नीतिमा भर पर्छ ।

अर्थविद् प्रा.डा चन्द्रमणि अधिकारी ऋण कस्तो क्षेत्रमा प्रयोग भएको छ त्यसमा भरपर्ने बताउँछन् । उनका अनुसार  नेपालको अहिलेको ऋणको  अवस्था डराउनुपर्ने खालको छैन । ऋण लिने वा नलिने भनेको अर्थतन्त्रको चरित्र, उपलब्ध साधन र स्रोत तथा कस्ता खालका संरचना निर्माण हुँदैछ भन्ने विषयमा निर्धारण हुन्छ । 

अधिकारी भन्छन्, ‘संघीयताले विकास मागेको छ साथसाथै व्यवस्थापन पनि । ऋण विकासमा खर्च नगरेर व्यवस्थापनमा खर्च गर्न थालियो भने समस्या निम्त्याउँछ । वैदेशिक ऋणको खर्च सिमाभित्र रहेर गर्नुपर्छ ।’ 
अर्थविद केशव आचार्य ऋण चलाउन नजान्नेहरुहका लागि खराब हुने तर्क गर्छन् । नेपालमा स्रोत साधन सीमित छन् । राजस्व भन्दा बढी स्रोत साधन परिचालन गर्नुपर्ने अवस्था हुन्छ । यसका लागि ऋण आवश्यक हुन्छ । 

नेपालको अहिलेको ऋणको अवस्था आत्तिहाल्नुपर्ने नभएको आचार्य बताउँछन् । उनका अनुसार विभिन्न अर्थविद् र विश्व बैंकका अनुसार जीडीपीको ५० प्रतिशतसम्म ऋण हुँदा डराउनुपर्ने अवस्था हुँदैन । सो भन्दा बढी हुन थाल्यो भने चाहिँ होसियारी अपनाउनु पर्छ । 

उनी भन्छन्, ‘ऋणबाट कर्मचारीको तलब, पेन्सन, सरकारी गाडी, सरकारी भवन लगायत बनाउन थालियो भने यस्ता खालको ऋणले डुबाउन सक्छ । विमानस्थल निर्माण, सडक निर्माण, कनेक्टिभीटिको विस्तार, पूर्वाधार विकास आदिमा ऋणको रकम लगाउँदा त्यसले प्रतिव्यक्ति आय बढाउँछ । उत्पादन बढाउन र रोजगारी सृजना गर्न मदत पुग्छ ।’

आचार्य भन्छन्, ‘जापानमा जिडिपिको १०० प्रतिशत भन्दा बढी ऋण छ । अमेरिकामा पनि झण्डै सय प्रतिशतकै हारहारीमा ऋणमा छ । तर उनीहरुका ठुला—ठुला उत्पादन कम्पनी छन् । जस्तै जापानामा टोयोटा र सोनीजस्ता चर्चित कम्पनी छन् । त्यो ऋण उनीहरुको अर्थतन्त्रले खेप्न सक्छ ।’

सबैभन्दा बढी ऋण भएका १० देश
वर्ल्ड पपुलेशन रिभ्युका अनुसार जापान सबैभन्दा बढी राष्ट्रिय ऋण भएको देश हो । यहाँ जीडीपीको २३५.९ प्रतिशत ऋण छ । यद्यपि जापान विशवको ठूलो अर्थतन्त्र भएको देशमा पर्छ । ग्रिस १९१.२७ प्रतिशत ऋणमा छ ।

 भेनेजुयला १६१.९९ प्रतिशत ऋण छ । विश्वको मुख्य आर्थिक शक्तिको रुपमा रहेको अमेरिकाको पनि सय प्रतिशतभन्दा बढी ऋण छ । यस्तो विश्वको दोस्रो ठुलो शक्तिशाली अर्थतन्त्र भएको चीन जहाँ विश्वकै सबैभन्दा बढी जनसंख्या छ । यहाँको ऋण जीडीपीको ५१.२१ प्रतिशत छ । 

हङकङ एक प्रमुख वैश्विक वित्तीय केन्द्र हो तर यहाँको राष्ट्रिय ऋण एकदमै कम छ । यसको जीडीपीको ०.०५ प्रतिशत मात्र ऋण छ । यस्तै ब्रुोइको २.४९ प्रतिशत मात्र राष्ट्रिय ऋण छ । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप