शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतका पूर्व–गृहमन्त्री चिदम्बरम पक्राउ : अमित शाहको बदला ?

उनकै कार्यकालमा पक्राउ परेका थिए वर्तमान गृहमन्त्री शाह
बिहीबार, ०५ भदौ २०७६, १० : ४५
बिहीबार, ०५ भदौ २०७६

एजेन्सी । भारतका पूर्व गृहमन्त्री पी. चिदम्बरमलाई त्यहाँको केन्द्रीय अनुसन्धान व्युरो सीबीआईले गिरफ्तार गरेको छ ।

सीबीआईले चिदम्बरमलाई उनको घरबाटै हिरासतमा लिएको थियो । चिदमम्बरमलाई पक्राउ गरेपछि सीबीआई मुख्यालय लगिएको थियो । त्यसपछि सीबीआईले चिदम्बरमलाई आधिकारिक हिसाबमा गिरफ्तार गर्यो ।

चिदम्बरमलाई बिहीबार सीबीआईलाई विशेष अदालतमा पेश गरिनेछ । चिदम्बरममाथि भ्रष्टाचारको आरोप छ जुन उनले अस्वीकार गर्दै आएका छन् ।

दिल्ली उच्च अदालतले उनलाई पक्राउबाट संरक्षण गर्ने निर्णय गर्न अस्वीकार गरेपछि पी चितम्बरमको गिरफ्तारीको सम्भावना बढेको थियो ।

यस दौरान उनी सर्वोच्च अदालतको शरण पनि गएका थिए । उनको मुद्दामा शुक्रबार सुनुवाई हुनेछ ।

लुक आउट नोटिस र पक्राउ अघिको ‘ड्रामा’

बुधबार साँझ करिब सवा आठ बजे पत्रकार सम्मेलन गरेर चिदम्बरमले आफूमाथि लागेको सबै आरोपको खण्डन गरेका थिए । उनले आफू नभागेको बरु आफ्नो हितको लागि कानुनको शरणमा गएको बताएका थिए ।

चिदम्बरम घर पुगेको केही मिनेटपछि नै सीबीआईको टिम उनको घर पुगेको थियो । तर सीबीआई पुगेपछि पनि चिदम्बरमको घरको गेट खोलिएन ।

त्यसपछि सीबीआईको टिमका सदस्यले पर्खाल नाघेर भित्र प्रवेश गरेका थिए । सुरक्षाको लागि दिल्ली प्रहरी पनि चिदम्बरमको घर बोलाइएको थियो ।

सीबीआई चिदमबरमको घर पुगेको खबर आएपछि समर्थकहरु उनको घरबाहिर जम्मा भएर उनको पक्ष र सरकारको विरुद्ध नारा लगाएका थिए ।

सीबीआई मङ्गलबार साँझ पनि चिदम्बरमको घर पुगेको थियो । उनी त्यहाँ नभएपछि सीबीआईले उनी विरुद्ध लुकआउट नोटिस जारी गरेको थियो । सीबीआईले पक्राउ गर्ने समयमा नभेटेकाले उनी भागेको आशंका गरिएको थियो ।

अमित शाहको बदला ?

कंग्रेसले चिदमबरमविरुद्ध सीबीआईको कदमलाई राजनीतिक पूर्वाग्रहपूर्णको आरोप लगाएको छ ।

चिदमबरम १० वर्षे कंग्रेस नेतृत्वको यूपीए सरकारका सबैभन्दा शक्तिशाली मन्त्रीमध्ये एक थिए । उनले त्यस सरकारमा गृह मन्त्रालय, अर्थ मन्त्रालयजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए ।

चिदम्बरम केन्द्रीय गृहमन्त्री हुँदा गुजरात प्रदेशको मुख्यमन्त्री नरेन्द्र मोदीको सरकारका एक मन्त्री थिए वर्तमान भारतीय केन्द्रीय गृहमन्त्री अमित शाह ।

त्यो समय उनीमाथि सीबीआईले लामो अनुसन्धान चलाएको थियो । शोहरबुद्दिन शेखको इन्काउन्टर मुद्दामा उनी माथि अनुसन्धान भएको थियो । विभिन्न आपराधिक मुद्दा भएका शेखलाई पक्राउ गरेपछि अमित शाहको सिधा आदेशमा मारिएको आरोपपछि अनुसन्धान सुरु गरिएको थियो ।

सर्वोच्चमा परेको मुद्दाको थप अनुसन्धानको जिम्मेवारी अदालतले सन् २०१० जनवरीमा सीबीआई दिएको थियो ।

त्यसको ६ महिनापछि सन् २०१० जुलाईमा मुद्दासम्बन्धमा सीबीआईले शाहलाई पक्राउ गर्यो । उनलाई हत्या, जबरजस्ती र अपहरणको आरोप लगाइएको थियो ।

शाहले लगतै जमानतको लागि गुजरात उच्च अदालतमा मुद्दा हाले । सीबीआईले त्यस कदमलाई शाहको मुद्दा प्रभावित पार्ने प्रयास भन्दै भन्दै विरोध गरेको थियो । 

तीन महिनापछि सन् २०१० अक्टोबरमा अमित शाहले जमानत त पाए तर त्यसको भोलिपल्ट सीबीआईले न्यायाधिश अफ्ताफ आलम कहाँ पुगेर अमित शाहलाई प्रदेश निकालाको निर्णय गरायो । त्यो दिन साप्ताहिक बिदा परेका अदालत बिदा थियो । अमित शाहलाई सन् २०१० देखि २०१२ बीच दुई वर्ष गुजरात प्रवेशमै बन्देज लगाइएको थियो ।

अहिले चिदमबरम पक्राउ पर्दा कंग्रेसले भाजपालाई लगाएको आरोपजस्तै तत्कालिन समयमा, अमित शाहले कंग्रेसबाट आफूमाथि राजनीतिक पूर्वाग्रहका साथ कारबाही गरिएको बताएको थियो ।

सन् २०१४ मा अमित शाहले सबै आरोपमा सफाई पाए । त्यो समय नरेन्द्र मोदीको सरकार थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप