बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सवारी खरिदमा बैंकहरुबीच सस्तो कर्जा उपलब्ध गराउने प्रतिस्पर्धा, यस्ता छन् अफर

मङ्गलबार, १० भदौ २०७६, १३ : ०५
मङ्गलबार, १० भदौ २०७६

काठमाडौं– मंगलबार (भाद्र १०) देखि नाडा अटो शो शुरु भएको छ । ६ दिन (भाद्र १५) सम्म चल्ने अटो शो र दशैँ तिहारलाई लक्षित गर्दै बैंकहरुले सहुलियत दरमा सवारी कर्जा उपलब्ध गराउने घोषणा  गरिरहेका छन् ।

बैंकहरुले सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने प्रतिस्पर्धा शुरु गरेका छन् । भृकुटीमण्डपमा आयोजित मेलामा विभिन्न बैंकहरुले स्टल राखेर सवारी कर्जामा आफूले दिने सेवाका बारेमा बुझाइरहेका छन् । ६५ हजार भन्दा बढीले अवलोकन गर्ने आश राखिएको यस मेलामा बुकिङ गर्नेले भारी छुट पाउनेछन् । 

बैंकहरुले एक दिनमै सवारी कर्जा स्वीकृत गर्नेदेखि अग्रिम कर्जा भुक्तानी गरे अतिरिक्त कुनै पनि शुल्क नलाग्ने सम्मका अफर सार्वजनिक गरेका छन् । 

बैंकहरुको ध्यान विद्युतीय सवारीमा छ । नबिल एभरेष्ट, लक्ष्मी, स्ट्याण्डर्ड चार्टड बैंकले विद्युतीय गाडीको ब्याजदर नै घटाएका छन् । विद्युतीय गाडीमा २० प्रतिशत डाउनपेमेन्ट गरे हुने प्रावधान राष्ट्र बैंकको छ । यही प्रावधान अनुरुपनै बैंकहरुले ८० प्रतिशतसम्म नै फाइनान्सिङ सुविधा दिने जनाएका छन् ।

एभरेष्ट बैंकले ९.६६ प्रतिशत ब्याजदरमा सात बर्षे अवधिको लागि गाडी कर्जा योजना अघि सारेको छ । नाडा अटो शोसहित दशैँ तिहारलाई लक्षित गर्दै  अधिकांश बैंकहरुले  बेसरेट मै ऋण प्रवाह गर्ने जनाएका छन् । 
यता एनएमबी बैंकको फोकस पनि विद्युतीय सवारीमा छ । ८० प्रतिशत फाइनान्सिङ सुविधा भएको इ—भेइकलका लागि ९.९९ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । यो कर्जा एक दिनमै स्वीकृत हुनेछ । कर्जा भुक्तानी गर्ने अवधि भन्दा अगाडी नै सबै भुक्तान गरेमा कुनै शुल्क लाग्ने छैन । 

यता सिभिल बैंकले पनि ५० देखि ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने छ । यसले बेस रेटमै कर्जा उपलब्ध गराउने जनाएको छ । सिभिलको हालको बेस रेट ११.११ प्रतिशत छ । यता नाडालाई नै फोकस गरेर ग्लोबल आइएमइ  बैंकले सात वर्षे अवधिमा भुक्तान हुनेगरी ९.९ प्रतिशत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने छ । 

एनआइसी एसिया, सानिमा बैंक लगायतले पनि सवारी कर्जामा विशेष छुट दिने जनाएका छन् । 

माछापुर्छे बैंकको पनि मेला लक्षित गाडी कर्जाको ब्याजदर  तोकेको छ । बैंकले १०.९९ प्रतिशतमा गाडी कर्जा उपलब्ध गराउनेछ ।  सेञ्चुरीले १२.५० प्रतिशत सम्ममा गाडी कर्जा प्रवाह गर्नेछ । लक्ष्मी बैंकले आधारदरमा १ प्रतिशतसम्म थप गरेर कर्जा प्रवाह गर्नेछ । 

सवारी कर्जामा ५० देखि ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा छ । ८० प्रतिशतसम्म चाशि विद्युतीय सवारीको फाइनान्सिङ सुविधा हो । 

सरकारलाई सबैभन्दा बढी राजस्व तिर्ने अटोममोवाइल क्षेत्रमा सरकारले वर्षेनी करको भार थप गर्दै लैजाने गरेको छ । यसले सवारी साधनको आयात घट्दो छ । सवारी साधनको आयात घट्दा त्यसको प्रत्यक्ष प्रभाव राजस्वमा पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप